पोखरा/आगामी शनिबार पोखरामा हुने तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले सहभागिता जनाएका छन् ।
पर्यटकीय राजधानी राजधानीमा आयोजना हुने दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले सुनाए । पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।
पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित दौड आयोजना गरिएको हो । विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीनहजार रुपैयाँ प्राप्त गर्ने बरालले बताए । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीनहजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले तालवारी लेकसाइड, लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा पर्वतीय दौडले महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले प्रतियोगिताले उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन सहयोग पुग्ने उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन वडा कार्यालयलेसमेत अपनत्व लिएको बताए । वडा अध्यक्ष बरालले पोखरा–२२ मा निर्माण भइरहेका पदमार्गले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे । साथै उनले उक्त दौडलाई वडाले आफ्नो पुँंजिको रुपमा लिने सुनाए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताए । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने उनले घोषणा गरे ।





