जोमसोम / मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग १ च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोकिएको प्रहरीले जानकारी दिएको छ। घटनामा आरु चनौटे-९ गोरखाका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय सञ्जय खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीका अनुसार काठमाडौंबाट अप्पर मुस्ताङको भ्रमणका लागि आउँदै गर्दा मोटरसाइकल चालक खड्काको कारसँग ठोकिएर मृत्यु भएको हो। दुर्घटनाबाट घाइते भएका खड्कालाई मुस्ताङ अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको बोगटीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिएको छ।





