बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भ्रुणहत्या रोकौँ

भ्रुणहत्या रोकौँ


  • Dhorpatan News
  • कार्तिक ११ २०८१, आइतबार

शारदीय पर्व दशैं सकिएको छ । नारी शक्तिलाई नमन गर्नु दशैंको विशेषता हो । देवीका विभिन्न रुप अनि उनैबाट सम्पादित कार्यहरुको वर्णनसँगै दशैं मनाइन्छ । नारीलाई यति उच्चतम् तहमा राखेर पर्व मनाउने संस्कार सायदै संसारमा छ । यति सुसंस्कृत संस्कार भएर पनि नेपालमा नारीहरुप्रतिको ज्यादति भने डरलाग्दो रहेको छ । चन्द्र समसेरले १९७७ सालतिर सतीप्रथा उन्मुलन गरे । नारीमाथि हुने क्रुर ज्यादति अन्त्यको लागि उनले जे गरे, त्यसको जति प्रशंसा गरेपनि थोरै हुन्छ ।सतीप्रथा उन्मुलन भए पनि नारीमाथिको प्रताडनाको श्रृंखला रोकिएको छैन । पछिल्लो समय त गर्भमै बालिका हत्या गर्ने डरलाग्दो रोग पो विकसित भएको छ ।

भ्रुणमा छोरा छ कि छोरी थाहा भएकै आधारमा छोरीको संसार टेक्ने बाटो नै छेकिएको छ । भ्रुणहत्याको यो डरलाग्दो डढेलोले भारत र नेपाललाई यसरी लपेट्दै लगेको छ कि, यहाँ अब कुनै पुरुषले विपरितलिङ्गी जीवनसाथी नै नपाउने हो कि भन्ने अवस्था आउने संभावना देखिएको छ । भारतको विकसित मानिने हरियाना राज्यले त यो नियति भोगिसकेको छ । तथ्याङ्क अनुसार त्यहाँ १५ देखि ४५ वर्ष उमेर समूहका करिब ३५ प्रतिशत पुरुषहरु अविवाहित रहेका छन् । नारीको संख्या निरन्तर खस्कँदै गएपछि नै यो अवस्था आएको हो । भ्रुणहत्याको श्रृंखला रोकिएको छैन । यसले कुनैदिन संसारमा नारी नै नहुने अवस्था त आउँदैन भन्ने चिन्ता बढाएको छ । गर्भस्थ शिशुको लिंग पहिचानपछि गरिने गर्भपतनले पछिल्ला केहीवर्षमा झण्डै १० करोडभन्दा बढी नानीहरुले संसार देख्न नपाएको अनुमान गरिएको छ । यो ग्राफ बढिरहेको छ । नेपाल यो रोगबाट अछुतो छैन । नानीहरुलाई गर्भमै तुहाउनेहरुमा शिक्षित परिवार नै संलग्न रहनु झन डरलाग्दो भएको छ ।

आखिर किन हुन्छ त नानीहरुको भ्रुणहत्या ? यसमा सामाजिक, सांस्कृतिक र आर्थिक पाटो महत्वपूर्ण देखिएको छ । हो, हिन्दुधर्मले नारीलाई शक्तिस्वरुपाको रुपमा अथ्र्याएको छ । शक्तिकी खानी देवीलाई नै मानेको छ । तथापि, फेरिएको वर्णव्यवस्था र सामाजिक संस्कारले नारीलाई भोग्यामा सीमित गरिदियो । उनीहरुको अधिकार सबै खोसियो । दासी बनाइयो । त्यसपछि ने नारीका दुर्दिन सूरु भए । छोरी पाउनु भनेको दुःख बेसाउनु हो भन्ने मान्यताले जरो गाड्यो । अर्कोतर्फ छोराले मात्रै आमाबुबालाई पाल्छ र छोरा नै सर्वेसर्वा हो भन्ने मानशितताले यसलाई भरथेग ग¥यो । छोरा नै पाए पनि त्यो छोरालाई जीवन जिउन तथा नातिनातिना खेलाउन अर्काको छोरी चाहिन्छ भन्ने सामान्य ज्ञान पनि बिर्सिइयो । यसले समस्या झन बिकराल बनायो । आर्थिक पाटो त झन महत्वपूर्ण देखियो । मधेशदेखि पहाडसम्म छोरीको बिहेमा दिनुपर्ने दहेजले आमाबुबालाई तर्सायो । छोरीको विहे गर्दा घरखेत नै बेच्नुपर्ने वा दहेज कम पाएको निहुँमा आफ्नी छोरीको मृत्युसम्म देख्नुपर्ने अवस्थामा छोरी नै नभए बेश भन्ने भावना पलाउन पुग्यो । त्यसपछि गर्भमै नानीहरुको हत्या हुन थाल्यो । कानूनमा भएका छिद्रहरु प्रयोग गर्दै छोरीको जन्मने अधिकारमाथि धावा बोलियो । यो उपक्रम जारी छ । यी र यस्ता प्रवृत्तिहरुलाई परास्त गर्दै महिलामाथिको विभेद अत्य गर्नु अपरिहार्य मात्रै हैन अत्यावश्यक भएको छ । महिलालाई जहाँ पुजिन्छ, त्यहीँ ईश्वरको बास हुन्छ भन्ने मान्यता स्थापित गर्न ढिला भइसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->