बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हामी जनताले चाहेको सुशासन र विकासमा केन्द्रित छौं

हामी जनताले चाहेको सुशासन र विकासमा केन्द्रित छौं

हामीलाई थाहा छ आत्मनिर्भर नभएसम्म चाहेकोजस्तो विकास गर्न सक्दैनौं । जनशक्ति व्यवस्थापनमा अझै पनि जनशक्ति थप भए काम गर्न सकिन्थ्यो भन्नेमा छौं ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

साविकका नौ वटा गाउँ विकास समिति एकै ठाउँमा बनाउँदा तयार भएको नगरपालिका हो जैमिनी नगरपालिका । अधिकांश ग्रामिण बस्ती, आधारभुत तहको सडक सञ्जाल सबै वडामा नपुगेको अवस्थामा यो नगरपालिका घोषणा भएको थियो । पालिकामा एक किमीसम्म सडक कालोपत्रे थिएन् । खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रका कयौं चुनौतीहरु सडक पूर्वाधारसँग जोडिएर जगडिएको अवस्थामा थिए ।
नगरपालिकाका लागि आवश्यक आधारभुत पूर्वाधार समेत नभएको अवस्थामा नगरपालिका बनेको जैमिनीले अहिले तिनै पूर्वाधार तयार गरिरहेका छ । पहिलो कार्यकालमा आधारभुत पूर्वाधार तयार गरेको जैमिनीले दोस्रो कार्यकाल सुरु भएपछि समृद्धिको यात्रा तय गरेको छ । सदरमुकाम बागलुङ बजारबाट दुरीका हिसाबले नजिकै रहेको जैमिनीमा संघीयताको कार्यान्वयन पछि मात्रै विकासको गतिमा अघि बढेको छ ।
उत्पादन, रोजगारी र बजारीकरणमा अब्बल नागरिक रहेको पालिकाको परिचय बनाएको जैमिनीले सिमित स्रोत साधन, आन्तरीक राजश्वका क्षेत्र नै कम भएपनि संघीय र प्रदेशको अनुदान र आन्तरीक स्रोतको परिचालनबाट गतिबिधि अघि बढाईरहेको छ । शिक्षामा परिवर्तन, स्वास्थ्य सुधार, कृषिमा उत्पादनमुखी कार्यक्रम, पूर्वाधारमा दिगो निर्माण र प्रशासनमा सुशासनका बिषयमा नगरपालिका जिम्मेबारी बोधका साथ लागिरहेको छ ।
नगरमा कस्ता नीति बन्छन् ? कसरी कार्यक्रम कार्यान्वयन हुन्छन् ? के हाम्रा नजिकका जनप्रतिनिधिले राम्रा लागि नीति तथा विधि बनाएका छन् ? जनताका लागि भनेर गरिएका कामले जनता लाभान्वित छन् त ? यी र यस्तै विविध बिषयमा ढोरपाटन सहकर्मी तारानाथ आचार्यले नगर उपप्रमुख हरिहर शर्मासँग लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

जैमिनी नगरपालिकाले के कस्ता कार्यक्रम तयार गरिरहेको छ ?
पहिलो कुरा त आधारभुत विकासका लागि आवश्यक प्रथम आबधिक योजना तयार गरेका छौं । दोस्रो राजश्व सुधार योजना तयार भएको छ । हाम्रो नगरपालिकाले लैसस रणनीतिक योजना तयार पारेको छ । सडक गुरुयोजना तयार भएको छ । जग्गाको वर्गिकरणको कामले निकै समय लियो, हामीले ठुलो मेहनत गरेर जग्गाको वर्गिकरण टुंगोमा पुर्याएका छौं ।
नगरको डिजिटल प्रोफाईल अपडेट भएको छ । नगरभित्रका महत्वपूर्ण पूर्वाधारको डिपिआर तयार भएको छ । भवन नभएका वडामा बनाउन वडा कार्यालय भवन, स्वास्थ्य चौकीका भवन बनाउन डिपिआर तयार भएका छन् । वडा नं. ८ छिस्तीमा बनाउन लागिएको बाँदर बगैंचाको डिपिआर तयार भएको छ । जैमिनीधामको डिपिआर तयार भएको छ ।
स्वास्थ्यमा नगर अस्पतालको ठेक्का प्रक्रिया सकियो भने भवन निर्माणको काम थालनी हुँदैछ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा एड्भान्स प्रयोगशला सञ्चालनको अन्तिम तयारीमा छौं । हाम्रा स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी बसेनन्, सेवा पाईएन भन्ने थियो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा तीन जना चिकित्सकले सेवा दिने वातावरण हामीले तयार गरेका छौं ।
साना–ठुला स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँमै उपचार र परामर्श पुर्याउने काम गरेका छौं । स्वास्थ्यको पहुँच नपुगेका क्षेत्रमा शहरी स्वास्थ्य क्लिनिक सेवा विस्तार गरेका छौं । बहुक्षेत्रीय पोषण, स्वास्थ्य स्वयंसेविकाका लागि निशुल्क स्वास्थ्य बिमा, सुत्केरीलाई यातायात खर्च, आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माणका काम गरेका छौं । प्रविधिमैत्री उपचार पद्धतीको सुरुवात गर्दैछौं । जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना भैसकेको छ । अब जैमिनीबासी जटिल स्वास्थ्य समस्या हुँदा उपचारको अभावमा मर्नु पर्दैन् ।
शिक्षामा लिड स्कुल स्थापना गरेर जाँदै छौं । नगरका असाय अनाथलाई वर्षको २० जनालाई लिड स्कुलमा पढाउने व्यवस्था मिलाएका छौं । दरबन्दी मिलान र विद्यालय समायोजनको पहिलो चरण पुरा भएको छ । शान्तिदिप बहुमुखी क्याम्पसमा छात्राबास र छात्रावृत्तिको व्यवस्थापन गरेका छौं । विद्यालयलाई उत्पादनसँग जोड्ने, पढाई मेला, प्रतिभा पहिचान जस्ता कार्यक्रम सञ्चालन गर्ने योजना छ । माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीका उत्कृष्ट उद्यमी अभिभावक पहिचान गरी प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।
कृषि उत्पादनमा आधारित अनुदान, बिक्रीमा आधारित अनुदान, व्यवसायीक गोरु पाल्नेलाई अनुदान, नश्ल सुधारका लागि राँगा पाल्नेलाई अनुदान कार्यक्रम सञ्चालनमा छन् । भेडा र बाख्रा पाल्ने किसानलाई व्यवसायीक बनाउनका लागि हामीसँग निरन्तर कार्यक्रम रहेका छन् । कृषिलाई उद्यमशिलतासँग जोड्न सिस्नो, सिन्की, आलु चिप्स लगायतका उत्पादनमा तालिम, गोष्ठी र सेमिनार कार्यक्रम छन् । कृषि उपजको बजारीकरण अब नगर आँफैले गर्नेगरी कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेका छौं ।
पूर्वाधारको विकासमा पनि हामी जोडबलका साथ लागिरहेका छौं । जैमिनी रिङरोडको बहुवर्षे ठेक्का लागेको छ । अब छिट्टै रिङरोड तयार हुन्छ । वडा जोड्ने सडकहरु कालोपत्रे र ढलानका काम चलिरहेका छन् । प्रशासनीक भवन निर्माण अन्तिम चरणमा छ । कुश्मीशेरा– बरेङ सडक कालोपत्रेका लागि दबाब सिर्जना गरिरहेका छौं । कुश्मीशेरा थन्थापमाई जाने बाटो बलियो बनाउने प्रयत्न जारी छ । १३ वटा दिगो सडक कालोपत्रे गर्ने, नाली बनाउने काममा लागिरहेका छौं । वडा नं. ५ को वडा कार्यालय भवन बन्यो, वडा नं. ३ मा वडा कार्यालय भवनका लागि जग्गा प्राप्ती र वडा नं. ९ मा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा प्राप्ती भएको छ । पर्यटकीय पूर्वाधार निर्माणमा दत्तचित्त भएर लागेका छौं । जैमिनी धाममा पूर्वाधार निर्माणको काम अघि बढेको छ । बाँदर बगैंचामा काम भैरहेका छन् । गाजाको दह, रिठे डाँडा, पुरानो गाउँ, हात्तिढुंगा, संखे पहरा, गाईथुने लगायतका पूर्वाधार निर्माणका लागि समन्वय, सहकार्य र आफ्नै योजना सञ्चालन गरिरहेका छौं ।

जैमिनीको विकास र समृद्धिका लागि कस्ता नीति तथा विधिहरु बनेका छन् ?
नगरको अवधारणा बनाउन विज्ञ सम्मेलन गरेर प्राथमिकता तय गरेका छौं । स्वास्थ्य, शिक्षा, कृषि पर्यटन र पूर्वाधार प्रथमिकरणका आधारमा विकासका काम अघि बढाउने काम गरेका छौं । बालमैत्री स्थानीय शासन अबलम्वन गर्ने, स्वास्थ्य ऐन तयार स्वास्थ्यमा सुधार, पोषणमैत्री न्यूनतम स्वास्थ्य मापदण्ड, शिक्षा ऐन तयार भएको छ । विपत् प्रतिकार्य योजना तयार भएको छ ।

अघिल्लो कार्यकाल र तपाईले कार्यभार सम्हालेपछिका कामलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
अघिल्लो प्रारम्भमा थियो । कठिन थियो । दोस्रो कार्यकाल दिशानिर्देश भएको छ । दिशाबोध भएको प्राथमिकतामा राखेर काम गर्न सजिलो भएको छ ।

जैमिनीले जनचाहना पुरा गर्न केन्द्रित गरेको विषय के के हुन् ?
जनताले चाहेको सुशासन र विकास हो । हामी सबैभन्दा पहिलो सुसाशनमा केन्द्रित छौं । जनतालाई सर्वसुलभ हिसाबले सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताले वडामै योजना सम्झौता गर्ने, वडामै पुगेर बैंक खाता सञ्चालन गर्ने, हरेक वडामा प्राविधिकको व्यवस्था गरेर सेवा प्रवाह गर्ने, सामाजिक सुरक्षा भत्ता बैंकसँग सहकार्य गरेर टोल टोलमै पुर्याउने काम गरेका छौं । नागरिककै चाहना अनुसार एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । अपांगता पहिचान र परिचय पत्र वितरणका लागि घरमै चिकित्सक पुर्याउने काम गरेका छौं । कृषिमा प्रोत्साहनका कार्यक्रम, बिउँपुजीका कार्यक्रम सञ्चालनमा छन् । सडक पुर्वाधार बाह्रै महिना चल्ने बनाउनेमा हामी केन्द्रित भयौं र अवस्था सुधार भएको छ ।

तपाईले बनाएका योजना जनताले रुचाएका छन् त ?
विकास कसका लागि, के–का लागि भन्ने बिषयमा हामी प्रस्ट छौं । जनताको चाहना अनुसार हुने विकासका लागि जनताको चाहना अनुसारकै योजना आवश्यक हुन्छन् । हामीले जनताको चाहना अनुसारकै योजना बनाउँछौं । उहाँहरु छिटो काम गरोस् भन्ने चाहनुहुन्छ । हाीमले प्रयास गरेका छौं । जनचाहना पुरा गर्ने बाटोमा नै छौं । गाउँमा मेहनत गरेर बस्ने नागरिक हामीप्रति सकरात्मक हुनुहुन्छ ।

नीति तथा कार्यक्रम र बजेट बनाउन, कार्यान्वयनमा कठिनाई के के छन् ?
हामी कठिन भुगोलमा काम गरिरहेका छौं । मौसमदेखि प्रकोपहरुको चुनौती हाम्रा सामु बिद्धमान छन् । स्रोत साधनको अभाव हामीले व्यहोरेको चुनौती हो । थोरै स्रोत साधनका बीचमा धेरै आकांक्षाहरु पुरा गर्नुपर्ने छ । संरचना र संयन्त्रका हिसाबले हामीले धेरै क्षमता विकास गर्नुपर्ने अवस्थामा छौं । चुनौती छन् भनेर चुप बसेका छैनौं । सबै चुनौती एकैपटक छिचोल्न हामीलाई कठिनाई छ ।

जनशक्ति र स्रोतको व्यवस्थापनमा कति बलियो छ नगरपालिका ?
हामीसँग भएको स्रोत सहि ढंगबाट प्रयोगमा ल्याएका छौं । स्रोत बढाउने प्रयत्न जारी छ । बिभिन्न कोणबाट स्रोतहरुको खोजी भैरहेको छ । हामीलाई थाहा छ आत्मनिर्भर नभएसम्म चाहेको जस्तो विकास गर्न सक्दैनौं । जनशक्ति व्यवस्थापनमा हामी अझै पनि जनशक्ति थप भए काम गर्न सकिन्थ्यो भन्नेमा छौं । भएको जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ ।

अझै प्रभावकारी कामका लागि भावी योजना के छ ?
हामीले जैमिनीको सुन्दर भविश्यको लागि महत्वकांक्षी परियोजनाको परिकल्पना गरेका छौं । जसका लागि पहिले स्रोत जुटाउनुपर्ने अवस्था छ । प्रथम जैमिनी लगानी सम्मेलनको तयारी भैरहेको छ । जसलबाट देश विदेशमा रहनुभएका जैमिनीबासीको पुँजी र सीपको प्रयोग गर्न स्रोत जुटाउन सक्ने अपेक्षा राखेका छौं ।
जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाउने योजना छ । जुन संग्रहालय सिल्पी समुदायको कला र संस्कृति संरक्षण गर्ने देशकै एउटा मानक बनोस् भन्ने हामि चाहन्छौं । जैमिनी यन्त्रशाला स्थापना गर्ने, बाँस काठका सामग्री उत्पादन तथा प्रबद्र्धन गर्ने योजना छन् । नागरिक उपचार कोष बनाउन खुल्ला आव्हान गर्दै छौं । पालिकाको केन्द्रमा प्राविधिक स्कुल, डिल स्कुल र आवासिय स्कुल व्यवस्थित गर्ने कुरामा हाम्रो ध्यान जाने छ । व्यवसायीक वातावरण र संस्कारको विकास गर्ने । पर्यटक ल्याउने वातावरण बनाउने विचार छ । यो पटकदेखि परीक्षा सुधार गर्न एसईई दिनेलाई बिशेष कक्षा सञ्चालन गर्ने । जैमिनीकी छोरी कार्यक्रम लागु गर्ने, सामाजिक संग्रहालय बनाउने । जैमिनी ऋषिको नाम जैमिनी दर्शन पाठशालामा बेदको पढाउने । सभ्यताको विकासमा धार्मिक पर्यटनको विकासका लागि काम गर्ने । स्वास्थ्य केन्द्रमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने, कालीगण्डकी करिडोरसँग जोडेर एकिकृत बस्ती विकास गर्ने र बसाईसराई रोक्ने । अध्ययन अनुसन्धान केन्द्र बनाउने । जनजाती संस्कृति, जातजाती, सबै हिसाबले धनी जैमिनीलाई त्यसैको माध्यामबाट प्रचार गर्ने । अर्गानिकताको उद्गमस्थल भएकाले अर्गानिक उत्पादन, अर्गानिक संस्कृति र कलाको प्रबद्र्धन गर्ने भनेका छौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->