शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कास्कीमा ट्राफिकको एक्सन : धमाधम विद्यालयका बस कारवाहीमा

कास्कीमा ट्राफिकको एक्सन : धमाधम विद्यालयका बस कारवाहीमा


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले विद्यालयका बसहरुमाथिको अनुगमन कडा रुपमा अघि बढाएको छ । विद्यालयका बसहरुमा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने र तिव्र गतिमा हाक्ने गुनासो व्यापक आउने गरेका छन् ।

पछिल्लो समय प्रहरीले विद्यालयका बसमा निगरानी बढाउँदा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बस कारवाहिमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कास्कीको टोलीले संयुक्त अनुगमनको क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटाएको हो ।

कास्कीमा पछिल्लो समय ट्राफिक प्रहरीले विद्यालयको बसको गति सिमिति गर्न स्टिकर टास्ने र अनुगमन गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएको छ । पोखरामा मंगलबार दुई सय २३ वटा विद्यालय बसलाई चेकिङ गरिएको थियो । चेकजाँचको क्रममा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेका विद्यालयका बसलाई ट्राफिक नियम अनुसार कारवाहि गरिएको छ भने चालकहरुलाई ट्राफिक नियमको उल्लङ्घन नगरि चलाउन सम्झाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख भानु शर्माले जानकारी दिए ।

विद्यालयको बसमा विद्यार्थी बढि हाल्नुमा चालकको नभइ विद्यालय रहने गरेका छन् । विद्यार्थी धेरै हुने र खेप हाल्नुपर्ने हुँदा विद्यालयकै निर्देशनमा चालकहरुले विद्यार्थी क्षमताभन्दा बढी बोक्ने गरेका छन् । यहि साउन १४ गते पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको थियो । एलपी देवकोटा स्कुलको बसमा सवार विद्यालयकी कार्यालय सहयोगी रहेकी ३३ वर्षीय आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ग १ क ६२१९ नम्बरको बस पोखरा–२१ रामदीबाट पोखरा–१७ स्थित विद्यालयतर्फ विद्यार्थी लिएर फर्किंदै गर्दा अनियन्त्रित भएको थियो । बसमा चालकसहित ३० जना सवार रहेकोमा बाँकी २८ जना घाइते छन् । उक्त घटना पोखरामा हालसम्म भएको विद्यालय बस दुर्घटनामा सबैभन्दा ठूलो थियो । सो घटना पश्चात ट्राफिक प्रहरीले विद्यालयका बसमाथि कडाइका साथ चेकिङ गर्दै आइरहेको थियो ।
पोखरामा विद्यालयका बस ४० किलोमिटर भन्दा बढीको गतिमा चलाउन पाइदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->