बागलुङ/आमा समूहको बैठकमा सामान्यतया आमाहरु आउने हो । तर गाउँका कतिपय आमा समूहको बैठकमा बालिका समेत भेटिन्छन् ।
आमा बन्ने उमेर नपुग्दै गर्भवती भएकाहरु देख्दा गाउँमा बालविवाहको समस्या अझैपनि बढीरहेको देख्न सकिन्छ । निसीखोला गाउँपालिका वडा नं. २, ३, ४, ५ र ६ मा यो अवस्था अझै देखिएको हो । वडा नं. ३ को एक आमा समूहमा त तीन जना बालिकानै गर्भ अवस्थामा बैठकमा आएको भेटिएका हुन् ।
बालविवाह र सानै उमेरमा गर्भवतीबन्दा आउने जोखिमबारे उनीहरु कसैलाई जानकारी छैन । नेपालको कानूनले २० वर्ष नपुगी विवाह गर्न पाईदैन । तर ती बालिकाहरु जस्तै १६ र १७ वर्षका धेरै गर्भवती किशोरीहरु अहिले गाउँमा भेटिन्छन् । ती बालिका विवाह गर्ने पनि धेरै २० वर्ष मुनिका बालक छन् भने केही बढी उमेरका समेत छन् । कानूनी रुपमा आउने समस्या र स्वास्थ्यमा आउने समस्याबारे उनीहरु बेखबर रहेको बताए । उनीहरुको अवस्थाबारे स्थानीय आमा समूहका पदाधिकारी पनि अनविज्ञ छन् । वडा नंं. ३ बोहोरागाउँस्थित स्कुल टोल स्वस्थ्य आमा समूहको बैठकमा मात्रै तीन जना बालिका बैठकमा पुग्ने गरेका हुन् ।
निसीखोला गाउँपालिका वडा नं. ३ की महिला स्वास्थ्य स्वयंसेविका निमकुमारी चन्दले ती बालिकालाई अब गाली गरेरभन्दा स्वास्थ्यमा आउन सक्ने खतराबारे जानकारी दिएर सुरक्षित बनाउन लागेको बताइन् । ‘पहिले नै थाहा पाइएन, गर्भवती भैसकेका छन्, बरु स्वस्थ्य बच्चा जन्माउनेतर्फ सल्लाह थालेका छौं,’ चन्दले भनिन्, ‘कुनै जोखिम नभए हुन्थ्यो ।’ नियमित गर्भ परीक्षण गराउने, जोखिम हुन सक्ने भएमा समयमै सुविधा सम्पन्न अस्पतालमा लगेर सुत्केरी गराउने गरी समुदायमा छलफल भएको उनले बताइन् । अघिल्ला वर्षको तुलनामा बालविवाह घटेपनि शुन्यमा झार्न कठिन भएको चन्दले बताइन् ।
बेला बेला सचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्युनिकरणको काम गरेर पनि यो समस्या समाधान नभएको बोहोरागाउँ स्वास्थ्य चौकीका प्रमुख टोपबहादुर चन्दले बताए । पछिल्लो समय वडाका टोल टोलमा स्वास्थ्य आमा समूह गठन भएका छन् । महिला स्वास्थ्य स्वंसेविका र स्वास्थ्य चौकीका अनमीको उपस्थितिमा ती समूहको बैठक बस्ने गरेका छन् । ती बैठकले हरेक महिना महिलाको स्वास्थ्य अवस्थाबारे छलफल गर्ने एजेन्डा बनाउँछन् । ‘कुन घरमा गर्भवती छन्, उनीहरुको नक्सा बनाएर स्वास्थ्य अवस्था पनि खोजी गर्छौ’ निसीखोला गाउँपालिका वडा नं. २ कान्लेचौरस्थित नियमित आमा समूहकी अध्यक्ष शोभा कुँवरले भनिन्, ‘सकेसम्म सम्झाइरहेका हुन्छौं, अर्कोपटक पुग्दा छोराछोरीले विवाह गरेको भेटिन्छ ।’ सम्झाइ बुझाइ गरेकै घरमा बालविवाह हुने गरेको उनले बताइन् ।
फेयरमेड फाउण्डेसनले ग्रामीण स्वास्थ्य सुधार परियोजना समेत संचालन गरेको छ । ती सबै कार्यक्रममा बाल विाहको अन्त्य, आमा र शिशुको स्वास्थ्य सुधार र जिविकोपार्जनमा लगानी गरिएको छ । परियोजनाले बालबिवाह र होम डेलीभरीलाई शुन्यमा झार्ने लक्ष्य राखेको छ । तर अझै पुरा नभएकोले सचेतनाका अभियानलाई प्रभावकारी बनाउन पहल भएको परियोजनाका व्यवस्थापक गणेश बरुवालले बताए ।





