काठमाडौं/आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।
दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थियो ।यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् ।
चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित यूएई शीर्ष स्थानमा छ । पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।
डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ ।





