आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान

नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान शाहीलाई गण्डकी विश्वविद्यालयको सम्मान


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८१, आइतबार
oplus_2

पोखरा/ गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरुणा शाहीलाई आज एक समारोहबीच सम्मान गरेको छ ।
केही समय अघि भएको काभा महिला नेशन्स लिग भलिबलको फाइनलमा पुगेर आफ्नो टीमलाई उपबिजेता बनाउन सफल भएको भन्दै विश्वविद्यालयले शाहीलाई सम्मान गरेको हो । शाही उक्त विश्वविद्यालयमा स्नातक तहको खेलकुद व्यवस्थापनमा पूर्ण छात्रबृत्तिमा अध्ययनरत विद्यार्थी समेत हुन्।

शाहीलाई नगद २० हजार सहित गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले सम्मान गरे । उक्त अवसरमा मन्त्री थापाले भलिबल खेलको माध्ययमबाट शाही र टीमले नेपालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएर देशको इज्जत राख्न सफल भएको भन्दै बधाइ दिए । साथै यो सम्माने अझै बढी हौसला मिलेर थप सफलता हासिल गर्ने उर्जा प्राप्त हुने विश्वास पनि उनले गरे । ‘खेलकुदको क्षेत्रमा अग्रणी भूमीका निर्वाह गरेकोमा खुशी छौं,’ मन्त्री थापाले भने । उनले खेलबाट आफ्नो क्यारियर बनाउन सकिनेमा समाज परिवर्तन हुँदै आएको उल्लेख गरे । पोखरा प्रदेश र पर्यटनको मात्र नभइ खेलकुदको पनि राजधानी हुने उनको भनाई थियो । ‘प्रकृति, संस्कृति र हावापानीका हिसावले पोखरालाई खेलकुदको राजधानी पनि बनाउन सकिन्छ,’ मन्त्री थापाले भने, ‘खेलबाट मानिस शारिरीक र मानसिक रुपमा स्वस्थ रहन्छ ।’

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालय, प्रदेश र समग्र देशकै गौरव राख्ने गरी खेलकुदमा लाग्न शाहीलाई सुझाए । अव खेलाडी उत्पादनका लागि मावि तहमै खेलकुदको पढाइ हुनुपर्ने उनले बताए । विश्वविद्यालयमा झापादेखि कैलालीसम्मका विभिन्न कलेजलाई सम्बन्धन दिनुपर्ने भन्दै राजनीतिक दवाव आएको उनको भनाइ थियो । ‘सम्बन्धन विश्वविद्यालयको ठूलो रोग हो, तर हामीलाई ठूलो दवाव छ,’ उनले भने, ‘देशभर सम्बन्धन दिदाँ गुणस्तर खस्किन्छ । तत्काल दिन सकिदैन । यही भएर कतिपयले हामीलाई कहिले जालान भनेर कुरिरहेका छन् ।’

उपकुलपति प्राडा नवराज देवकोटाले शाही विश्वविद्यालयको सिनियर विद्यार्थी रहेको र यसरी सम्मानित गर्दा संस्थासंग जोडिइरहने अवस्था आउने बताए । विश्वविद्यालय मास स्केल र प्राविधिक शिक्षा दिदै आएको आफुहरुले प्राविधिक शिक्षामा जोड दिइएको उनको भनाई थियो ।
सम्मानित कप्तान शाहीले यो सम्मानले खेलकुद क्षेत्रमा अझै धेरै गर्नु पर्छ भन्ने उत्साह थपेको बताइन । अझै पनि समाजमा खेलकुदको बारेमा बुझाउन नसकिएको भन्दै खेलको माध्ययमबाट देशलाई चिनाउन सकिन्छ भन्ने सन्देश समाजमा दिनुपर्ने उनको भनाई थियो । खेलसंगै पढ्नु पनि पर्छ भन्ने मान्यतासाथ आफुले खेलकुद व्यवस्थापन पढिरहेको उनले बताइन । विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदीले कावा महिला भलिवलमा सफलता मिलेको भन्दै सम्मानित गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->