बागलुङको मध्यभागमा अबस्थित गलकोट नगरपालिका पुरानो गलकोटको बिरासत बोकेको स्थान हो । गलकोट नगरपालिका गठन हुनु अघिसम्म यो जिल्लाको तीनवटा निर्वाचन क्षेत्रमा विभाजित थियो । क्षेत्रगत रुपमा विभाजित भएकोले गलकोटेले साझा काम गर्न सकेका थिएनन् । सबै मिलेर गरेको काम पनि तीन भागमा विभाजित हुँदा परिणाम राम्रो देखिने थिएन । अहिले भने यो क्रम रोकिएको छ । एउटै नगर बनाएर गलकोटबासीले समृद्द नगरको खाका कोरेका छन् । समृद्द गलकोटको अभियानबारे नगर उपप्रमुख फमलाल निउरेसँग गरिएको कुराकानीको सम्पादित अंश ।
गलकोट नगरपालिकामा न्यायिक समितिको काम कसरी अगाडि बढेको छ ?
स्थानीय तहमा कानूनी क्षेत्र हेर्न न्यायिक समिति गठन भएको हो । अन्याय र अन्याचारविरुद्ध गाउँमै न्याय पाउनुपर्छ भन्ने मान्यता अनुसार बनेको समितिले काम गरिरहेको छ । समयमा न्याय प्राप्त होस् भन्ने नागरिकका लागि न्यायिक समिति बढी उपयोगी छ । त्यो भन्दा बढी हामीले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेर संविधानले तोकेका अधिकारक्षेत्र अनुसार मेलमिलापमा जान सक्ने अधिकांस विवादलाई समाधान गर्ने प्रयास गरिरहेका छौं । कानूनी प्रकृयामा जानैपर्नेलाई न्यायिक समिति मार्फत निरुपण गरेपछि केही मुद्दाहरु अदालत पनि पुगेका छन् । सयौं विवाद मेलमिलाप केन्द्रबाट निरुपण भएका छन् भने चालुवर्ष ७ वटा मुद्दामा समितिले फैसला नै गरेको छ ।
अझै कानूनी ज्ञानको अभावले कतिपय मुद्दाहरु समाधान गर्न सकेका छैनौं । सम्बन्ध बिच्छेद लगायतका केश पनि न्यायिक समितिमा नआएका होइनन् । तर हामीले उनीहरुलाई सकेसम्म मिलाएर पठाएका छौं । नमिल्ने हकमा अदालत पठाएका छौं ।
सबै विवादहरु न्यायिक समितिमा मात्र आएनन्, प्रहरीमा पनि गएको देखिन्छ नी ?
अझैपनि केही मुद्दाहरु प्रहरीमा गएको हामीलेपनि देखेका छौं । कतिपयलाई अझै स्थानयि सरकारको विश्वास छैन । कतिपय जानेबुझेकाहरुले नै अदालत र प्रहरीमा जान पनि सुझाएका छन् । त्यो बुझ्ने गरी घरघरमा सल्लाह दिन सकिएको छैन । तर जानेबुझेसम्म जनतालाई सास्ती नहोस् भनेर काम भने गरेका छौं । प्रहरीमा गएर समस्या समाधान हुने होइन । तर कारवाही गर्छु, अर्को पक्षलाई दुःख दिन्छु भन्ने सोच राखेकाहरुलाई हामीले मिलाएर पाठाउने र जित जितको अवस्था सिर्जना गरिरहेका छौं । अझैपनि अधिकांस विवाद मेलमिलाप हुन्छ भन्ने बुझाउन भने समय लाग्ने देखिएको छ ।
गलकोटमा योजना निर्माण र काम सम्पन्नताको अवस्था कस्तो छ ?
गलकोटमा सयौं पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका योजना छन् । छिटफुट पर्यटन प्रवद्र्धन, खानेपानी, सिंचाइ लगायतका योजना पनि संचालनमा छन् । ती सबै योजना उपप्रमुख नेतृत्वको अनुगमन समितिले हेर्न भ्याउँदैन । वडा तहका साना योजना वडा अध्यक्ष र जनप्रतिनिधिहरु नै जिम्मेवार बन्ने र ठूला योजना हेर्ने गरी कामको बाँडफाँड गरेका छौं । भ्याएसम्म सबैतिर जाने तर वडा अध्यक्षले गरेर ल्याएको अनुगमन प्रतिवेदन पनि विश्वसनीय छ भन्ने मान्यता हामी राख्छौं । वडा सदस्यहरुले त झनै मसिनो गरी हेर्न भ्याएका हुन्छन्, उनीहरुको प्रतिवेदनमा पनि हामी विश्वस्त छौं ।
योजना निर्माण, अनुगमन र फरफारक गर्न के चुनौती छन् ?
चुनौतीको कुरा गर्दा हामीले धेरै क्षेत्रमा जानै पर्दैन । हरेक योजनामा उपभोक्ताले १५ प्रतिशत लागत साझेदारी गर्नुपर्ने कानूनी प्रावधान छ । त्यतिबेला लागत साझेदारीको रुपमा श्रमदान गर्ने चलन हरायो । त्यसपछि उपभोक्ता समितिले कुल रकमको १५ प्रतिशत लगानी गरेर योजना सम्पन्न गरेका छन् । जसको कारण अर्को वर्षदेखि उपभोक्ता समितिमा बस्ने मानिस पाइन छाडेको छ ।
नीतिगत रुपमा लगानी नगरी योजना सम्पन्न नहुने, लागत साझेदारी स्वरुप पैसा हाल्दा उपभोक्ता हैरान छन् । आजकल कतिपय योजनामा उपभोक्ता बस्ने अवस्था नै नभएको हो । लागत स्टिमेटमा यो बिषय अब फेरिनुपर्ने छ । त्यसतर्फ राज्यकै ध्यानाकर्षण आवस्यक छ ।
उता महत्वपूर्ण योजनाहरु प्रदेशका छन् । ती योजना हामीले अनुगमन गरेपनि, नगरेपनि, सुझाव दिएपनि नदिएपनि केही हुनेवाला छैनन् । २०७५ सालमा बनाउन थालिएको हटिया, हरिचौरहुँदै ताराखोलाको सडक अझै बनिसकेको छैन । पूर्वाधार कार्यालयले आएर हेरेर फर्कन्छ तर काम भएन । १० किमी सडक पनि ७ वर्षसम्म नबन्ने हो भने हामीले कस्तो विकासको आस गर्ने ?
तपाइहरुको आफ्नै नगरपालिका भवन पनि त अलपत्र छ ? किन ताकेता गरेर बनाउन सक्नुभएन ?
हाम्रा महत्वपूर्ण काममा ठेकेदारको लापरबाही देखियो । हरेक योजना अलपत्र छाडेर हिंड्दा जनप्रतिनिधिले जवाफ दिनुपर्ने र ठेकेदारहरु मन्त्रीको साथी बन्ने प्रवृत्तिले काम नभएको हो । गलकोटको प्रशासकीय भवनका लागि पनि धेरै ताकेता भए । तर दुइचार जना मजदुर राखेर काम गर्दा ढीला भयो । आगामी पुस मसान्तभित्र सकिनुपर्ने भवन अझै नबनेको हो । त्यसका लािग हामीले धेरै प्रयास गरेका छौं, गर्दिन पनि भन्दैनन्, तर गरेर पनि देखाएका छैनन् । हामीले भुक्तानी पनि सबै दिएका छैनौं । काम गर्ने इच्छा भएनभएको उनीहरुको गतिविधिले देखाइरहेको छ ।
आगामी नीति र कार्यक्रम तथा बजेट कस्तो ल्याएर नगर समृद्द बनाउने लक्ष छ ?
हामीले गलकोटको सफलताका लािग शिक्षा, स्वास्थ्य र पूर्वाधारनै महत्वपूर्ण मानेका छौं । त्यस बाहेक कृषि उत्पादन हाम्रो जिविकोपार्जनको आधार हो । त्यसबारे प्रष्ट विचारबाट प्रेरित भएर मात्रै हामीले योजना र बजेट निर्माण गर्ने हो । सडकका ट्रयाक खुलेका छन्, अब स्तरान्नती गर्ने हाम्रो योजना हो । त्यसका लागि भने पालिकाको बजेटले पुग्दैन । केन्द्र र प्रदेशमा अनुरोध गर्ने बाहेक अर्को बिकल्प छैन ।





