बागलुङको जटिल भूगोल समावेश गरेर बनेको तमानखोला गाउँपालिका विकासमा अगाडि बढ्दै छ । पालिका आएपछि गाउँमै धेरै विकासका योजना भित्रिए । विकासलाई आफ्नो सम्झेका तमानखोलाबासीलाई खुसी बनाउने र समृद्व तमानको योजना सफल बनाउन कस्ता काम भएका छन् त ? गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यसंग ढोरपाटनकर्मीले गरेको कुराकानीको सम्पादित अंश ः
तमानखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दा वार्षिक प्रगतीको अवस्था के छ ?
तमानखोला जटिल भूगोलमा बसेर सदरमुकाम लगायतका पालिका जस्तै काम गरेर देखाउनुपर्ने स्थान हो । तरपनि हामीले सबै योजनालाई समयमा सक्ने, समयमा भुक्तानी दिने र जनताको चाहना अनुसारका काम गर्ने प्रयासमा छौं । यतिबेला तमानखोलाको समग्र योजना तथा कार्यक्रमको ५५ प्रतिशत प्रगती भैसकेको छ भने धेरै योजनहरु काम सकिएर फरफारकको अवस्थामा छन् । त्यसैले असारको २० गतेभित्र सबै योजना सक्ने लक्ष्यमा छौं । तरपनि केही छिटफुट छुट्ने संभावना भएपनि ९० प्रतिशत बढी प्रगती गर्ने अवस्थामा छौं ।
बिषेष गरी भौतिक पूर्वाधारका काम सक्ने मात्र नभई पछि थपिएका कतिपय योजना पनि पुरा गर्न ढीला भएको हो । पोषणमैत्री योजनाहरु पुरा गर्ने तयारीमा छौं । त्यस्तै बुंगादोभानदेखि ढोरपाटन जाने सडक, कृषि संकलन केन्द्र जस्ता ठूला पूर्वाधार पनि सकिएका छन् । केही प्राविधिक समस्या भएका योजनामा पनि समस्या फुकाएर काम सकिने चरणमा पुगेका छन् ।
योजनाबद्ध विकास गर्न तमानमा संभव छ ?
काम गर्ने सोच, पद्दती र सोही अनुसारको योजना र कार्यक्रम तथा त्यसका लागि बजेट भएमा योजनाबद्ध काम गर्न संभव छ । तर हाम्रो देशको अवस्था हेर्दा योजना हुँदा बजेट नहुने, बजेट हुँदा कर्मचारी नहुने र कहिले वातावरण नबन्ने गरी विभिन्न तारतम्य नहुँदा समस्या आइरहेका छन् । तरपनि हामीले काम त गरेकै छौं ।
वन क्षेत्र धेरै भएकोले पूर्वाधार विकासमा धेरै बाधा आउने गरेका छन् । कतिपय स्थानमा समन्वय गरेका छौं । उपभोक्ताहरुलाई पनि आवस्यक शिक्षा दिएर कामलाई चुस्त बनाउने प्रयास गरेका छौं । तमानभित्र कालोपत्रे सडक छैन । अन्य सडक पनि जोखिमको हुँदा सबै स्थानमा समान र योजनाबद्ध विकास दिन सकिएको छैन । तर जुन गतिमा काम अगाडि बढेको छ । भोलीका दिनमा योजनाबद्ध विकासको अवस्था देख्न सकिन्छ ।
स्थानीय सरकार कसरी आत्मनिर्भर बन्छ ? तपाइले के गर्दै हुनुहुन्छ ?
हामीले उत्पादनमा जोड दिएका छौं । यो क्षेत्रको उत्पादन भनेको कृषि र पशुपालन हो । भेडाबाख्रा उत्पादनमा जोड दिने आलु लगायतका उत्पादनमा प्रोत्साहन र अनुदान दिने लक्ष गाउँपालिकाको छ । उत्पादनमा आधारित अनुदानले किसानलाई काम गर्ने हौसला पनि थपिन्छ । किसानको उत्पादन भण्डारन गर्न प्रदेश सरकारको समन्वयमा भण्डारन गृह बनाएका छौं । त्यो संचालनमा आउँदा किसानको धेरै उत्पादनले बजार पाउने गरी भण्डारन गर्ने अवस्था हुनेछ । अन्य कृषिबाली उत्पादन खासै छैन । तर माटो सुहाउने गरी गरिने कृषि फसल उत्पादनमा भने जोड दिन्छौं ।
प्रमुख प्रशासकीय अधिकृतको नाताले बेरुजु हटाउने योजना के छ ?
बेरुजु जिल्लाको सबै पालिकामा देखिएपनि तमानखोलाको बेरुजु जटिल प्रकारको छैन । बिशेषगरी असुल गर्नुपर्ने बेरुजु, दाखिला गर्नुपर्ने बेरुजु, कागजातमा त्रुटी भएको र प्रमाण नपुग्ने अवस्थाको बेरुजु भएपनि तमानमा धेरैजसो कागजात नपुगेका बेरुजु छन् । आवस्यक समनवय गरेपछि पुरा हुनेछ । चालुवर्ष पनि ३ करोड बेरुजुको सम्परीक्षण गरेका छौं । घटाउने प्रयास भैरहेको छ । हामीले धेरै सफलता पाइसकेका छौं । केही छिटफुट योजनाको काम बाहेक अरु सकिने अवस्थामा छ ।
पालिका भित्रको सुशासनलाई कसरी कायम राख्नुभएको छ ?
पालिकाभित्र पारदर्शिता, सेवा प्रवाहलाई चुस्तता दिने काममा हामी सक्रिय छौं । हरेक योजनाहरुको आफ्नै सार्वजनिक सुनुवाई गर्ने, पालिका स्तरमा पनि सुनुवाई गरेर सबै खर्चको फेहरिस्त निकाल्ने गरेका छौं । जसका कारण केही त्रुटी भएपनि सच्याउने अवसर हुनेछ । असारमा पनि हामीले अन्तिम सार्वजनिक सुनुवाई गरेर सुशासनको नमूना प्रर्दशन गर्नेछौं । पालिकाभित्र केही दरबन्दी अभाव समेत छ । पहिला पुगेको थियो, तर क्रमश कर्मचारी सरुवा भएर जाने गर्दा खाली भएकोले केही कामहरु पुरा हुन नसकेका पनि छन् । ती सबै कामलाई पुरा गरेर पारदर्शी बनाएर सबै योजना फरफारक गर्ने लक्ष छ । जसको कारण तेस्रो पक्षले कुनै प्रश्न उठाउने अवस्था नआओस् ।





