बाटुलेचौर मैदानका रैथाने अगुवा पदमबहादुर कार्की आम पिताभन्दा फरक थिएनन् । ‘राम्रो पढ, आफ्नो खुट्टामा उभिने बन,इज्जतको ख्याल गर’ त कुन पिताले पो भन्दैन र ? फरक यत्ति थियो– उनले आफ्ना ४ छोरी र एक छोरालाई दुर्वचन चाहिँ बोलेनन् ।
दिवंगत पितालाई सम्झँदा साहिँली छोरी बन्दना कार्की भावुक तर हिम्मतिली देखिइन् । ‘हामी दुई वर्षका फरकका दिदी–बहिनी थियौँ, बुवाले हाम्रो पढाइमा कहिल्यै कप्रोमाइज्ड गर्नुभएन,’ उनले सुनाइन् ।
बन्दना कार्कीको नामको पछाडि अहिले केसी जोडिएको छ । नेपालको प्रतिष्ठित औद्योगिक तथा राजनीतिक घराना केसी समूहका निर्देशक किरण केसीसँग लगनगाँठो कसेपछि उनले केसी थर पाइन् । संस्कार त बन्दनाले सानैमा सिकिन् । घरधन्दा नि ? दिदीहरु थिए नि !
घरको पल्लोपट्टिको गण्डकी बोर्डिङको पढाइ । २०६१ मा स्कूल सकियो । नर्सिङको ‘ग्ल्यामर’ चर्को भएको बेला । साथीहरुको लहलहैमा उनले पनि नर्सिङ नै रोजिन् । घर परदेश भयो । काठमाडौंको छात्राबास आफ्नो बन्यो ।
‘ठूला सपना थिएनन् तर आफ्नो खुट्टा दरिलो होस् भन्ने चाहिँ थियो,’उनले भनिन्,‘के पढ्दा राम्रो हुन्छ भन्दा पनि साथीहरु कता ज्वाइन भए भन्नेले अर्थ राख्थ्यो । नर्सिङमा आकर्षण बढेको बेला थियो । पढेपछि विदेश जान सजिलो भन्थे, कतै विदेश गइएला भन्ने पनि भयो । बुबाले रोज्न छाडिदिनुभयो । अरु विषय रोज्न पनि सकिन्थ्यो नि । अहिले आएर त्यस्तो बेला राम्रो एजुकेसनल काउन्सिलिङ चाहिँदो रहेछ भन्ने लाग्छ । ’ तर, नर्सिङ रोजेकोमा पछुतो नभएको उनले सुनाइन् ।
उता पढाइ चल्दै थियो, यता घरमा विहेको कुरा चलेछ । एकाएक उद्योगपति तथा संविधानसभा सदस्य सूर्यबहादुर केसीका माइला छोरा किरण हात माग्न आइपुगे । बन्दनाले नाइँनास्ती गरिनन् रे । बरु पढाइ पूरा गर्छु भन्ने सर्त राखिछन् । किरणले स्वीकारे । होस्टल छाडेको ४ दिनमै उनको परिचय बदलियो । मान्छेले सीताराम÷सूर्यबहादुरकी ‘बुहारी’ पुकार्न थाले ।
‘त्यो बेला फ्रिडम गुमाएँ कि भन्ने लाग्याथ्यो तर अहिले आएर हेर्दा राइट टाइममै विहे गरिएछ भन्ने लाग्छ,’ उनले भनिन् ।
२१ वर्षीया बन्दनाको भूमिका बदलियो । पत्नी, बुहारी र भाउजू भइसकेपछि बन्दनाले दायित्ववोध गरिन् । किरणले पिताकै निर्देशनमा व्यवसाय सम्हाल्न थालिसकेका थिए । जुनी काट्ने मान्छेलाई सघाउनुपर्छ भन्ने सोच पलाएछ । उनले म्यानेजमेण्ट पढ्ने निधो गरिछन् । ठूलो छोरा जन्मिसकेकाले हेरचाहमा केही समय बित्यो । त्यसपछि उनले सिक्किम मनिपाल कलेजबाट व्यवस्थापनको एमबीए छिचोलिन् ।
ससुरा सूर्यबहादुर केसी व्यवसायमा पुस्ता हस्तान्तरणको प्रक्रियामै थिए । पढेगुनेकी माहिली बुहारीले आफैले हेर्दै आएको हिमश्री फुड्सको कच्चा पदार्थ खरिदको जिम्मेवारी सुम्पे । चर्चित ‘रारा’ चाउचाउ बनाउन के–के चाहिन्छ भन्ने उनले त्यही बेला थाहा पाइन् ।
‘जुन परिवारमा छु, त्यो परिवारलाई सपोर्ट हुने काम गर्नुपर्छ भन्ने मनभित्रै थियो,बुबा ( ससुरा) को निर्देशनले पनि सजिलो भयो, त्यसपछि मैले हाइड्रोको काम पनि हेर्न थालेँ । अहिले पनि स्वर्गीय बुबा (ससुरा) को मार्गनिर्देशन याद आइरहन्छ । ’
केसी परिवारले पछिल्लो समय जलविद्युत उत्पादनमा बढी जोड दिएको छ । गण्डकी हाइड्रोपावर संचालकको रुपमा रहेकी बन्दनाका श्रीमान किरणले केसी समूहको हाइड्रो सेक्टरको अभिभारा बोकेका छन् । बन्दना उनैलाई सघाउँछिन् । दुई वर्ष अघिदेखि भने उनी माछापुच्छे« ब्याङ्कको निर्देशकको भूमिकामा पनि छिन् । काम त कार्यालयमा बसेर गर्ने हो । तर,दुई छोराको दायित्वले पनि उनलाई किचेको छ । आफैले पकाउनुपर्छ, हेर्नुपर्छ भन्ने पनि छैन । तर,छोराहरुलाई आफैले हेर्नुपर्छ भन्नेमा उनी प्रष्ट छन् । ‘सानो बल्ल ५ को भयो, उनीहरुलाई केयर गर्नुपर्छ नि,’ आँखामा मातृबात्सल्य छचल्कियो ।
‘मेरो हजबेण्डलाई कति धपेडी छ, हिजो पोखरा, आज काठमाडौ ।साइटमै जानुप¥यो, कामदारसँग भेट्नुप¥यो,हामी त अफिस बस्ने न हो,’ उनी एकाएक भावुक पत्नीमा पो बदलिइन् त !
मध्यमवर्गीय परिवारकी छोरी । अहिले कयौं कम्पनी र अर्बौ सम्पत्ति हाँक्ने कम्पनीकी निर्देशक । नपुग्दो केही छैन । तर, उनलाई फुर्सद कम छ । भएको फुर्सद पनि उनले काममै लगाएकी छन् । हुनेले नहुनेलाई दिनुपर्छ रे ! उनी जोन्टा क्लबमा आवद्ध छिन् । महिला र बालबालिकाको क्षेत्रमा केही गरौँ भनेर त्यसमा लागेको उनले बताइन् । उद्योगी/व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघको कार्यकारी सदस्यको भूमिका चाहिँ सिक्न,नयाँ मान्छेसँग बसेर काम गर्न रोजेकी रे !
म आफूलाई घरमा हुँदा आमा,पत्नी वा बुहारी नै सोच्छु, कम्पनी वा सामाजिक संघ/संस्थामा रहँदा मलाई आफ्नो लिमिटेसन थाहा हुन्छ,’उनले भनिन्,‘आफ्नो बाउड्रीज आफै क्रियट गरेको छु । केही कुरा सिक्नको लागि झुक्नुपर्छ भन्ने पनि मलाई थाहा छ ।’ ठूलो घराना हुँदैमा अहम् पाल्नुपर्छ र पर्दाभित्रै बस्नुपर्छ भन्ने सोच गलत भएको बताउन पनि उनले छुटाइनन् ।
साँच्चै, उनी पो दुई छोराकी आमा ! उनका कति साथी त अहिले पनि पढ्दै छन्÷ सिक्दैछन् । सिक्नु भनेको अभिमान त्याग्नु,आत्मविश्वासी र विनयशील हुनु हो । ठूलो घरानाकी यी बुहारीसँग तीनवटै कुरा छन् । पारिवारिक व्यवसायलाई एउटा उचाइमा पु¥याउने वा फैलाउने सपना नहुने कुरै भएन । आफूलाई महिलाभन्दा पनि मिहिनेती भन्न रुचाउने उनले कुराकानीको अन्त्यमा नाडीघडी हेर्दै भनिन्,‘महिला होस् वा पुरुष,आफू दक्ष हुनुप¥यो, हार्डवर्क त चाहिन्छ नै । अनि राइट टाइममा राइट बिजनेस गर्नु पनि पर्छ है !’
बिजनेस भनेको समयको व्यवस्थापन पनि होला । लाग्थ्यो–उनी अर्को कुनै मिटिङको हतारो छन् !





