बागलुङ/गत मंगलबार बिहान खसेको पहिरोमा परेर बेपत्ता भएकी ७ वर्षिय बालिकाको बिहिबार मध्यान्न १२ बजे शव भेटिएको छ । पहिरोमा बेपत्ताहरुको तीन दिनदेखि खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको पहिरोमा बेपत्ता भएकी ७ वर्षिय मधु बुढाको शव भेटिएको प्रहरीले बतायो ।
घटनामा अझै २ बालक बेपत्ता छन् । १० वर्षका मनोज बुढा र ११ वर्षको सुमन थापा अझै हराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । उद्दार टोलीले उनीहरुको खोजी गरिरहेको छ । उद्दारका लागि नेपाली सेनाको श्रीमेहर गण, सशष्त्र प्रहरी र प्रहरीको थप टोली घटनास्थलमा परिचालित छ ।
बुधबार बिहान ३ वर्षिय आरुष थापाको शव भेटिएको थियो । अहिलेसम्म उक्त घटनामा १० जनाको मृत्यु भैसकेको छ । पहिरोमा गम्भिर घाइतेमध्ये ३ जनालाई उपचारका लािग काठमाण्डौं पठाइएको छ । एक जनालाई पोखरास्थित मणिपाल अस्पताल र बाँकी घाइते ९ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको हो । मृतकहरुको बुधबार दिउँसो घटनास्थलमै पुगेर पोष्टमार्टम गरिएको छ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा. छितिज रिजाल नेतृत्व टोलीले पोष्टमार्टम गरेको हो ।





