आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बक्सिङ पढाउने एक्ली महिला ‘प्रियंका वर्मा’

बक्सिङ पढाउने एक्ली महिला ‘प्रियंका वर्मा’

खेल्दा मुक्का कम खाइन् होला तर अवसरबाट बञ्चित गर्न कयौं मुक्का खाइन् । अर्थात् उनी सधैँ पछि परिरहिन् ।


  • विजय नेपाली
  • साउन १ २०८१, मंगलबार

पोखरा/खेलकुदमा खोज्ने हो भने हरेक खेलाडीको आ–आफ्नो कथा हुन्छ । कसैको सुखद् त कसैको दुःखद् । यो विश्वभरका खेलाडीमा लागु हुन्छ । खेलाडी बन्नु सामान्य कुरा पनि होइन्, अझ नेपाली समाजमा खेलाडी हुनु भनेको कुनैबेला बिग्रनु सरहकै थियोे ।
नेपालमा खेलकुद भविष्यका लागि भन्दापनि रहर र मनोरञ्जनका लागि ज्यादा खेलिन्छ भन्ने मानसिकता अझै छ । हरकोही सामान्य रुपमा कुनै न कुनै खेल खेलिरहेकै छन् । अझ अहिले जसरी खेलकुदको विकास हुँदै आएको छ । आजभन्दा करिब एक–डेढ दशकअघि त्यो स्थिति थिएन् । बलकै दममा खेलिन्थ्यो र जितिन्थ्यो बलकै दममा । हुन त नेपाली खेलकुदको इतिहास हेर्ने हो भने विगतका इतिहास धेरै राम्रा छन् । तीसँग त्यसरी नै कुनै न कुनै कथा पनि जोडिएका छन् ।
तीनै कथामध्येकी एक हुन्– लाइसेन्स प्राप्त नेपालकी पहिलो महिला बक्सिङ प्रशिक्षक ‘प्रियंका वर्मा’ । झट्ट हेर्दा विदेशीजस्तै देखिने उनी बक्सिङ खेलाडीसँगै पहिलो लाइसेन्सप्राप्त महिला प्रशिक्षक हुन् । महिलालाई चुलो चौकामा सीमित हुने समयमा मुक्का मुक्की हान्ने खेलमा होम्मिएकी प्रियंका नेपालका लागि त्यस्तो चेली हुन्–जो प्रशिक्षकमात्रै होइन्, देशलाई बक्सिङ सिकाउने र पढाउने योग्यता हासिल गरेकी छिन् ।
पोखरा महेन्द्रपुलकी स्थायी बासिन्दा प्रियंका खेलाडीहुँदै प्रशिक्षकसम्मको यात्रा गरिन् । २०६६ साल माघ १८ बक्सिङमा पाइला टेकेकी उनको पहिलो भेट एसिएन गेममा कास्य विजेता बक्सर चन्द्रबहादुर गुरुङ हुँदै बक्सिङ प्रशिक्षक सुरेश मल्लसम्म पुग्यो । बक्सरको रुपमा ११ वर्षसम्म सक्रिय रहेकी उनले २८ वर्षको उमेरमै खेलाडीबाट सन्यास लिइन् र सुरु गरिन् प्रशिक्षकको यात्रा । निडर स्वभावकी प्रियंकाको चाहना आर्मी–पुलिस हुने भए पनि असफल भइन् । भर्ति हुने हर प्रयास गरिन्, नतिजा असफलता नै रह्यो । पुलिसको असई भिड्दा अन्तिममा गएर कोटा सिस्टमका कारण बाहिरिइन् । उनकी आमाको इच्छा छोरी आर्मी–पुलिस् बनोस भन्ने थियो तर सफल भएन । पढाइमा अब्बल प्रियंकाले खेलाडीको जीवनलाई लामो समय नदिए पनि पढाइबाटै बक्सिङ रोज्न पुगिन् । एक दशकको खेल जिवन व्यथित गरेकी उनको बक्सिङसम्बन्धी पढाइको यात्रा भने २०७७ सालबाट भएको हो । पढाइमा राम्रो रहेकी उनले भारतमा एनआइएस कोर्स गर्ने अवसर प्राप्त गरिन् । प्रियंकासँग योग्यता पर्याप्त थियो । भारतको पटियालास्थित राष्ट्रिय प्रशिक्षण केन्द्रमा एनआइएस कोर्सका लागि प्रियंका नेपालबाट छानिइन् । सन् २०१९ जुलाईदेखि २०२० अगस्टसम्म भएको कोर्षमा नेपाल, भारत र बंगलादेशका ३ सय ६४ प्रशिक्षार्थी सहभागी थिए । प्रियंका महिलातर्फ पहिलो भइन् भने समग्रमा सातौं स्थान हासिल गर्न सफल भइन् र बनिन् नेपालकै पहिलो र एकमात्र लाइसेन्स प्राप्त महिला प्रशिक्षक ।


जब भारतमा एनआइएस कोर्ष सम्पन्न गरेर आइन तब उनका लागि धेरै ढोकाहरु खुल्ला भयो । नेपाली खेलकुदको इतिहासमा उनको नाम स्वर्ण अक्षरमा लेखियो । उनी लाइसेन्सप्राप्त पहिलो महिला बक्सिङ कोचमात्र नभइ नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय महिला प्रशिक्षक, अफिसियल एनाउन्सर अफ बक्सिङ, आइभीए कोच र नेशलन इन्स्ट्रक्टर पनि हुन् । महिलाले केही पनि गर्न सक्दैन भन्ने समाजमा उनले चोटिलो मुक्का प्रहार गरिदिएकी छन् । उनी त्यस्तो महिला हुन जसले बक्सिङको प्रशिक्षणमात्र होइन् प्रशिक्षक उत्पादन र बक्सिङ पढाउँन सक्छिन । प्रियंकाले जुन ठाउँ प्राप्त गरेको छ त्यो ठाउँ महिलाको त कुरा छाडौं पुरुषले नै पाउन समेत निकै जटिल छ ।
नेशलन इन्स्ट्रक्टर उनले बनेपाको पनौतीमा ६० जनालाई प्रशिक्षक बक्सिङ बढाइन र सिकाइन् । प्रदेश खेलकुद परिषद् गण्डकीमा स्वयसेवी प्रशासन अधिकारी हुँदै गण्डकीको प्रशिक्षक हुँदा उनले नवौं राष्ट्रिय खेलकुदमा बक्सिङतर्फ गण्डकीलाई ऐतिहासिक ६ पदक दिलाइन् । उनको कारण गण्डकीले १ स्वर्ण, एक रजत र ६ कास्य पदक हासिल गर्न सफल रह्यो ।
यति ठुलो योगदान दिएकी उनी बक्सिङ प्रशिक्षकको लाइसेन्स बोकेर फुरुङ्ग हुँद लाग्थ्यो की अब त नेपालमै जागिर पाइन्छ, प्रशिक्षक भइन्छ । तर, नेपाली खेलकुदमा त्यो अवसर कहाँ पाइन्छ ? कसले दिन्छ ? नेपालमा अवसर पाउन कि त नेता की कर्मचारीको नजिकको मान्छे हुनुपर्छ । उनी दुवैको नजिक थिइनन् । कागजमा सीमित लाइसेन्स र प्रमाणपत्र देखाउँदै उनी सरकार निकाय धेरै पटक धाइन् सुनुवाई भएन वेवास्ता गरियो । खेलकुदसम्बद्ध निकायमा आफ्नो अधिकार खोज्दै हिड्दा गण्डकीबाट खेल्दा बरु मुक्का कम खाइन होला तर, अवसरबाट बञ्चित गर्न पछाडीबाट कयौं मुक्का खाइन अर्थात उनी सद्यँै पछि परिरहिन् । हरेक पटक उनलाई रिङआउट गरियो । जब जबसत्यको मुक्का हान्न अघि बढिन तब तब उनलाई जालझेल अनि षड्यन्त्रको मुक्का वर्षिरह्यो । यसलाई पुष्टि गर्ने आधार भनेको बक्सिङको वल्र्ड च्याम्पियनसीप र हालै सम्पन्न एसिएन गेम्स हो । यी दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमअनुसार प्रियंकाको नाम हुनुपर्ने थियो । तर, उही पुरानै प्रचलन अनुसार राजनीति, आफन्तवाद, कृपावाद र आसेपासेवादले उनी पछि परिन् । वल्र्डच्याम्पियनसिपमा बक्सिङ संघले मनलाग्दी रुपमा रेफ्री÷जजलाई प्रशिक्षक बनाएर पठाएको तीतो अनुभवसमेत उनीसँग छ । तैपनि उनमा धैयर्ता छ र अझै पढाइलाई नै अघि बढाएकी छन् । अहिले उनले नेपालका लागि अर्को इतिहास रच्ने मार्गमा लागिरहेकी छिन् । उनी अहिले खेल विज्ञ हुनका लागि अमेरिका पुगेकी छन् ।


हरेक अवसरका लागि सबै तरिकाले योग्य हुँदाहुँदै पनि नेपाली बक्सिङले चिन्न नसकेको र सधैँ पछि पारिदिएको प्रियंकका मनमा अझैपनि आशा भने जीवितै छ । देशलाई ठूलो उपाधि दिलाउन सक्ने उनले खेलाडी मात्र होइन, नेपालका नामुद भनिएकै खेलकुदमा व्यक्तिलाई समेत खेलकुद अझ विशेषगरी बक्सिङ पढाउन र सिकाउन सक्छिन् । उनी भन्छिन्, ‘पढाउने र प्रशिक्षण गराउने कार्य चलिरहेको थियो तर मलाई पनि पढ्ने रहर थियो । त्यसैले म यता आएँ । बक्सिङ पढाउने पुरुषमा मदन गुरु हुनुहुन्थ्यो उहाँ बित्नुभयो महिलामा म मात्रै हुँ । बक्सिङलाई मैले अझै दिन सक्थँे तर बक्सिङले मलाई चिनेन ।’
भारतमा गरेको डिप्लोमा कोर्षकै उपलब्धिले आज स्पोट्र्स साइन्टिस बन्ने इच्छा जागेको उनी अमेरिकामा मास्टर्ससँगै पिएचडीको अवसर पाएपछि आलिसबरि शहरको सालिसबरि युनिभर्सिटी पुगेकी छन् । पढ्ने अवसर वोस्र्टन युनिभर्सिटीलायतको युनिभर्सिटीमा पाएपनि सालिसबरि युनिभर्सिटीले विद्यावारिधि (पिएचडी) को अवसर समेत दिएकाले मास्टर्स र पिएचडीका लागि उक्त विश्वविद्यालय चुनेकी छन् । ‘भारतका ए लेभलका बक्सरहरुसँगै मैले इन्र्टनसीप गरेँ । त्यसमा मलाई त्यो मुभमेन्टहरुको बारेमा डिप्ली साइन्टिस्टहरुले काम गरेको देखेर निकै इच्छा लाग्यो ।मैले वेशिक कोर्ष गरिसकेको थिएँ स्टे«न्थ एण्ड कन्डिसिङमा अनि त्यसलाई नै अघि बढाउँकी जस्तो लाग्यो स्करलसीप (छात्रवृत्ति) त छैन तर म दुःखै गरेर पढ्दै छु । सायद नेपाल सरकारले सहयोग गरेको भए मैले यति दुःख गरेर पढ्नु पर्दैन्थ्यो होला,’ उनले थपिन्, ‘अहिले पढ्दैछु पढाइ सकेपछि नेपालमै केही गर्छु भन्ने सोच छ हेरौं अवसर दिन्छन् या फाल्छन् । खेलेर भन्दापनि मलाइ पढेरै अघिबढ्छु भन्ने आँट आएको छ । हाम्रो देशमा खेलकुदसम्बन्धी क्यालेन्डर नै छैन , त्यहाँ केही गर्छु भनेर मात्र पनि हुँदैन । नेपालमा अब खेल वैज्ञानिकको पनि आवश्यकता भइसकेको छ । जसले अन्तर्राष्ट्रिय रुपमै सफलता हात पार्नका लागि वैज्ञानिक तरिकाले अघि बढाउन सकोस् । प्रशिक्षकको जति भूमिका हुन्छ । स्पोट्स साइन्टिस वा साइकोलोजिष्टको पनि उत्तिकै भूमिका हुन्छ ।’
उनलाई चुनौती यो छ कि अब कसरी पढाइको खर्च उठाउने ? परिवारको जिम्मेवारीले थिचेको उनलाई अब अमेरिकामा पढाई खर्चको जोहो गर्नुपर्ने छ । खेलेर लडेर नसकेकी उनी अब पढेर जित्न चाहन्छिन् । आफ्नो पढाइ अघिबढाउँदै गर्दा पनि उनले राज्यको सहयोग चाहन्छिन् ताकि उनले छात्रवृत्ति प्राप्त गर्न सकियोस् । विगतलाई सम्झदा निराश हुने उनी भविष्यलाई हेरेर मुस्कुराउँछिन र भन्छिन्, ‘यति कोर्ष गर्न सफल भए भने त पक्कै पनि राज्यले हेर्ला नि ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->