शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जलकुम्भी: उपयोगीता, समस्या र समाधान  

जलकुम्भी: उपयोगीता, समस्या र समाधान  


  • डा. अनिल सुबेदी
  • कार्तिक २९ २०८१, बिहिबार

पाेखरा /  पर्यटकीय नगरी पोखराको फेवातालमा रहेको जलकुम्भीलाई ताल कुरूप बनाउने झारको रुपमा एक ठुलै समस्या मानेर वर्षौंदेखि पोखरा महानगरपालिका लगायत विभिन्न संघ संस्था, नागरिक समाज तथा सरोकारवालाहरूले उक्त झारलाई तालबाट निकाल्दै आएका छन् I यसरी फेवातालको  सरसफाई गर्ने अभियान चलाईए पनि यो समस्या कायमै रहेको छ I तर जलकुम्भीको फाईदा र बेफाईदा बारे तथ्यपरक जानकारी हुनु र यसको उचित समाधानको उपाय के हुनसक्छ भन्ने जान्न जरुरी छ ।  यहि बिषयमा यस लेखमा जलकुम्भीका बारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

 जलकुम्भी बनस्पति:

बेलायतको क्यु स्थित रोयल बोटानिकल गार्डन्सको एक प्रतिबेदनका अनुसार विश्वमा हाल ४१६ थरि बनस्पतिका परिवार छन् जस अन्तर्गत करिब ३६९,००० जातीका फूल फूल्ने बोटबिरुवा छन् । ती मध्ये जलकुम्भी एक हो । यो वनस्पति ‘पिचारेलविड’ परिवार (Picharelweed family) मा पर्दछ । यसका विभिन्न थरि छन् । पोखरामा पाईने जलकुम्भी ‘आईछोर्निया क्र्यासिपेस’ (Eichhornia crassipes) जातीको हो भन्ने बुझिन्छ । यो जलकुम्भी पानीमा तैरने एक फूल फूल्ने बनस्पति हो । यसको उत्पत्ति दक्षिण अमेरीकी देश ब्राजिल अन्तर्गत पर्ने उष्ण जलबायु भएको अमेजोन क्षेत्रमा भएकोले यसलाई त्यहाँको रैथाने बनस्पति मानिन्छ । यसको फूल बैजनी, हल्का निलो र खैरो खरानी जस्तो हुन्छ र यो निकै सुन्दर हुने हुँदा फूलका पारखीहरुले यो फूल निकै मन पराउछन् । फूलको त्यहि सुन्दरताका कारण बगैंचाको पोखरीमा लगाउन विश्वको अन्य देशहरुमा यो बनस्पति बिस्तारै फैलदै गयो । यो फैलने क्रममा शुरुमा इजिप्टमा सन् १८७० को दशकमा, संयुक्त राज्य अमेरिकामा सन् १८८० को दशकमा, अष्ट्रेलिया र एशियामा सन् १८९० को दशकमा, चीन र प्याशिफिक क्षेत्रमा सन् १९०० को दशकमा, दक्षिणी अफ्रिकीमा सन् १९१० को दशकमा, पूर्बी अफ्रिकिमा सन् १९३० को दशकमा र पश्चिमी अफ्रिकामा सन् १९७० को दशकमा फैलदै गएको बिभिन्न आलेखमा पाईन्छन् । नेपाल र बिशेष गरी पोखरामा यो बनस्पति कहिले र कसरी भित्रिएको हो भन्ने बारे कुनै आधिकारिक जानकारी नभए तापनि सन् १९६० र १९७० को दशकमा कुनै बगैंचाको पोखरीमा फूलको रूपमा भित्रिएको हुन सक्ने अनुमान गरिन्छ । कसैले फिरन्ते चराहरू मार्फत यसको बीउ ल्याइएको मान्छन् भने कसैले १९६० को दशकमा पोखरामा हिप्पिहरू मार्फत आएको हुनसक्ने अनुमान गर्दछन् ।

जलकुम्भी वनस्पति पानीको सतह भन्दा करिब १ मिटर माथि सम्म बढ्न सक्छ । यसको जरा पनि पानीभित्र लामै हुन सक्छ । पानीको गहिराई कम भएमा कहिले काहीं जरा पानी मुनी जमिनमा समेत गाडीन सक्छ । यसको बीउ प्रशस्त मात्रामा फल्छ र करिब ३० बर्ष सम्म जीवित रहन्छ । तर जलकुम्भीको उत्पादन र वृद्धि बीउ भन्दा बढी वानस्पतिक प्रजनन् प्रणाली (Vegetative Reproduction) द्वारा हुन्छ । वानस्पतिक प्रजनन् मा मुख्यतः मूल बोटबाट छाउरा बेर्ना उत्पादन हुन्छन् र यिनैबाट तिब्र रूपमा बढ्दै र फैलदै जान्छन् । बिभिन्न अध्ययन अनुसार यो बनस्पति एक हप्तामा नै दोब्बर संख्यामा वृद्धि हुँदै हुन्छ । तेज हावाका कारण पानीको बहाब तिब्र हुन गएमा यसका छाउराहरु टुक्रिएर ताल/पोखरीको बिभिन्न भागमा बगेर फैलन्छन् ।

जलकुम्भी उपयोगी बनस्पति हुनुको साथसाथै एक समस्याग्रस्त झार पनि हो । अब यसका यी दुवै पक्ष बारे चर्चा गरौँ ।

उपयोगीता:

जलकुम्भी एक उपयोगी बनस्पतिको रुपमा रहेको छ। बगैंचाको पोखरीमा जलकुम्भीको फूल सुन्दर देखिने त छंदै छ तर सजावटको निम्ति कट फ्लावरको रुपमा समेत यसको प्रयोग हुने गर्छ । यसबाहेक बिभिन्न देशमा यसबाट बिभिन्न प्रकारका सामाग्री बनाउने गरेको पाईन्छ । यसबाट कागज, फाईबर बोर्ड, रस्सी/डोरी, बास्केट/टोकरी, ब्रिकेट, बायोग्यास उत्पादन, पानीको शुद्धिकरण, पशु आहार, कम्पोस्ट मल, माछाको आहार (अन्य आहार संग मिसाएर) आदि बनाउने गरेको पाईन्छ । यसलाई मानिसको लागि सम्भावित खाद्य र औषधिको कच्चा पदार्थको श्रोतकोरुपमा पनि लिन सकिने बैज्ञानिकहरु बताउछन् ।

कागज:

बंगलादेश, केन्या तथा अन्य केहि देशमा यसबाट कागज बनाईने गरिएको छ । तर यसको मात्रै कागज बन्न नसक्ने हुँदा यसको रेशालाई जुट र प्रयोगमा ल्याई सकिएको फ्याकिने कागजसंग ब्लिचिंग पाउडर, क्याल्सियम कार्बोनेट र सोडियम कार्बोनेट मिसईने गरिन्छ । यसरी तयार गरिएको कागजबाट अन्य बिभिन्न कागजजन्य सामाग्री बनाईने गरिन्छ । यसबाट पातलो कागज बनाएर सिगार (सिगरेट) लाई बेर्ने गरीने पनि बताईन्छ ।

डोरी/रस्सी:

बंगलादेश, भारत, थाईल्याण्ड, इन्डोनेशिया र युगान्डामा जलकुम्भीको डाँठबाट रेशा निकाली सुकाएर डोरी/रस्सी बनाईन्छ । डोरी/रस्सी नकुहियोस् भन्नाका लागि तयारी डोरीलाई सोडियम मेटाबाईसल्फेटमा उपचार गरिन्छ । जलकुम्भीको रेशा राम्रो संग सुकाएर त्यसबाट टोक्री, चप्पल, सजावटका सामाग्री समेत तयार गरी बिक्री गरिन्छन् ।

धागो, कपडा उद्ध्योग र फेशन कपडामा प्रयोग:

आर्लिन र ओमेर्गाको सन् २००९ को एक लेख अनुसार फिलिपिन्स टेक्स्टायल रिसर्च इन्स्टिच्युटको अनुसन्धानको आधारमा जलकुम्भीको धागोलाई अन्य श्रोतको धागोसंग मिसाई पर्दा, टेबलपोस्ट, नेपकिन्स, बिस्तराको च्यादर र सिरानीको खोल आदि बनाउने गरिएको छ ।

सन् २०१० को मे महिनामा प्रकाशित ‘टेक्सटायल टुडे’ नामक पत्रिकाको एक लेखका अनुसार फिलिपिन्सको दुई बेग्लाबेग्लै फेशन डिजायन संस्था – एलेक्स ब्युना र रोमेल डेल भ्यालेको आपसी सहकार्यमा १८ सेप्टेम्बर २००९ मा भएको फेशन डिजायनको प्रदर्शनमा जलकुम्भी प्रयोग गरी विश्व मै पहिलो पटक ३० प्रकारका ड्रेस बनाई महिला मोडेलहरु मार्फत प्रदर्शन गरिएका थिए । “जलकुम्भीग्रस्त तालतलैया क्षेत्रका बिपन्नबर्गका बासिन्दाको आयआर्जन र बाताबरणमैत्री प्राकृतिक श्रोतको दिगो उपयोग” भन्ने उद्देश्य राखी उक्त कपडाको फेशन डिजायन प्रदर्शन गरिएको बताईएको थियो । सोहि लेखमा उल्लेख गरिए अनुसार जलकुम्भीको २० देखि ३५ प्रतिशत धागो अन्य श्रोतको धागोसंग मिसाएर पोलिस्टर कपडामा पनि प्रयोग गर्ने गरिन्छ ।

ब्रिकेट:

जलकुम्भीलाई राम्रोसंग सुकाएर त्यसबाट ब्रिकेट (आगो बाल्ने, खाना पकाउने कोईला रुपी  इन्धन) बनाउन सकिने कुरा केन्यामा गरिएको एक अनुसन्धानको नतिजाले जनाएको छ ।

बायोग्यास उत्पादन:

जलकुम्भीलाई पशु र मानब मलमुत्रसंग मिसाएर राम्रो बायोग्यास उत्पादन गर्न सकिने जानकारी बंगलादेश र भारतमा गरिएका अनुसन्धानले देखाएको छ । तर जलकुम्भीमा अत्यधिकरुप पानीको मात्रा हुने हुँदा राम्रोसंग सुकाएर प्रयोगमा ल्याउनु पर्ने हुन्छ ।

पशुआहार:

चीन, मलेशिया, इन्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड आदि देशका केहि क्षेत्रमा जलकुम्भीलाई टुक्राएर भुस, फ्याकिंएका तरकारी र अन्य झारपातसंग मिसाएर टुक्रा बनाई बंगुर, कुखुरा र हाँसलाई खुवाउने गरिएको बिभिन्न प्रतिबेदनमा उल्लेख गरिएको पाईन्छ । चीनमा जलकुम्भीलाई टुक्र्याएर धानको भुस, फ्याकिएको तरकारी, नून संग मिसाएर बंगुरलाई खुवाईन्छ । केहि देशमा क्याट जातका माछाको भुराहरुको शिघ्र वृद्धि गराउनका लागि जलकुम्भीलाई सुकाएर अन्य आहारसंग मिसाई माछाको आहारको रुपमा तयार गरी खुवाउने पनि गरिन्छ । यो तिलापिया जातको माछाको लागि एक राम्रो आहार मानिन्छ । तर यसमा धेरै पानीको मात्रा र खनिजतत्व हुने भएकोले यो सबै किसिमका पशुलाई खुवाउन उपयूक्त हुँदैन ।

कम्पोष्ट र हरियो मल:

जलकुम्भीलाई राम्रोसंग सुकाएर माटो, खरानी, गोबर र अन्य झारपातमा मिसाएर कुहाई कम्पोष्ट मल बनाउन सकिन्छ ।  श्रीलंकामा यस प्रकारको कम्पोष्ट मल बजारमा बिक्री गरिएको पाईन्छ । त्यस्तै यसलाई खेतबारीमा हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ तर खेतबारीमा हाले पछि राम्रोसंग जोती माटोमा मिलाउनु पर्छ ।

जलशुद्धिकरण:

खानेपानी, ढल निकासबाट निस्कने पानी तथा उद्द्योग कलकारखानाबाट निस्कने रसायनयुक्त फोहर र प्रदुषित पानी शुद्धिकरण गर्न जलकुम्भी एक प्रभावकारी बनस्पति मानिन्छ । जलकुम्भीको जराले पानीमा रहेको बिषालु, प्रदुषणयुक्त तत्व (जस्तै – पारो, सीसा धातु, आर्सनिक, स्ट्रोंनटियम-९० तत्व तथा क्यान्सरजन्य तत्व) सोस्दछ र पानी शुद्धिकरण गर्न मदत गर्दछ । श्रीलंकामा कपडा उद्योगबाट निस्किने रसायनयुक्त पानीलाई सफा गर्न जलकुम्भीको प्रयोग गर्ने गरिएको एक प्रतिबेदनमा उल्लेख गरिएको छ । सन् २००७ मा प्रकाशित एक शोधपत्र अनुसार जलकुम्भीले पानीबाट ६० देखि ८० प्रतिशत सम्म नाईट्रोजन र करिब ७० प्रतिशत सम्म फोस्फोरस सोसेर हटाउंछ ।

खाद्यबस्तु र औषधिकोरुपमा प्रयोग:    

जलकुम्भीको पात, फूल र डाँठमा बिभिन्न पौष्टिकतत्व रहेका हुन्छन् । यसको पातमा भिटामिन ए, बि-१, बि-२ र बिटाक्यारोटिन हुन्छ । नाईजेरियाका अनुसन्धानकर्ता ओयेयेमी र क्रिस सुबोरको अगष्ट २०१६ मा इजिप्सियन जर्नल अफ अक्वाटिक रिसर्चमा प्रकाशित शोधपत्रका अनुसार जलकुम्भीमा प्रसस्त तत्वहरु रहेका छन् जो मानिस र पशुको लागि खाद्य बस्तु र औषधिको रुपमा उपयोगी हुन्छन् । यसमा प्रोटिन (५६%), कार्बोहाईड्रेड (३३.६%), चिल्लो पदार्थ (४%) र बाँकी अन्य तत्व रहेका हुन्छन् । यसमा २० मध्ये १७ वटा एमिनो एसिड (प्रोटिन तत्व) पाईएको छ । यसमा गह्रौं धातुको केहि मात्रा रहे तापनि यसबाट नकारात्मक असर भने नपर्ने बताईन्छ । इन्डोनेशियाको जाभा, ताईवान र फिलिपिन्समा जलकुम्भीको पात, फूल र डाँठ तरकारीको रुपमा प्रयोग गरिन्छ, थाईल्याण्डमा यसको कलिलो डाँठ र पातलाई सूपमा हालेर खाने गरिन्छ ।

यो औषधिको रुपमा पनि प्रयोग हुन् सक्ने बताईन्छ । भारतको हर्बलिस्ट नामक संस्थाका अनुसार यसको रस आलो घाउमा लगाएको खण्डमा घाउलाई बड्न दिंदैन र निको हुन सहयोग गर्छ । यसको रसायन तत्वबाट क्यान्सर र अन्य रोगको औषधि हुन् सक्ने सम्भाबना रहेको बैज्ञानिकहरु बताउंछन् । सन् २०१५ मा ओक्टा जर्नल अफ इन्भाईरोनमेन्ट रिसर्चमा प्रकाशित एक शोधपत्रका अनुसार जलकुम्भीबाट निकालिएको मेथानोल रसायनको प्रशोधन गरी सो को ‘हे ला’ (He La) नामक क्यान्सरको कोशिका (बिशेष गरी महिलाको पाठेघरको क्यान्सर) बिरुद्ध प्रयोग गर्दा केहि हद सम्म प्रभावकारी उपचार हुन सक्ने देखाएको जनाएको छ ।

भारतमा जलकुम्भीको रसलाई नून र एक प्रकारको टिमुरको धुलोसंग मिलाई घांटीको गलगाँडको उपचार गरिने बताईन्छ । मलेशियाको कडाह भन्ने ठाउँमा घोडाको छालामा समस्या हुँदा जलकुम्भीको फुलले उपचार गर्ने गरिएको विकिपिडियामा जनाईएको छ । यी बाहेक जलकुम्भीमा रहेको तत्वहरुको प्रयोग द्वारा मानिस तथा पशुको बिभिन्न रोगको उपचार गर्न सकिने सम्भाबना बारे विश्वभर बिभिन्न अनुसन्धानहरू भैराखेका छन् ।

जलकुम्भीबाट उत्पन्न हुने समस्या:

माथि उल्लेखित फाईदाहरु हुँदाहुँदै पनि जलकुम्भी विश्वभर एक ठुलो समस्याग्रस्त झारको रुपमा रहेको छ । यसको प्रजनन् अत्यन्तै तिब्र गतिमा हुन्छ । प्रत्येक हप्ता दोब्बरको संख्यामा वृद्धि हुँदै जान्छ । अफ्रिकाको कंगोमा गरिएको एक अनुसन्धानले देखाए अनुसार दुईवटा जलकुम्भी बेर्नाबाट चार महिनामा १,२०० वटा छाउरा बिरुवा उत्पादन भएको पाईयो । तौलको हिसाबले एक बर्षमा प्रति हेक्टर १८,००० मेट्रिक टन ताजा वजन हुन सक्ने पनि पाईयो ।

  • यसरी अत्यन्तै तिब्र गतिमा वृद्धि हुनुमा यसको जातीय प्रजनन् गुणको साथै पोषण तत्वहरु, बिशेष गरी नाईट्रोजन र फोस्फोरसको निकै ठुलो भूमिका रहेको हुन्छ । तालतलैया वरिपरी गरिने खेतीमा बिभिन्न नाईट्रोजन र फोस्फोरस युक्त मलहरु प्रयोग गरिंदा ती तत्वहरु रसाएर, पहिरो जाँदा र पानीको भल संगै माटो बगेर गई पानीमा मिसिंदा र ढलबाट निस्किने फोहरबाट पानीमा पोषक तत्वहरुको मात्रा मिसिएर जलकुम्भीलाई मलजल हुन्छ । यसबाट जलकुम्भीको तिब्र वृद्धि हुन्छ । फेवाताल लगायत पोखरा उपत्यकाका तालतलैया, बिशेष गरी फेवाताल वरिपरी पनि रासायनिक मलको प्रयोग, खेतबारीको माटो सहितको भल र ढलको पानी पस्ने भएकाले जलकुम्भीको बृद्धिमा मलजल भई समस्या उत्पन्न भएका हुन् ।
  • यसको अत्यधिक वृद्धिका कारण पानीमा बाक्लो चकटीको रुपमा रहने हुनाले यसले पानीमा अक्सिजनको मात्रा घटाउँछ, सुर्यको प्रकाश पानी भित्र छिर्न दिंदैन, जल पर्याबरणमा असन्तुलन पैदा गर्छ ।
  • माछा तथा अन्य जलचरमा असर गर्छ, माछाको उत्पादनमा ह्रास आउँछ, जल बिहार/यात्रामा बाधा पुर्याउँछ, जल तथा थलका जैविक बिबिधतामा ह्रास ल्याउँछ ।
  • जलचर र फाईदाजनक जीवाणुको आहारको लागि प्ल्यांकटन (Plankton) एक प्रमुख श्रोत हो I तर जलकुम्भीका कारण सूर्यको प्रकाश र अक्सिजनको अभाबले पानीमा प्ल्यांकटनको उत्पादन घटाउँछ र जलचर तथा अन्य जीवाणु मर्ने गर्छन् ।
  • जलकुम्भीले तिब्र रुपमा पानी बाष्पिकरण गराउँछ र ताल तलैयामा पानीको मात्रा क्रमिक रुपमा घट्दै जाने बिभिन्न अनुसन्धानले देखाएका छन् ।
  • जलकुम्भीमा लामखुट्टे तथा अन्य रोग सार्ने किटाणुको वृद्धि हुने हुँदा तिनबाट बिभिन्न रोगहरु सर्ने सम्भाबना रहन्छ ।
  • जलकुम्भीका कारण पर्यटकीय क्षेत्र (पोखरा जस्तै) का तालतलैया कुरूप बन्छन् र पर्यटन व्यवसायमा ठुलो नकारात्मक असर पर्दछ ।

जलकुम्भी समस्याको समाधान:

पोखराको फेवाताल बाहेक बेगनासताल र अन्य तालतलैयामा समेत यो झार देखा पर्ने क्रममा छ । यदि समयमै जलकुम्भीको नियन्त्रण गर्न सकिएन भने यसले फेवातालमा जस्तै पोखराका तालतलैयामा पनि बृहदरूपमा फैलिएर ठुलै समस्या ल्याउनेछ I त्यसैले यसको समाधानको लागि प्रभाबकारी कार्य गर्नु अत्यन्तै जरुरी भै सकेको छ ।

जलकुम्भी निर्मूल गर्न असम्भब नभए पनि अत्यन्तै गाह्रो र खर्चिलो हुन्छ । तर यसको वृद्धि र फैलावटमा प्रभावकारी नियन्त्रण गर्न सकिन्छ । हाल विश्वमा तीन प्रमुख उपायहरु अबलम्बन गरिएको पाईन्छन् । ती हुन्: (क) भौतिक कार्यबाट नियन्त्रण, (ख) रासायनिक प्रयोगबाट नियन्त्रण, र (ग) जैविक बिधिबाट नियन्त्रण । आम प्रयोगमा नलिईएको तर प्रभावकारी बैकल्पिक उपायको रुपमा पोषण तत्वको ब्यबस्थापन पनि चौंथो उपायका रुपमा रहेको छ ।

  • भौतिक कार्यबाट जलकुम्भी हटाई नियन्त्रण:

वर्षौदेखि पोखराको फेवातालमा बृहद सरसफाई कार्य गरिए जस्तै यस उपायले जलकुम्भीलाई तालतलैयाबाट जनश्रम, बिभिन्न प्रकारका मासिन प्रयोग गरी हटाईने गरिन्छ । तर यसरी निकालिएको जलकुम्भीको थुप्रोलाई तालको किनारमा नै थुपारी राख्नु हुँदैन किनकि त्यस थुप्रोबाट जलकुम्भीका टुक्राटाक्री पुनः पानीमा बगेर जाने प्रचुर सम्भाबना रहन्छ । जलकुम्भी निकाल्ने क्रममा पनि डुंगामा अड्केर वा टुक्राटाक्री राम्रो संग निकाल्न नसकेर पानीमा रहन गएमा त्यस्ता टुक्राटाक्रीबाट पुनः पलाएर तिब्र गतिले वृद्धि हुन्छ । त्यसैले पानीबाट निकाली सके पछि पनि छुटेका टुक्रा छ कि छैनन् भनी अनुगमन गरिनु पर्छ र छुटेको भए ती सबै निकालिनु पर्छ । यो उपाय एक खर्चिलो र बडी मेहनत र परिश्रम गर्नु पर्ने उपाय हो । साथै यो छोटो अवधिका लागि प्रभावकारी देखिएता पनि दिर्घकालिन उपाय भने मानिंदैन ।

फेवातालमा बिभिन्न संस्थाले भौतिकरुपमा तालबाट जलकुम्भी सफा गर्ने कार्य दुई दशक भन्दा अघिदेखि नै गर्दै आएको हो, धेरै खर्च पनि भैरहेको छ । तर अझै पनि जलकुम्भीको  प्रभाबकारी नियन्त्रण भएको छैन । जलकुम्भी झार हटाउन पोखरा महानगरपालिका, बिभिन्न संघ संस्था, सुरक्षा निकाय र सरोकारवालाहरुको बृहद सक्रियता रहेको छ । यसबाट अधिकांश जलकुम्भी निकालिएता पनि पूर्णरुपमा हटाउन सकिएको छैन ।  बिगतका बर्षमा फेवातालबाट एक महिनाको अबधिमा करिब २०० मेट्रिक टन जलकुम्भी हटाईएको समाचार प्रकाशित भएको थियो ।

यसरी भौतिक नियन्त्रण कार्यबाट जलकुम्भी हटाईनु छोटो समयको लागि प्रभाबकारी देखिए तापनि यस तरिकामा केहि कमी कमजोरी देखिन्छन् । यो तरिका धेरै लामो अबधि सम्म संचालन गरी रहनु पर्छ, बडी खर्चिलो हुन्छ, र मुख्यत: यो हटाउने क्रममा पानीमा यसको कुनै सानो टुक्राटाक्री पनि रहन गएमा त्यसबाट जलकुम्भी पलायर तिब्ररुपमा वृद्धि हुन्छ र फेरी समस्या बल्झिन्छ । त्यसैले जलकुम्भीलाई निकाल्न निम्न सुझाब गरिन्छ:

  • सर सफाईको लागि पूर्णकालिन श्रमिकहरुको ब्यबस्था गर्ने
  • तालमा आश्रित जनसमुदाय, बिशेष गरी जलारी र डुंगा खियाउने श्रमिक/ब्यबसायीहरु, लाई परिचालन गरी पारिश्रमिकको ब्यबस्था वा जलकुम्भी निकालिएको वजनको आधारमा तोकिएको मूल्य दिने (अग्रिम मूल्य निर्धारण गरे पछि)
  • पानीबाट जलकुम्भी निकाल्ने क्रममा कुनै टुक्रा, जरा वा पात छुटेको छ छैन सो को अनुगमन गर्ने र छुटेको देखिएमा पुनः सफा गर्ने
  • पानी बाहिर निकालिएका जलकुम्भीलाई तालको किनारबाट कम्तिमा १ किलोमिटर टाढा लगेर थुपार्ने र सुके पछि पूर्णरुप डढाउने । यसको खरानी मलको रुपमा प्रयोग गर्न सकिन्छ I
  • रासायनिक प्रयोगबाट नियन्त्रण:

केहि प्रकारका झारनाशक रासायनिक औषधीको प्रयोग द्वारा जलकुम्भीको नियन्त्रण गर्ने उपाय प्रभावकारी मानिन्छ । डीक्वेट, ग्ल्याईसिफेट र २,४ डी नामक झारनाशक औषधीको प्रयोगले जलकुम्भीलाई बिस्तारै मार्दछ । तर यसको प्रगोगले जलकुम्भी मरे पछि झारको थुप्रोलाई पानीबाट बाहिर निकाल्नु पर्दछ । अन्यथा यो पानीमै रही रहेमा कुहिएर पानीको अक्सिजनमा ह्रास आउने र जलचर र उपयोगी जलझारमा असर पुर्याउँछ ।

रासायामिक झारनाशक औषधीको प्रयोग एक प्रभाबकारी उपाय भए तापनि दिर्घकालिन उपाय होइन । यो बारम्बार छरी रहनु पर्छ र झारमा मात्रै पर्ने गरी छर्नु पर्छ । यसको औषधी छर्ने दक्ष व्यक्ति हुनु पर्दछ ।

झारनाशक औषधिको प्रयोग गरी जलकुम्भीको छिटो र प्रभावकारी नियन्त्रण गर्नको सकिने भए तापनि रासायनिक औषधीले नकारात्मक बाताबरणीय प्रभाब पर्ने, मानिस र जलचरमा नकारात्मक असर पर्न सक्ने हुँदा यसको प्रयोग सुरक्षित होइन । त्यसैले झारनाशक औषधिको प्रयोग गरिनु उपयुक्त हुँदैन ।

  • कीटको प्रयोगद्वारा जैविक नियन्त्रण:

यो विधिमा जलकुम्भी झारको शत्रु कीराको प्रयोग गरी झारलाई मात्र नस्ट गर्ने बिशेष जातको घुन कीरा (weevil) र पुतली (moth) को प्रयोग गरिन्छ । यी कीराहरू जलकुम्भीको परजीबीको रुपमा आश्रय लिई झारलाई वृद्धि हुन र फैलिन रोक्दछ । सन् १९७० को दशकमा अमेरिकाका अनुसन्धानकर्ताहरुले दुई प्रकारका घुन कीरा Neochetina bruchiN. eichhorniae तथा Sameodes albiguttalis नामको एक प्रकारको गबारो कीराको प्रयोग गरेका थिए । यी कीटहरू शत् प्रतिशत प्रभाकारी नभए तापनि यिनले धेरै हद सम्म जलकुम्भीको नियन्त्रण गर्दछन् । सन् २०१० को मे महिनामा अमेरिकी कृषि अनुसन्धान सेवा बिभागले एक प्रकारको सानो फटेंग्रा कीरा (Megamelus scutellaris) को प्रयोगको सिफारिस गरेका थिए । जलकुम्भीको नियन्त्रणमा यो फटेंग्रा अन्य कीरा भन्दा अत्यन्तै प्रभावकारी हुने जनाईएको छ र अझै पनि यसको प्रयोग गरिन्छ । यसका साथै हाल दक्षिण अफ्रिकामा जल तथा थल दुबैमा बस्ने एक अर्को प्रकारको फटेंग्रा (Cornops aquaticum) लाई प्रयोग गरी जलकुम्भीको नियन्त्रणको प्रभावकारीता अध्ययन भई रहेको छ ।

यस प्रकारका जैविक नियन्त्रण बिधि सुरक्षित, सस्तो, वाताबरणमैत्री, प्रभावकारी र दिर्घकालिन उपाय मानिन्छन् । यस विधिको प्रयोग उत्तरी अमेरिका, अष्ट्रेलिया र अफ्रिकाको केहि देशमा गरिएको पाईन्छ । तर यी जैविक कीराहरूको असर ढिलो देखिने गर्छ । जलकुम्भी माथि यिनको असर ३ देखि ५ बर्ष पछि मात्रै देखिन्छ । प्रतिकुल मौसम र अन्य बाह्य कारणले यसको असर सो अबधि भन्दा ढिलो हुन पनि सक्छ ।

फेवातालको जलकुम्भी नियन्त्रणका लागि पनि नेपालका ३-४ जना अनुभबी र दक्ष कीट विज्ञहरुको एक टोली गठन गरी अन्तर्राष्ट्रीय स्तरमा जलकुम्भी नियन्त्रण र अनुसन्धान गरीरहेका कीट विज्ञहरुसंग समन्वय गरी जैविक बिधि द्वारा जलकुम्भी नियन्त्रण कार्य गर्न प्रचुर सम्भावना रहेको छ  ।

  • पानीमा पोषणतत्वको उपलब्धतामा न्यूनीकरण र जलाधार ब्यबस्थापन:

जलकुम्भी वृद्धिको लागि पोषणतत्व, बिशेष गरी नाईट्रोजन र फोस्फोरस, अत्यन्तै लाभदायक तत्वहरु हुन् I यदि पानीमा यी तत्वहरु कम मात्रामा रहेमा वा बाहिरबाट माटोमा रहेका यी तत्वहरू पानीमा मिसिन न्यून भएमा जलकुम्भीको लागि उपलब्धतामा धेरै कमी हुने हुँदा यसको वृद्धि र फैलावटमा निकै कमी हुन जान्छ । कमनवेल्थ साईन्स काउन्सीलले अफ्रिकामा गरेको एक बृहद अनुसन्धानको आधारमा तयार गरेको प्रतिबेदन अनुसार पोषणतत्व कम गरी जलकुम्भीलाई नियन्त्रण गर्न यदि जल क्षेत्रको वरिपरी जलाधार ब्यबस्थापन गरी माटो बगेर आउने क्रम र ढलबाट पानीमा मिसिने फोहरमैला पानीमा मिसिने क्रम रोक्न सकेको खण्डमा माटो र ढलको फोहर पानीमा रहेको नाईट्रोजन र फोस्फोरस तत्व पानीमा घुलिन कम हुन्छ, फलस्वरूप जलकुम्भीको लागि उपलब्धतामा कमी आई जलकुम्भीको वृद्धिमा निकै कमी हुने जनाएको छ । कमानवेल्थ साईन्स काउन्सीलका अनुसार यस प्रकारको कार्य प्रभाबकारी र दीर्घकालिन समाधानको उपाय हो । तर जलाधार ब्यबस्था एक लामो अबधिको प्रक्रिया हो र यसको प्रभावकारिता ढिलो मात्र देखिन्छ ।  तसर्थ सुरक्षित र दिर्घकालिन समाधानको लागि झारनाशक औषधि बाहेक अन्य तीन प्रकारका उपायहरु एकीकृतरुपमा साथै संचालन गरिनु पर्छ ।

  • स्थानीय स्तरमा जलकुम्भीको प्रयोग:

फेवातालमा जलकुम्भी नियन्त्रण कार्य लामो अबधि लाग्न सक्ने हुँदा माथि उल्लेख गरिएका समाधानका उपायका साथ साथै त्यहाँ रहेका जलकुम्भीलाई कम्पोस्ट मल बनाउने, बंगूर, हाँस र कुखुराको आहारका लागि प्रयोगमा ल्याउने, रेशाबाट केहि घरेलु सामाग्री बनाउने र पानीका श्रोत जस्तै पोखराको खानेपानीको मूलश्रोत क्षेत्रमा केहि जलकुम्भीलाई स्थानान्तर गरी पानी शुद्धिकरण गराउने आदि कार्यमा प्रयोगमा ल्याउन सकिन्छ ।

  • जलकुम्भी फैलन नदिन नीति निर्माण:

यदि जलकुम्भीलाई एक उपयोगी बनस्पतिको सट्टा एक तिब्र गतिमा फैलने र तालतलैया कुरूप बनाउने समस्याग्रस्त आक्रामक झारको रुपमा लिईने हो भने नेपाल सरकारले यसको बेर्ना एक ठाउँबाट अर्को ठाउँमा लैजान र सार्नबाट रोक लगाउनु पर्छ । यसका लागि नीति नियम निर्माण गरी बिभिन्न नाकामा क्वारेन्टिन मार्फत जाँच गरिनु पर्छ । अमेरिकाको एरिजोना, फ्लोरिडा, पोर्तो रिको, दक्षिण क्यारोलाइना आदि राज्यहरुमा जलकुम्भीलाई एक आक्रमककारी र रैथाने बनास्पतिलाई असर गर्ने खतरनाक बनस्पतिको रुपमा परिभाषित गरी यसको ओसार पसारमा रोक लगाएको छ ।

उपसंहार:

जलकुम्भी एक बहुउपयोगी वनस्पति हो । यसका बिभिन्न फाइदाहरू छन् । साथै यसबाट बिभिन्न प्रकारका सामाग्रीहरू बनाउन सकिन्छ । तर यो वनस्पति फाइदाजनक हुँदाहुँदै पनि तालातालैयाका लागि एक ठुलो समस्याग्रस्त वनस्पति रहेको छ । यसको नियंत्रंका लागि बिभिन्न उपायहरू छन् । एकै प्रकारको उपायले नियन्त्रण सम्भव छैन । तसर्थ बिभिन्न उपायहरू एकीकृत रूपमा प्रयोग गरी नियन्त्रण गरिनु पर्दछ ।
(पाेखरा-१२ निवासी सुवेदी कृषि, जैविक बिबिधता तथा वातावरण बिषयसंग सम्बन्धित छन् ।) 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->