सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सामान्य चोटले खुट्टा गुमेपछि वीरबहादुरले भोगका दुःख

सामान्य चोटले खुट्टा गुमेपछि वीरबहादुरले भोगका दुःख

उपचार गर्दा झन् खर्च बढी लाग्ने भएकोले उनले चार महिनादेखि औषधी समेत खान छाडेको बताए ।


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

बागलुङ/सामान्य घाउचोटमा पनि ध्यान नदिंदा मानिसको जीवनमा कति ठूलो दुर्घटना आइपर्छ भन्ने उदाहरण बनेका छन्,बागलुङको बरेङका वीरबहादुर परियार ।
चार वर्ष अघिको घटनाले अहिले पनि उनलाई झस्काउँछ । सामान्य रुपमा चलेको उनको जीवन र परिवार अहिले सोही घटनाले अस्तव्यस्त भएको छ । सानो परिवार भएकोले आर्थिक अवस्था कमजोर भएपनि खुसीसाथ दिन बिताएका बीरबहादुर अहिले दुई छाक खानका लागि संघर्ष गर्न बाध्य भएका छन् ।
चार वर्षअघि मात्र उनलाई एक्कासी हिंड्दा ठोकिएर खुट्टाको भित्री भाग दुख्यो । केही दिनसम्म लगतार दुखेपछि उनी उपचारका लागि बुटवल गए । घाउ सफाइ गर्नुको साटो उनलाई प्लास्टर गराइयो । लिगामेन्ट च्यातिएको भन्ने आशंकामा प्लास्टर गराइएको थियो भन्छन्, उनी । तर दुइसाता नबित्दै उनको खुट्टा खोलेर हेर्दा कुहिएको थियो । त्यसपछि उनी सकी नसकी फेरी बुटवल गए । त्यहाँ उपचार नहुने भएपछि पाल्पास्थित मिसन अस्पताल पुग्दा खुट्टा काट्नुपर्ने अवस्था आयो । त्यसको प्रकृया थाल्दा नथाल्दै उनको देव्रे खुट्टाको घुँडादेखि माथिसम्म नै संक्रमण फैलियो ।

बरेङ गाउँपालिका वडा नं. २ हुग्दीसिरको सुदालाका बीरबहादुर परियारको यो दुःखले अहिले एउटा खुट्टाबिहिन बन्नुपरेको छ । हिँड्न सक्दैनन्, कमाइ गरेर खाने त केही छैन उल्टै ९ लाख उपचार खर्च लाग्यो । ऋणको कारण उनको जीवन दुःखमा परेको छ । दुःखको दुइ वर्ष नबित्दै फेरी पत्नि हरिमायाको ह्दयघातले निधन भयो । त्यसपछि भने परियारलाई टेक्ने खुट्टा मात्रै गुमेन, जीवनको सहारा पनि गुम्यो । छोराछोरी पढाउने हुर्काउने उनको सपना अहिले सपनामै सिमित भएको छ । छोरीलाई गुल्मीको शान्तिपुरमा सालीको घरमा राखेर पढाउन पठाएका छन् भने छोरा भारतमा काम खोज्न निस्केका छन् ।
बाबु एक्लै छाप्रोमा बस्दै सिलाई कटाइको काम गरेका छन् । अपांग भएकोले धेरै काम गरेर व्यवसायी बन्न सक्दैनन् । पकाउने खाने काम पनि उनको लागि निकै कस्टकर छ । खुट्टामा बेला बेला संक्रमण भैरहन्छ । त्यसैले उनी उपचार खोज्दै पाल्पा गइरहनुपर्छ । त्यसका लागि खर्चको जोहो गर्न उनले एउटा मेसिन राखेर सिलाई गरेको बताए । तर ग्रामीण क्षेत्रमा बसेर काम गर्दा नगद हात पर्दैन । उनको कमाइले खाने बाटो मात्रै भएको छ । उपचार गर्दा झन् खर्च बढी लाग्ने भएकोले उनले चार महिनादेखि औषधिसमेत खान छाडेको बताए ।
जतिबेला उनको शरीरमा घाउ थियो, त्यतिबेला मधुमेह भएको थियो । उनको घाउ बल्झेको बेला डाक्टरले सुगर परीक्षण नगरी प्लास्टर गरिदिएकोले उनको घाउमा संक्रमण थपिएको कुरा उनले खुट्टा काटेर फालेपछि मात्रै थाहा पाए । सुगर बढेको बेला प्लास्टर गरेकै कारण उनको खुट्टा कुहिएको थियो । बिस्तारै खुट्टामा माथीमाथी संक्रमण फैलिएकोले घुँडादेखि माथी काट्नुपरेको थियो । यो सम्झेर परियार अहिले निकै दुःखी छन् । ‘मैले त जानिन, जानेकाहरुले पनि सुगर बढेको कुरा बताइदिएनन्,’ उनले भने, ‘अब के खाने, के ले उपचार गराएर बस्ने ?’ पैसा नभएकै कारण उनले चार महिनादेखि सुगरको औषधि खान नसकेको बताए ।
सहयोग गर्ने कोही नभएपछि उनी कतै जान सक्दैनन् । घरमै बस्ने भएकोले सिलाई पेशाबाट पनि उस्तो कमाइ नभएको उनले बताए । केही कमाइबाट खानुपरे पनि थप उपचारको खर्च भने गर्न नसकेको उनले बताए । उनको समस्या देखेपछि ग्रामीण स्वास्थ्य सुधार परियोजनाले बैसाखी किनेर दिइएको छ । त्यस बाहेक उनलाई सिलाई मेसिन लगायतमा साथ दिएपछि व्यावसायिक रुपमा कपडा सिलाउने काम थालेको स्थानीय बीवाइसी बागलुङका सचिव विक्रम शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->