खर्वाङ (बागलुङ)/ सोमबार (हिजो) रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाड गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बागलुङले पुष्टि गरेको छ । घटनास्थलमा प्रहरी पुग्न नसकेकाले घटनाको पूर्ण विवरण आउन अझै बाँकी छ । मंगलबार बिहान खसेको पहिरोमा बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
त्यस्तै वडा नं १० को आरुपाटा भन्ने स्थानमा खसेको पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको छ । सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको पनि मृत्यु भएको छ । सोही घटनामा ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।
प्रहरी र स्थानीयसहितले बुढाको घर पुरिएको स्थानमा खोजी गर्दा शव भेटिएको हो । बिहान १० बजेको समयमा खसेको पहिरोले छिमेकी समेत आएको बेला बुढाको घर पुरिएको थियो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।
उक्त घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते हुनुहुन्छ । उहाँहरूलाई उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । कठिन भुगोल, निरन्तर बर्षाका कारण घटनास्थलमा प्रहरी पुग्न सकिरहेको छैन् । घाईतेको उपचारका लागि हेलिकप्टरको व्यवस्थापन गर्ने तयारी भैरहेको बरालले बताए ।





