पोखरा/भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई क्यान ११ ले दोस्रो तथा सिरिजको अन्तिम खेलमा १०४ रनले हराएको छ । नेपाल भ्रमणमा रहेको भुटानी टोलीलाई शुक्रबार क्यान ११ ले फराकिलो रन अन्तरले हराएको हो ।
१७७ रनको विजयी लक्ष्य पाएको भुटान १७ ओभर ३ बलमा ७२ रन बनाउँदै अलआउट हुन पुग्यो । भुटानका ओपनर नाम्गे थिङलेले १३ रन जोडे । सोनम छोप्लेले १७ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्धतमा १५ बनाउँदै आउट भए । टासी फुन्तोसले १८ बलमा २ चौकासहित १५ रन जोडे । यस्तै आनन्द मोन्गरले १२ बलमा २ छक्का प्रहार गर्दै १५ रन जोडे पनि जितका लागि पर्याप्त रहेन । तेन्जिङ रब्गे, नाम्गे छोज्ये, गकुलकुमार घले र कर्मा दोर्जी शुन्यमै आउट भए । रन्जुङ मिक्यो दोर्जी १, छिरिङ तासी ६ रनमा आउट भए भने सोनम एसहे २ रनमा अविजित रहे ।
क्यान ११ का लागि विपिन शर्माले ४ ओभरमा ७ रन खर्चेर सार्वधिक ५ विकेट लिए । यस्तै आकाश चन्दले २ तथा रशिद खान, प्रकाश जोश र विपिन खत्रीले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यान ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाउन सफल रह्यो । ओपनर मयक यादवले २६ र अर्का ओपनर तिर्थराज दासले ५१ रनको अर्धशतकीय पारी खेले । यादवले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दा दासले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । वंश क्षेत्री ४, दिपक प्रसाद डुम्रे शुन्यमा आउट भए । सिब्रिन श्रेष्ठले १९, रसिद खानले २४ रनको योगदान दिए । प्रकाश जैशी ४ रनमा आउट हुँदा विपिन खत्रीले ३८ रनको अविजित पारी खेले । खत्रीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे भने युवराज खत्री १ रनमा अविजित रहे ।
भुटानका लागि आनन्द मोन्गरले ३, गकुल कुमार घलेले २ तथा सोनम एसहे र नाम्गे थिङले ले समान १÷१ विकेट लिए ।
यहि असोज १७ देखि मलेसियामा हुने टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि भुटानी टोली नेपाल आएको थियो । चार दिनसम्म पोखरामा चलेको सिरिजमा भुटानले चारै खेलमा हार व्यहारेको हो । सिरिजमा भुटानले घरेलु टोली गण्डकी प्रदेशसंग २ तथा क्यान ११ संग २ खेल खेलेको थियो ।





