पोखरा/ गण्डकी प्रदेश सभामा सत्ता राजनीतिमा अनौठो संयोग बनेका राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसंगै उनको प्रदेश सभा सदस्यको पद पनि स्वतः गएको छ । अव उनी निर्वाचित भएको मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा उपनिर्वाचन हुने निश्चित भएको छ ।
सर्बोच्च अदालका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार गुरुङलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च (तत्कालिन पुनरावेदन) अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले गुरुङलाई ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद फैसला सुनाएकोमा सर्बोच्चले त्यसैलाई सदर गरेको हो । यो मुद्धामा उनी २०७५ पुसमा केही समय थुनामा समेत बसेका थिए । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्बोच्च अदालतले २०७५ पुस ६ मा धरौटी राखेर थुनामुक्तकालागि पत्र लेखेको थियो । त्यसपछि उनले जेलबाहिरै बसेर मुद्धा लड्दै आएका थिए ।
गुरुङ २०७४ र २०७९ को प्रदेश सभा निर्वाचनमा मनाङ ख बाट निर्वाचित भएर गण्डकी प्रदेशको ६ पटकसम्म मन्त्रीसमेत बनेका थिए । सर्बोच्चको मंगलबारको यो फैसलासंगै उनको प्रदेश सांसदको पद स्वतः गएको छ । अव उनी पक्राउ पर्नेछन् या आफै प्रहरीसमक्ष आत्मसमर्पण गर्नेछन् । गण्डकी प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको सांसदको पद स्वतः जाने बताए । संविधानको धारा १७८ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको व्यक्ति प्रदेश सभाको सदस्यको लागि योग्य हुने व्यवस्था छ । धारा १८० मा भने धारा १७८ बमोजिमको योग्यता नभएका वा नरहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था भएकाले गुरुङ अव सांसद नरहने पक्का भएको हो ।
यसैबीच दीपक मनाङेको सांसद पद गएपछि मनाङ ख प्रदेश सभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुनेछ । संविधानको धारा १७६ को उपधारा ८ बमोजिम प्रदेश सभाको कार्यकाल ६ महिना भन्दा बढी अवधि बाँकी हुँदै कुनै सदस्यको पद रिक्त भएमा त्यस्ता स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्थ गरिएको छ । मनाङे स्वतन्त्र सांसदको रुपमा प्रत्यक्ष निर्वाचित भएकाले अव उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
गुरुङको गुण्डा समुहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरवार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समुहले चक्रे मिलन समुहमाथि २०६१ मा आक्रमण गरेको थियो । आक्रमणमा चक्रे मिलनको हात छिनेको र पछि शिक्षण अस्पतालमा हात जोडिएको थियो । ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । तर जिल्ला अदालतले सामान्य कुटपिटमात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनाएको थियो । यो फैसला चित्त नबुझेपछि मुद्धा तत्कालिन पुनरावेदन अदालत पाटन पुगेको थियो । पाटनले मनाङेलाई ५ वर्षको जेल सजाय तोकेको थियो ।





