बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

चीन र भारतमा देखिएको एचएमपीभी नयाँ भाइरस हो ?

चीन र भारतमा देखिएको एचएमपीभी नयाँ भाइरस हो ?

विवरणहरूमा जनाइएअनुसार खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको सङ्क्रमण बढिरहेको पाइएको छ ।


  • बीबीसी
  • पुष २४ २०८१, बुधबार

उत्तरी चीनमा हालैका दिनमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी) सङ्क्रमण भएका बिरामी बढ्न थालेपछि त्यसले चिन्ता निम्त्याएको छ । विश्वभरि ७० लाख मानिसको ज्यान लिने गरी चीनमै देखिएको कोभिड सङ्क्रमणले निम्त्याएको संकटबारे प्रारम्भिक रूपमा सचेत गराइएको पाँच वर्षपछि यो भाइरस देखिएको हो ।
चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै विवरणहरूमा जनाइएअनुसार खास गरी १४ वर्ष र सोभन्दा कम उमेरका बालबालिकामा उक्त भाइरसको सङ्क्रमण बढिरहेको पाइएको छ । तर अस्पतालहरूमा बिरामी चाप बढेको भन्ने दाबीलाई उनीहरूले अस्वीकार गरेका छन् । एचएमपीभीको सङ्क्रमण भारतमा पनि पुष्टि गरिएको छ । यो भाइरस के हो र यसको सङ्क्रमण कति गम्भीर हुन सक्छ भनेर बीबीसीले चर्चा गरेको छ ।

के एचएमपीभी नयाँ भाइरस हो ?
संयुक्त राज्य अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन’ (सीडीसी) का अनुसार सबैभन्दा पहिला सन् २००१ मा उक्त भाइरसको पहिचान गरिएको थियो । तर उक्त भाइरस त्यसभन्दा दशकौँपहिलेदेखि अस्तित्वमा थियो ।
एचएमपीभीका सामान्य लक्षणहरू रुघाखोकी वा फ्लूका लक्षणजस्तै हुन्छन् । त्यसमा खोकी लाग्ने, ज्वरो आउने, नाक जाम हुने र छिटोछिटो सास फुल्ने हुन्छ । कतिपयको हकमा लक्षणहरू गम्भीर पनि हुन सक्छन् ।
सबै उमेर समूहका मानिसमा त्यसले ब्रोङ्काइटिस अथवा निमोनिआसहित श्वासनलीको माथिल्लो र तल्लो भागमा समस्या निम्त्याउन सक्छ । तर त्यो मूलतः बालबालिका, पाका वयस्क र कमजोर रोगप्रतिरोधी समस्या भएका मानिसमा देखिएको छ ।
भाइरस शरीरमा प्रवेश गरेपछि सङ्क्रमण हुन तीनदेखि छ दिनसम्म रहन्छ र बिरामी पर्ने औसत समयावधि रोगको गम्भीरतामा निर्भर गर्छ । तर यस्तो अवधि भाइरसहरूले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी अरू सङ्क्रमण सरह नै हुन्छ ।
सीडीसीका अनुसार हिउँदको अन्त्यतिर तथा वसन्त ऋतुमा जाडो तथा गर्मी खासै नहुने ठाउँमा यो सङ्क्रमण बढी देखिने गरेको छ ।

यो कसरी फैलिन्छ ?
एचएमपीभी विशेषतः सङ्क्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा त्यसको माध्यमबाट अर्को व्यक्तिमा सर्छ । सङ्क्रमित व्यक्तिलाई छुँदा अथवा हात मिलाउँदा वा सङ्क्रमित व्यक्तिले छोएका सामान वा सतह छोएर त्यही हात मुख, नाक वा आँखामा लग्दा पनि सङ्क्रमण हुन सक्छ । एचएमपीभी सामान्यतया चिसो मौसममा फैलिन्छ, जुन समयमा मानिसहरू घरभित्र बढी बिताउँछन् ।

खास गरी बालबालिका र वृद्धवृद्धा किन जोखिममा ?
एउटा व्यक्तिलाई धेरै पटक एचएमपीभी सङ्क्रमण हुन सक्छ । विज्ञहरूका अनुसार पहिलो पटक हुने सङ्क्रमण कडा हुने गर्छ । त्यसपछि रोगप्रतिरोधी क्षमताको विकास भएर उक्त क्षमता बलियो रहुन्जेल पहिलो पटकको भन्दा सङ्क्रमण कमजोर हुन्छ ।
कमजोर रोगप्रतिरोधी क्षमता भएका पाँच वर्षमुनिका बालबालिकाका साथै ६५ वर्षमाथिका वृद्धवृद्धा अथवा श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरू किन यो भाइरसको बढी जोखिममा हुन्छन् भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ ।
यद्यपि दशकौँदेखि यो भाइरस अस्तित्वमा रहेको पृष्ठभूमिमा विज्ञहरूका अनुसार त्यसविरुद्ध विश्वमा ठोस रूपमा प्रतिरोधी क्षमता विकास भइसकेको हुनुपर्छ ।

चीनमा के भइरहेको छ ?
चीनका अस्पतालहरूमा मानिसहरूले मास्क लगाइरहेका तस्बिर र भिडिओहरू सामाजिक सञ्जालहरूमा देखिएका छन् । त्यसबाट के लख काटिँदै छ भने चिनियाँ अस्पतालहरूमा एचएमपीभीका बिरामीहरूको चाप रहेको छ । केही स्थानीय समाचारहरूमा कोभिड महामारीको सुरुवाती दिनको अवस्थासँग तुलना गरिएको छ ।
सङ्क्रामक रोगसम्बन्धी चीनको सीडीसीका प्रमुख कान बिआओले यो हिउँद र वसन्तमा देशमा श्वासप्रश्वासका विभिन्न सङ्क्रमण फैलिन सक्ने बताएका छन् ।
एउटा पत्रकार सम्मेलनका क्रममा उनले एचएमपीभी सङ्क्रमण १४ वर्षमुनिका व्यक्तिमा ‘बढ्दो क्रममा देखिएको’ बताए । तर उनले यो वर्ष श्वासप्रश्वासका समग्र बिरामीको संख्या सन् २०२४ को तुलनामा कम नै रहने उल्लेख गरे ।
सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेशनका संस्थापक निर्देशक टुलिओ डे ओलिभिएराका अनुसार एचएमपीभी यो हिउँदमा चीनमा देखिएका चारवटा भाइरसमध्ये एउटा हो । बाँकी रेस्पिरेटरी सिन्सिशल भाइरस, कोभिड र इन्फ्लुएन्जा हुन् ।
त्यसैले हिउँदमा अस्पतालहरूमा कही चाप पर्न सक्ने उनले बताए । पाँच वर्षअघि पहिलो पटक कोभिड देखिँदा गरिएको पूर्वतयारीको तुलनामा यो एकदम उच्च स्तरको तयारी हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->