बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरी रहे मात्र जीवन रहन्छ !

पोखरी रहे मात्र जीवन रहन्छ !


  • बैरागी काइँला
  • जेष्ठ २३ २०८१, बुधबार

जल भएर मात्रै पुग्छ र? जलचर विनाको पोखरी के पोखरी! त्यसैले येवाहरूले आकाशे माछा खोजेर ल्याए र पोखरीमा हाले।

तीर्थयात्रीहरू त्यही सोझो तर खतरनाक बाटो खेद्दै उकालो लागे। र अन्त्यमा अवस्थल, सिद्धिस्थल आइपुगे।

यो यात्राका अगुवा येवाले यात्री र पुर्खाबीच मिलन गराए। यात्रीहरूको आत्मसम्मान बढ्यो। मुहार उज्यालो र पानी जस्तै छचल्किने भयो। उनीहरूको शिर उठ्यो।

त्यसपछि नाचगान भयो।

त्यहाँ येवाहरूले पोखरीको पानी घट्यो वा पूरै सुक्यो कि भनी हेरे। साँच्चै, पानी घटेको रहेछ। त्यसपछि उनीहरू आफ्नो मन्त्रशक्तिबाट अरूले थाहा नपाउने गरी पोखरी भर्नतिर लागे।

येवाहरूले उत्तर दिशाको भोट-चीनको सागरबाट पानी चोरेर ल्याए। त्यतिले पोखरी भरिएन। दक्षिणतिरको मैदानको सागरबाट पनि मह काढे झैं परिश्रम गरेर पानी ल्याए।

अँ हँ, पोखरी भरिएन।

पर पूर्व दिशाको सागरबाट बाटोमा एक थोपा पनि नखसाईकन ल्याएर हाले।

अँ हँ, पोखरी भरिएन।

उनीहरू सरासर पश्चिम दिशाको सागर पुगेर पानी ल्याए।

अँ हँ, पोखरी भरिएन।

अब अरुण-वरुण नदीबाट चोरेर भए पनि पानी ल्याउने सल्लाह गरे। ल्याए पनि।

तर अँ हँ, पोखरी भरिंदै भरिएन।

येवाहरूले मन्त्रका बलमा निरन्तर पानी ल्याइरहे। याक्खाहरूको सुजम नदी पनि पुगे। तैपनि पोखरी भरिएन। हरियो बगी आउने, लिम्बुवान प्रदेशको इम्बिरी वारःक (तमर नदी) बाट पनि ल्याए। तर पोखरीले भरिने छाँटै ल्याएन।

उनीहरू कहाँ कहाँ पुगेनन्? इँवा, काबेली, मेवा, सेहाम्बो, हेंगा, फेमे, सिवा, निभु र नावा खोला पुगेनन् कि? ती सबै ठाउँको पानी ल्याउँदा पनि पोखरी छचल्किने गरी भरिएन। निम्ठो भएन।

मुखले वर्णन गर्न नसकिने अनि आँखाले हेरेर भ्याउन नसकिने सागरको पानीले समेत नभ्याएपछि उनीहरूले सिद्ध पोखरीको पानी ल्याए। रूख र ढुंगाका टोड्कामा जमेको आदिम जल हाले।

पोखरी बल्ल भरियो! टम्म भयो !

जल भएर मात्रै पुग्छ र? जलचर विनाको पोखरी के पोखरी! त्यसैले येवाहरूले आकाशे माछा खोजेर ल्याए र पोखरीमा हाले।

पोखरी भरियो, पोखरीमा जलचर भए। पोखरी सृष्टिको सौन्दर्यले पूर्ण भयो।

तर कुर (माछाको गुँड) भएन भने माछा कसरी बाँच्छ? त्यसैले उनीहरूले कुर पनि बनाइदिए। माछाले खाने लेउ पनि पोखरीमा हालिदिए।

त्यसपछि उनीहरूले मुअकलुङ अकवाना देवी, अकवाना देव र खेसेवानामा जलदेवीलाई पानी रुँगिदिन बिन्ती गरे- हे जलदेवी, हे जलदेव! पोखरीका डिल भत्किन नदेऊ है। गँड्यौला र गँगटाले पोखरी उधिन्लान्, खोतल्लान्, त्यसो गर्न नदेऊ है। पोखरीको पानी नसुकोस् है। पोखरी नभत्कियोस् है। माछाको रुँगालो बनिदेऊ है। आकाश रहेसम्म, पृथ्वी रहेसम्म यी काम गरिदेऊ है !

(काइँलाद्वारा लिखित ‘तङसिङ तक्मा मुन्धुम’ मा आधारित)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->