भक्तपुर इकु छे का शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आई टक्सारको काम र नुनको कारोबार गर्थे । हाल रहेको छहरा पढेरा (गौडी) खोल्छाको पूर्व भिर पहरा मुनि उनले हनुमानको मूर्ति ढुंगामा बनाउन लगाएका थिए । त्यस ठाउँमा एउटा पाटी पनि बनाएका थिए । हनुमान नाच बागलुङ बजारमा उनले प्रचलनमा ल्याएका हुन् । १०० वर्षभन्दा पहिले हनुमान नाचमा शिवशंकरका सन्तान पूर्णबहादुर श्रेष्ठ (नारायणचोकका देवीबहादुर श्रेष्ठका पिता) पुजारी थिए । उनी पछि शिवशंकरकै वंशजका कर्णबहादुर श्रेष्ठ भीमचोकका (नौलेको बा) पुजारी बने त्यसपछि उनको बंशजका भीमचोकको रत्नबहादुर श्रेष्ठ (लखने) उनी पछि उनका भाइ माथवर श्रेष्ठ, उनकै दाजुभाइ पर्ने सुल्डाँडाका मनकाजीका पिता, मनकाजीको दाइ लक्ष्मण र मनकाजी पनि हनुमान नाचको पुजारी बने । यसपालि उनै शिवशंकरको सन्तान मरेपीपलका बद्रीप्रसाद श्रेष्ठ हनुमान नाचको पुजारी भएका छन् । नौबिसे टोलका सनककुमार श्रेष्ठ (मलेपति) भन्दा पहिले हनुमान नाचका मृदंग बादक पूर्णबहादुर श्रेष्ठ भएका, त्यसपछि सनककुमार श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठ–भीमचोक (महेन्द्रप्रसाद श्रेष्ठको पिता), युवराज श्रेष्ठ, विक्रम भएको हाल अजय, भूदर्शन आदिले बजाउँछन् । झ्याली बजाउनेमा नयाँ बजारका फर्सी, नौबिसे टोलका सानु शाक्य, बुद्धचोकका लाज्जे, बाबुराम बज्राचार्य थिए । हाल विदुर शाक्य र प्रणिश आदी छन् । रिडीवाले गोपाल देउराली चोक, ऐ का कर्णबहादुर श्रेष्ठ (करुणा–विक्रमको बाजे), नरबहादुर श्रेष्ठ र विनोद कोबा–किनारा टोल, हरिबहादुर श्रेष्ठ–कम्पुटोल पहिले जमानाका ज्या माक्कोहरू हुन् ।
कजीहरूमा पदमबहादुर श्रेष्ठ–भीमचोक (धुव्र गुरुको बा), डाक्टर राम रामकुमार श्रेष्ठ माझकोट टोल, नारायणचोकका नारायणप्रसाद श्रेष्ठ पहिलेका मूल कजीहरू हुन् । हालका ईश्वर मलेपति छन् । अहिले भएको हनुमान पौवाको जग्गा शिवशंकरका वंशज पदमबहादुर श्रेष्ठको अंशमा परि उहाँको पत्नी पदमकुमारी श्रेष्ठबाट २०३७ सालतिर हनुमान पौवालाई प्रदान भएको हो । शिवशंकर श्रेष्ठको सन्तानको पाखो जग्गा हालको मिरमिरे कृषि सहकारी गौंडाकोटदेखि उत्तरपूर्व सुल्डाँडा जाने बाटोदेखि मुनि गौडाकोट जाने बाटोदेखि माथि हालको हनुमान पौवा भएको जग्गादेखि देउरालचोकहुँदै माजकोट टोलदेखि उत्तर र रातमाटादेखि दक्षिण, उत्तरपूर्व डाक्टर कृष्णबहादुर श्रेष्ठको पुरानो घरको पिछवाडसम्म थियो । शिवशंकरले ओगटेको उक्त जग्गा उनका बंशज पदमबहादुर श्रेष्ठको पिता बैदार भएको बेला दर्ता गरी भाई अंश लगाएका थिए । भोला जं १९९७ मा बितेको उनको नामबाट भोलाटोल नाम रहेका व्यक्ति, उनको बंशज बागजं, २००० सालमा बितेका हिरा भन्ने बम भारी शिवशंकरकै वंशजका मरेपिपलका ओमलाल श्रेष्ठ, दोर्नज रा.भ.–बबुरजंग, काशी प्रसाद श्रेष्ठ आफ्ना जमानाका हनुमान कलाकार हुन् ।
वि.सं. २०६१ सालमा हनुमान पौवा भवन निर्माण परियोजना बनाउँदा, ने. स. ७२४ वि.स. १६६१ कार्तिक औँसीको दिन भक्तपुर (भादगाउँ) का केशव उदासले ३३ श्लोकको रामायण गीत लेखेको कुरा उल्लेख छ । त्यहीं गीत हनुमान नाचमा भजनको रुपमा गाईन्छ । भादगाउँका राजा भूपतिन्द्र मल्लको ५५ झ्याले दरबारको मूल ढोका अगाडि एकातिर हनुमान र अर्कोतिर नृसिंहको मूर्ति स्थापित गरेको छ । ने.स. ८१७ मा ५५ झ्याले दरबारको मालती चोकमा भएको शिलालेखमा हनुमान र नृसिंहको पर्व पर्वमा हुने पूजाको लागि जग्गा राखी गुठीबाट पूजा सञ्चालन हुने व्यवस्था राजा भूपतिन्द्र मल्लबाट मिलाइएको उल्लेख छ । वि.स. १८२६ मार्ग १ गते भादगाउँ पृथ्वी नारायण शाहले कब्जा गरेपछि भादगाउँका राजा रणजित मल्ल उनका भित्रिनी पट्टिका छोरा अबधूत सिंहको साथमा काशीबास (बनारस) गएका थिए । वि.सं. १८४० मा राजकुमार अबधूत सिंहलाई पर्वतका राजा कीर्तिबम मल्लले बागलुङमा शरण दिएका थिए । त्यस समयमा अवधूत सिंहसँग भादगाउँका उनका विश्वास पात्र व्यक्तिहरू पनि पर्वत, बागलुङ आएका थिए । अबधूत सिंहको दरबार बागलुङ उपलाचौरमा थियो । वि.स. १८४३ आश्विन महिनामा गोर्खाली सेनाले पर्वत राज्य कब्जा गरेपछि कीर्तिबमसँगै अवधूत सिंह पनि भागेर गएका थिए । वि.स. १८४५ सालमा सरदार अम्मर सिंह थापा जितिएको पर्वत राज्यको व्यवस्था मिलाउन आएका थिए । पर्वत राज्यको राजधानी बेनीमा भएकोमा सुरक्षाको दृष्टिकोणले बेनीबाट बागलुङ (तत्कालीन बाग्लुंचौर) मा प्रशासकीय व्यवस्था सारिएको थियो । वि.स. १८९७ भन्दा अगाडि आठ हजार पर्वतको सदरमुकाम बागलुङ थियो । त्यस बखत बागलुङका टक्सारी जैनरसिंह प्रधान थिए । भोट मदेश गर्ने बाटोमा बागलुङ भएको र बागलुङमा अड्डा, टक्सार, कपु (सैनिक) स्थापित भएपछि खानीमा जागिरे एवं ठेकेदार भएर, टक्सारमा कामदार भएर, व्यापार व्यवसाय सञ्चालन गर्न उपत्यका खासगरी भादगाउँका नेवारहरू बागलुङमा आएका थिए । त्यो समय बागलुङ आर्थिक रुपले सम्पन्न थियो । त्यहीं समयमा भादगाउँबाट आएका शिवशंकर श्रेष्ठ (चौधरी) को प्रयत्नमा छहरा पँधेरामा हनुमानको प्रतिमा बनाई भादगाउँमा जस्तै हनुमानको पूजा गर्ने र नाच प्रदर्शन गर्ने प्रचलन बागलुङमा चलाएका हुन् ।
दर्शकहरूलाई सम्मोहनसमेत गर्नसक्ने यो मनोरम, उत्कृष्ट र उच्च संस्कृति कुनै एकल जातको मात्र नभएर बागलुङ जिल्लाकै ऐतिहासिक कलात्मक धरोहर हो ।
१८० तथा २०० वर्ष अगाडी बागलुङमा हनुमान नाचको मञ्चन भएको देखिन्छ । त्यस कुराको कुनै लिखित प्रमाण नभए पनि हनुमानको प्रतिमा पौवा भएको जग्गा र आजसम्म पुजारीको रुपमा काम गर्ने शिवशंकर श्रेष्ठका सन्तान भएको कुरामा कुनै विवाद छैन । नेवारी भाषामा लेखिएको रामायण गीत (भादगाउँका केशव उदासले लेखेको) भजन बागलुङमा हस्तलिखित रुपमा पाइनुबाट पनि यो नाचको साइनो रहेको देखिन्छ ।
मृदंगा र झ्यालीको तालमा, लठ्ठी (डण्डा) चलाउने नृत्यले शारीरिक सुगठनमा योगदान पुग्ने कुरामा विवाद छैन । १३ जोलीको सामूहिक नृत्यले कलाकारहरू बीच आपसी सम्बन्धको विकास भएर जान्छ । सात्विक आहार, निर्मल निश्चल मन र ब्रह्मचर्यले सकारात्मक सोच विकासमा सहयोग पुर्याउँछ । व्यक्तिमा कम्पन उत्पन्न गर्न सक्ने ताल (रिदमीक सर्कल )सांगीतिक नाच, ताल, सुर, पोशाक, हाउभाउ, एकाग्रताका दृष्टिहरूबाट उत्पन्न हुने मनोभाव अनुपम मनोरञ्जनको तरङ्गले भरिएको हुन्छ । दर्शकहरूलाई सम्मोहन समेत गर्न सक्ने यो मनोरम, उत्कृष्ट र उच्च संस्कृति कुनै एकल जातको मात्र नभएर हाम्रो जिल्लाकै ऐतिहासिक कलात्मक धरोहर हो । यसलाई प्रस्तुत गरेर हामी सबै गौरवान्वित हुन सक्छौं । स्वयम्सेवक कजीहरु र नाचको लागि पूजा प्रदान गर्ने सबै बागलुङबासीहरु यो सम्पदालाई टेवा पु¥याउने समुदाय हुन् ।
(देउरालीचोकका ८४ वर्षीय राजकुमार श्रेष्ठ र भोलाटोलका ९१ वर्षीय रामकुमार राजभण्डारी र कम्पुटोलका ९७ वर्षीय तेजलक्ष्मी श्रेष्ठसँगको कुराकानीको आधाररित )





