सन्दर्भ नेपालका हिमाली भेगको हो, जहाँ हिउ पर्न लागेपछि हरियो सागसब्जी पाउन मुस्किल हुन्छ । तराई, पहाडमा जस्तो टनेलको ताजा हरियो तरकारी नपाईने, कोल्ड स्टोरेजको अभाव र मौसम सफा नहुँदा जहाज र हिमपातको कारण कच्ची सडकमा गाडी नचल्ने भएपछि लामो समयसम्म आलु र फर्सी तरकारी खानुको बिकल्प छैन । न त हालसम्म देशको कृषी अनुसन्धान लगायतका कृषी सेवा प्रदायक निकायबाट स्थानीय मौसममा अनुकुल हुने तरकारी बालीको बिकास वा सेवा प्रबाहको सुबिधा पुगेको छ । देशका कुनाकाप्चासम्म छिमेकी देशका व्यबसायी मार्फत जुनसुकै सिजनमा पनि हरिय़ो तरकारी सप्लाई गर्ने प्रयास हुदा आफ्नै देशको एकठाँउबाट अर्को ठाँउमा पुग्न नसक्नु दुखद कुरा हो ।
कृषी प्रधान देशका नागरिकले कृषी पेशा, व्यवसाय र खाद्यान्नमा अभाव र समस्या व्यहोर्नु पर्ने अवस्थाको अन्त्य गर्न ढिला भैसकेको छ । बिभिन्न पन्चबर्षिय योजना, संघ, प्रदेश र स्थानीय सरकारबाट दिगो प्रभाव पार्ने गरी कठिन भौगोलिक अवस्था, यातायातको असुबिधा, प्रतिकुल मौसमका वाबजुध नागरिकले पैसा तिरेर भएपनि अत्याबस्यक सेवा प्राप्त नगरेसम्म बसाइ सराईको माहोल परिवर्तन संभव छैन भन्दा फरक नपर्ला ।
कृषी संबन्धी आयोजनाहरु संघीय राजधानी, प्रदेश राजधानी र सुगम जिल्ला सदरमुकाम केन्द्रीत गराउन सुबिधाभोगी बर्गका पदाधीकारी तथा कर्मचारीको प्रयास भैरहँदा दक्ष प्राबिधिक तथा कर्मचारी स्वत सुगम स्थानमा फाजिलमा रहने तर, दुर्गमका दर्बन्दी रिक्त हुदै गर्दा कृषी बिकासको लहर चलेको ५० औँ बर्षसम्म पनि परिवर्तनको आभास मिलेको छैन ।
लेखक टिका बहादुर कार्की
हिउँपर्नु अगाडी र बर्षात सुरु हुदै गर्दा दुर्गमका नागरिक र व्यवसायीले घरमा भण्डारण गर्न मिल्ने सुक्खा खाद्यान्न करिब ३-४ महिनाका लागी जोहो गरिसकेका हुन्छन् । तर, सरकारी तवरबाट आईरन, भिटामिन लगायतका पौष्टिक तत्व पाईने हरिया, ताजा तरकारी उत्पादन संभव नभए पनि गुणस्तर सुरक्षित राख्न व्यबस्थित कोल्ड स्टोरेजको व्यवस्थापन सरकारी निति तथा कार्यक्रम लिखित बाहेक भौतिक प्रगती हुन सकिरहेको छैन ।
हिमाली जिल्ला,चिसो ठॉउनै कोल्ड स्टोरेज हो भन्ने भाष्य प्रयोग गरेर कष्टकर जिवन बाँचेका नागरिकलाई न्युनतम सुबिधाबाट बन्चित गर्दै व्यवस्थापनबाट जिम्मेवारी पन्छाउनु गैर जिम्मेवारीपना हुन सक्छ । पहुँचका आधारमा स्याऊ जोनका नाममा एकादुई व्यक्तिलाई राज्यको सुबिधा दिएर श्रम गरिखाने मध्यम तथा निम्न बर्गलाई उपेक्षा गरिरहँदा आजपर्यन्त जस्तै समस्या यथावत रहन सक्छ । हिमाली क्षेत्रमा व्यबस्थित कोल्ड स्टोरेज हुने हो भने स्वादिस्ट स्याउ लगायतका फलफुल लामो समयसम्म सुरक्षित राखेर बेच्दा कृषकले लाभ लिन सक्छन् भने हिमपातको समयमा अन्यत्रबाट खरिद गरेर ल्याएको हरियो तरकारी पनि नियमित रुपमा प्रयोग गर्ने सुबिधा हुँदा फर्सी र आलुको बिकल्प समय सापेक्ष हुन सक्छ ।
परम्परादेखि हाम्रो भान्सा र एकादसी र बालाचतुर्दसी जस्ता जाडोयाममा पर्ने पर्वहरुमा उपवास/ब्रत बस्दा उसिनेर खाईने बहुगुणी खाद्यान्न तर्कारी फर्सीलाई हामीले नचिनेर खासै महत्व नदिईएको हो । नेपालका तराई, उपत्यका र पहाडी भूभागमा करिब २०३०-४० साल तिर आधुनिक बैज्ञानिक प्रबिधिबाट तरकारी खेतीको सुरुवात नहुँदासम्म र हिमाली भेगमा हालसम्म पनि फर्सीको आवस्यकता र महत्व कमैले बुझेका छन् । सन्तुलित खानाका लागि आलु र फर्सीको तरकारीलाई हाम्रो जीवनसंग गाँसेर लैजानै पर्दछ । नेपाली भूगोलमा यसको उत्पादन कृषकका लागि सहज र खानाका लागि स्वस्थकर अर्गानिक हुन्छ । यसका महत्वलाई यसरी नै बुझ्नु पर्दछ ।





