बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निरन्तर शिक्षाका लागि पुस्तकालय

निरन्तर शिक्षाका लागि पुस्तकालय

पुस्तकालय अत्यन्त महत्वपूर्ण शैक्षिक केन्द्र हो । यो निरन्तर चलिरहेको रेल जस्तै हो । कहाँबाट चढ्ने र कति ज्ञान लिएर कुन स्टेसनमा झर्ने भन्ने पाठकको हातमा छ ।


  • सदीक्षा सुनार
  • भाद्र १९ २०८१, बुधबार

पुस्तकालयभन्दा बित्तिकै हाम्रो मस्तिष्कमा आउने कुरा पुस्तकहरुको भण्डार हो । पुस्तकालय संस्कृत भाषाका ‘पुस्तक’ र ‘आलय’ शब्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरुको संग्रह हुन्छ । यसको अङग्रेजी समानार्थी शब्द लाइब्रेरी हो । जुन ल्याटिन भाषाको लिबर शब्दबाट आएको हो र यसको अर्थ पनि पुस्तकहरुको भण्डार नै हुन्छ । पुस्तकालय भनेको विभिन्न भाषा, इतिहास, कला, संस्कृति, दर्शन, स्वास्थ्य, विज्ञान, आदिसम्बन्धी लेखी, छापी, कोरी वा खिची तयार पारिएका पुस्तक लेख, पत्रपत्रिका चार्ट, आदिको व्यवस्थित तरिकाले सङ्कलन गरिएको महत्वपूर्ण ज्ञानको केन्द्र हो । मानिसहरुले आफ्नो समयको उपयुक्त तरिकाले उपयोग गर्न यहाँका पुस्तकहरु पढ्ने गर्दछन् ।

पुस्तकालयले कल्पनालाई ऊर्जा दिने ऊर्जा भण्डार गर्दछ ।
–सिडनी शेल्डन

जीवन एउटा सिकाइ हो र शिक्षा जीवनभर निरन्तर चलिरहने प्रक्रिया हो । आजको विज्ञान प्रविधिको युगमा पुस्तकालय विद्या, ज्ञान प्रदान गर्नका लागि अत्यन्त महत्वपूर्ण छ । यसमा रहेका पुस्तकहरुको ज्ञानले संसार बदल्ने क्षमता बोकेका हुन्छ ।

विश्व पुस्तकालयको इतिहास हेर्दा यो धेरै नै पहिला सुरु भएको पाइन्छ । सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खवटामा चित्रकला शैलीमा लेख्ने गर्थे । पछि ताम्रपत्र, भोजपत्र, शिलालेख आदिको प्रचलन आयो । त्यस समयमा पुस्तकालय भनी नामकरण गरिएको थिएन तर भविष्यका लागि ती लेखहरु व्यवस्थित तरिकाले सङ्कलन गरिन्थ्यो । पछि पुस्तकालय भनी नामकरण गरियो र पुस्तकालयको क्रमबद्ध रुपमा विकास भयो । नेपालको सन्दर्भमा हेर्दा पुस्तकालयको इतिहास धेरै लामो नभएता पनि यसको व्यापकता बढी नै देखिन्छ । पहिला राजतन्त्रको समयमा पुस्तकालयको पहुँच उच्च तहका मानिसको मात्र रहन्थ्यो भने अहिले यसको विकास विस्तार भएको पाइन्छ ।

पुस्तकालय जीवन परिवर्तनको आधार हो । यसले मानिसलाई निष्ठावान्, इमान्दार र नैतिकवान् बनाउँछ । यसले समाजमा रहेका समस्याहरु समाधान गर्न, मानसिक जागरण गर्न, बौद्धिक विकास गर्न र मानिसमा सकरात्मक परिवर्तन ल्याउन उल्लेख्य योगदान पु¥याउँछ । पुस्तकालय बिना हाम्रो जीवनमा के नै छ ? विगत पुस्तकमा छ र भविष्य पनि । पुस्तकालय विमान, रेल र सडक हो । पुस्तक नै हाम्रो गन्तव्य र यात्रा हो । औपचारिक शिक्षालाई निरन्तर चलिरहने प्रक्रिया भनेझैँ पुस्तकालयमा पाइने ज्ञान÷शिक्षा पनि निरन्तर हुन्छ । यसले हामीलाई सद्मार्ग देखाउँछ र हाम्रो सर्वाङ्गीण विकासमा टेवा पुयाउँछ । त्यसैले त पुस्तकालय र पुस्तकलाई सबैभन्दा महत्वपूर्ण र तागतवर हतियार भनिन्छ ।

उदाहरणका लागि हामीले वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई लिन सक्छौं । उनी सानोमा पढाइमा कमजोर थिए तर विज्ञान र गणितमा रुचि राख्थे । उनले विद्यालय छाडी पुस्तकालयमा गएर विज्ञान र गणित अध्ययन गरे र अहिले हामीले उनलाई विश्वकै महान् वैज्ञानिक भनि चिन्छौँ । तसर्थ पुस्तकालयको शिक्षाको क्षेत्रमा महत्व छर्लङ्ग नै छ ।

पुस्तकालयको ज्ञानले उमेर, लिङग, जात धर्म केहि हेर्दैन । यसले हेर्छ त बस ज्ञानको भोकोलाई । ससाना बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि पुस्तकालय अत्यन्त महत्वपूर्ण शैक्षिक केन्द्र हो । यो निरन्तर चलिरहेको रेल जस्तै हो हामी कहाँबाट चढ्ने र कति ज्ञान लिएर कुन स्टेसनमा झर्ने भन्ने पाठकको हातमा छ । निरन्तर शिक्षाका लागि पुस्तकालय महत्वपूर्ण भन्दै गर्दा हामीले प्राचीन पुस्तकालय (ग्रन्थको सङ्ग्रह) र ई–पुस्तकालय (डिजिटल पुस्तकालय) लाई हेर्न सक्छौं । यसबाट पुस्तकालयको विकासक्रम निरन्तर चलिरहेर अहिलेको अवस्थासम्म आएको छर्लङ्ग हुन्छ ।

प्राचीन कालमा राजाहरुले आम जनतालाई पढ्दा दण्ड दिने चलन थियो । तर पनि केही व्यक्तिहरु पुस्तकालयमा स्वअध्ययन गर्थे र सचेतना फैलाउने कार्य गर्थे । त्यस्तो कठिन समयमा पनि त्यसरी ज्यानको प्रवाह नगरी पढ्नु भनेको शिक्षा र पुस्तकालय महत्वपूर्ण छ भन्नु होइन र ?

विद्यालयमा हामीले गुरु गुरुआमाद्धारा पुस्तकहरुद्धारा ज्ञान पाउँछौं । तर पुस्तकालय स्वअध्ययन गर्ने स्थान हो जहाँ हामीले विषयवस्तुलाई गहिरिएर बुझ्ने सिपको विकास गर्ने सुवर्ण अवसर प्राप्त गर्छौ । पुस्तकालयको मर्म बुझेर नेपालका विभिन्न ठाँउहरुमा पुस्तकालयहरु स्थापना गरिएका छन् । कसैले व्यक्तिगत रुपमा भने कसैले सबैले पढ्ने पाउनुपर्छ भन्ने धारणका साथ सामाजिक रुपमा पुस्तकालयको स्थापना गरेको पाइन्छ । तथापि गाउँमा भने पुस्तकालय विरलै देख्न सकिन्छ ।

यदि हामी सबैले निरन्तर शिक्षाका निम्ति पुस्तकालयको महत्व बुझ्यौँ भने हाम्रो समाज तथा राष्ट्रमा शैक्षिक विकासले गति लिन सक्दछ ।

पुस्तकालयको महत्व वर्णन गर्दै गर्दा हामीले यहीं बागलुङकै विद्यामन्दिर पुस्तकालयलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसले बागलुङमा ज्ञानको प्रचारप्रसार तथा संस्कृतिको संरक्षण गर्दै आएको छ । यसले शिक्षालाई कुनै सिमाभित्र नराखी बेफुर्सदी घरगृहणी, कार्य व्यस्तताका कारण पुस्तकालयसम्म जान नभ्याउने, फरक क्षमताका व्यक्ति, वृद्धवद्धा सबैमा ज्ञान छर्दै आइरहेको छ ।

हामीले विद्यालय, विश्वविद्यालयहरुमा पढेर डिग्री हासिल गरेर शिक्षाको तह सकौँला तर पुस्तकालयको ज्ञानको न कुनै तह हुन्छ न कुनै सीमा नै । हामीले पुस्तकालयको ज्ञान उपयोग गर्न कुनै समय, उमेर हेर्न पर्दैन । सदैव हाम्रा लागि पुस्तकालयको ढोका खुला रहन्छ । पुस्तकालय ज्ञान आर्जनको बहुमूल्य मोती हो ।

त्यस्तै प्राचीन समयमा चार दिवारभित्र मात्र सीमित रहने पुस्तकालयबाट निरन्तर प्रयासद्धारा आज पर्खालबिनाको डिजिटल लाइब्रेरीसम्म आइपुग्दा पुस्तकालयको परिभाषा नै परिवर्तन भएको पाइन्छ । प्राचीन समयको मानव सभ्यता तथा पुस्तकालयको अवधारणा र वर्तमान समयको मानव सभ्यता तथा पुस्तकालयको अवधारण हेर्दा पुस्तकालयको निरन्तरता प्रष्ट बुझिन्छ ।

अतः पुस्तकालय निरन्तर शिक्षाका लागि अत्यन्त महत्वपूर्ण छ । हामीले भावी पुस्ताका लागि शिक्षालाई निरन्तरता दिन पुस्तकालयको निर्माण, संरक्षण तथा संर्वद्धन गर्नुपर्दछ । सरकारको आस मात्र नगरी आफुले पनि प्रयास गर्नुपर्दछ । लडेर भए पनि शिक्षा हासिल गर्नुपर्दछ । पुस्तकालयको महत्वबारे जनचेतना फैलाउने कार्य, प्रचारप्रसार गर्ने गर्नुपर्दछ । प्रदेश सरकारले पनि यसमा योगदान दिनुपर्छ । पुस्तकालयको स्तरोन्नति गर्नुपर्दछ । पुस्तकालयले नैतिक शिक्षादेखि उद्योगधन्दाको शिक्षासम्म टेवा पुर्याउने हुनाले यसको निर्माण र प्रवद्र्धन गर्न अत्यावश्यक छ ।

‘लाभदायी हुन्छ पुस्तकालकयको हरेक क्षण
त्यसैले गरौं यस महत्वपूर्ण ज्ञानको स्रोतको संरक्षण ।’

(विद्यामन्दिरले १७ औं पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको निबन्ध लेखनमा प्रथम स्थान हासिल गरी गंगाप्रसाद स्मृति कोषबाट पुरस्कृत सुनार गणेश मावि बागलुङको कक्षा ९ मा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->