बागलुङ/सामान्य घाउचोटमा पनि ध्यान नदिंदा मानिसको जीवनमा कति ठूलो दुर्घटना आइपर्छ भन्ने उदाहरण बनेका छन्,बागलुङको बरेङका वीरबहादुर परियार ।
चार वर्ष अघिको घटनाले अहिले पनि उनलाई झस्काउँछ । सामान्य रुपमा चलेको उनको जीवन र परिवार अहिले सोही घटनाले अस्तव्यस्त भएको छ । सानो परिवार भएकोले आर्थिक अवस्था कमजोर भएपनि खुसीसाथ दिन बिताएका बीरबहादुर अहिले दुई छाक खानका लागि संघर्ष गर्न बाध्य भएका छन् ।
चार वर्षअघि मात्र उनलाई एक्कासी हिंड्दा ठोकिएर खुट्टाको भित्री भाग दुख्यो । केही दिनसम्म लगतार दुखेपछि उनी उपचारका लागि बुटवल गए । घाउ सफाइ गर्नुको साटो उनलाई प्लास्टर गराइयो । लिगामेन्ट च्यातिएको भन्ने आशंकामा प्लास्टर गराइएको थियो भन्छन्, उनी । तर दुइसाता नबित्दै उनको खुट्टा खोलेर हेर्दा कुहिएको थियो । त्यसपछि उनी सकी नसकी फेरी बुटवल गए । त्यहाँ उपचार नहुने भएपछि पाल्पास्थित मिसन अस्पताल पुग्दा खुट्टा काट्नुपर्ने अवस्था आयो । त्यसको प्रकृया थाल्दा नथाल्दै उनको देव्रे खुट्टाको घुँडादेखि माथिसम्म नै संक्रमण फैलियो ।
बरेङ गाउँपालिका वडा नं. २ हुग्दीसिरको सुदालाका बीरबहादुर परियारको यो दुःखले अहिले एउटा खुट्टाबिहिन बन्नुपरेको छ । हिँड्न सक्दैनन्, कमाइ गरेर खाने त केही छैन उल्टै ९ लाख उपचार खर्च लाग्यो । ऋणको कारण उनको जीवन दुःखमा परेको छ । दुःखको दुइ वर्ष नबित्दै फेरी पत्नि हरिमायाको ह्दयघातले निधन भयो । त्यसपछि भने परियारलाई टेक्ने खुट्टा मात्रै गुमेन, जीवनको सहारा पनि गुम्यो । छोराछोरी पढाउने हुर्काउने उनको सपना अहिले सपनामै सिमित भएको छ । छोरीलाई गुल्मीको शान्तिपुरमा सालीको घरमा राखेर पढाउन पठाएका छन् भने छोरा भारतमा काम खोज्न निस्केका छन् ।
बाबु एक्लै छाप्रोमा बस्दै सिलाई कटाइको काम गरेका छन् । अपांग भएकोले धेरै काम गरेर व्यवसायी बन्न सक्दैनन् । पकाउने खाने काम पनि उनको लागि निकै कस्टकर छ । खुट्टामा बेला बेला संक्रमण भैरहन्छ । त्यसैले उनी उपचार खोज्दै पाल्पा गइरहनुपर्छ । त्यसका लागि खर्चको जोहो गर्न उनले एउटा मेसिन राखेर सिलाई गरेको बताए । तर ग्रामीण क्षेत्रमा बसेर काम गर्दा नगद हात पर्दैन । उनको कमाइले खाने बाटो मात्रै भएको छ । उपचार गर्दा झन् खर्च बढी लाग्ने भएकोले उनले चार महिनादेखि औषधिसमेत खान छाडेको बताए ।
जतिबेला उनको शरीरमा घाउ थियो, त्यतिबेला मधुमेह भएको थियो । उनको घाउ बल्झेको बेला डाक्टरले सुगर परीक्षण नगरी प्लास्टर गरिदिएकोले उनको घाउमा संक्रमण थपिएको कुरा उनले खुट्टा काटेर फालेपछि मात्रै थाहा पाए । सुगर बढेको बेला प्लास्टर गरेकै कारण उनको खुट्टा कुहिएको थियो । बिस्तारै खुट्टामा माथीमाथी संक्रमण फैलिएकोले घुँडादेखि माथी काट्नुपरेको थियो । यो सम्झेर परियार अहिले निकै दुःखी छन् । ‘मैले त जानिन, जानेकाहरुले पनि सुगर बढेको कुरा बताइदिएनन्,’ उनले भने, ‘अब के खाने, के ले उपचार गराएर बस्ने ?’ पैसा नभएकै कारण उनले चार महिनादेखि सुगरको औषधि खान नसकेको बताए ।
सहयोग गर्ने कोही नभएपछि उनी कतै जान सक्दैनन् । घरमै बस्ने भएकोले सिलाई पेशाबाट पनि उस्तो कमाइ नभएको उनले बताए । केही कमाइबाट खानुपरे पनि थप उपचारको खर्च भने गर्न नसकेको उनले बताए । उनको समस्या देखेपछि ग्रामीण स्वास्थ्य सुधार परियोजनाले बैसाखी किनेर दिइएको छ । त्यस बाहेक उनलाई सिलाई मेसिन लगायतमा साथ दिएपछि व्यावसायिक रुपमा कपडा सिलाउने काम थालेको स्थानीय बीवाइसी बागलुङका सचिव विक्रम शर्माले बताए ।





