शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पहिरोले बेनी-दरबाङ सडक फेरी अवरुद्ध

पहिरोले बेनी-दरबाङ सडक फेरी अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

म्याग्दी / पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी-दरबाङ सडकखण्ड अवरुद्ध भएको छ । लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको हो।

पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन्। बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम मोलेर पैदल यात्रा गरी पहिरो पारगरी आआफ्नो गन्तव्यतर्फ लागेका छन्।

पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भइरहन्छ । यस सडक खण्डको बेनी नगरपालिका–४ सिंगा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बांगेभिर र मंगला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको हो।

यस सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ। फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताए।

पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन्। यात्रुहरु जोखिम मोलेर पैदल नै आआफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन्।

धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङका हरिकृष्ण पौडेलले बताए।

ढुंगा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

‘वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ’, उनले भने, ‘फापरखेतको पहिरो त बेनी-दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।’ उनका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->