सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जाडो छल्ने बख्खु र काम्लो

जाडो छल्ने बख्खु र काम्लो


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८१, बिहिबार

बागलुङ/ चिसो मौषममा लेकाली क्षेत्रमा अधिकांस गोठालाहरुले लगाएको देखिन्छ बख्खु । बख्खु लगाएपछि महिना दिनसम्म पनि डिंगाबाछा, भेडाबाख्रा खेदेर गोठमा बस्न सकिन्छ ।  निसीखोला गाउँपालिका ६ का डिलबहादुर घर्तीमगरले पनि बख्खु लगाएर महिनौं सम्म गोठमा बसेको अनुभव बटुलेका छन् । उनकी पत्नि ज्ञानमालाले बुनेको बख्खुले जाडो छलेर गोठमा गएको उनले सुनाए ।

गत असोजमा बुकीबाट फर्कंदा बुढाले १ लाख रुपैयाँको झण्डै ४० केजी उन किनेर ल्याइदिएका थिए । अहिले ज्ञानमालाले त्यही उनबाट बख्खु बुनेर बसेकी छिन् । घरको काम भ्याएर घर्तीमगरले यो बर्ष १० वटा बख्खु बुन्ने लक्ष्य राखेको बताइन् । त्यसकालागि झण्डै ४ महिना लाग्छ । गत मंसिर पहिलो सातादेखि बुन्न थाल्दा उनले केही बख्खु त तयार पारिसकेकी छिन् । घर्तीमगरले बुनेका बख्खु केही बिक्री भैसके । केही अर्डरमा छन् । अत्यावस्यक भएर किन्नेले घरमै आएर अर्डर गरेका छन् भने आर्कषक देखेर लैजानेहरुले फोन मार्फत अर्डर गरेका छन् । बिदेशमा बस्नेले पनि बेलाबेला सोधीखोजी गरेर किन्ने प्रयास गर्छन् ।

भलकोटकी ४२ बर्षिय ज्ञानमालाले दुइ दशकदेखि यो पेशा नियमित गरेकी छिन् । बाबुबाजेबाटै सिकेको सीप उनले आयआर्जन र रोजगारीकालागि उपयोग गर्दैछिन् । आफ्नो घरमा धेरै भेडा पाल्न नसकेपनि किनेर ल्याएको उनबाट बख्खु बुन्ने काम गरेकी छिन् । एउटा बख्खु बुन्न एकधार्नी र एक बिसौली उन चाहिने डिलबहादुरले बताए । झण्डै दुइ धार्नी उन ल्याएर पखाल्ने र छान्ने गर्दा बल्ल एकधार्नी बिसौलीको उन बाँकी रहेको उनको अनुभव छ । छोराछोरी पढ्न थालेपछि घर्तीमगर दम्पत्तीले भेडा पाल्न छाडे । किनेर ल्याउँदा महंगो पर्ने भएकोले धेरै लगानी गर्न सक्दैनन् । तरपनि जानेको सीपलाई चटक्कै छाड्न नसक्दा बख्खु बुन्ने काम गरिरहेका छन् । उनीहरुले बुनेको बख्खु साइज अनुसार २५ हजार देखि ४० हजार सम्ममा बिक्री हुने गरेको छ । ‘एउटा बख्खु बुनिसक्न १२ देखि २० दिनसम्म लाग्छ’ घर्तीमगरले भनिन्, ‘धेरै मेहेनत पनि गर्नुपर्छ ।’ पति डिलबहादुरले उन धोएर रंग छानेर छुट्टयाउने काम गर्छन् । कालो र सेतो रौं मिसिन नदिन उनीहरुले धेरै मेहेनत गर्नुपर्छ । तीनचारपटक धोएर सफा बनाएपछि सुकाएर धागाको तानमा बख्खु बुन्नुपर्छ । यसरी बुनेको बख्खुले पानी र हिउँ बर्षेको बेलापनि सजिलै छेक्छ । हावाहुरीले पनि असर गर्दैछ ।

वडा नंं ६ कै बुढाथरकी ६२ बर्षिय गोमला बुढाले पनि अझै काम्लो बुन्ने काम गरिरहेकी छिन् । बुढाले १० दिन लगाएर काम्लो बुनिसक्छीन् । यसरी बुनेको काम्लो बजारमा १० हजार रुपैया“मा बिक्री हुन्छ । उनका पति चनबहादुर बुढाले गोठमा ६० वटा भेडा पालेका छन् । बर्षको दुइपटक सम्म भुवा काढेर ल्याउँछन् । घरमा बसेर गोमलाले काम्लो बुन्छिन् । महिनामा ३ वटा सम्म काम्लो बुन्न सक्दा ३० हजार कमाइ हुन्छ । त्यसमा झण्डै १५ हजार आफ्नै लगानी पर्छ । १५ हजार कमाइ हुन्छ । यस्तो एउटा काम्लोले पनि १० बर्षसम्मको जाडो छल्न सकिने बुढाले बताइन् । बर्षातमा झरी समेत ओत्ने र जाडोमा न्यानो हुने भएकोले धेरैले काम्लो मनपराउ“छन् । कालो भुवाको काम्लो बुन्न सकेमा ५० हजार रुपैयाँ सम्म बिक्री हुन्छ । ‘कालो भुवा थोरै हुन्छ, त्यसैले बर्षमा बढीमा दुइवटा मात्रै बुन्न सकिन्छ’ बुढाले भनिन्, ‘राम्रो बनाउन सकियो भने घरबाटै बिक्री हुन्छ ।’ सेतो काम्लो केही सस्तो हुने र सस्तो पर्छ भने कालोलाई अर्डर मागेर मात्रै बुन्न सकिने उनले सुनाइन् । गोठमा जानेहरुले हिउँ र पानी पर्दा ओत्ने, राती सुत्दा ओड्ने र बिच्छ्याउने समेत त्यही बख्खु प्रयोग गर्छ्न् भने काम्लो ओड्ने वा पाहुना आउ“दा बस्न पनि प्रयोग हुन्छ । भेडीगोठ जाने युवाकालागि त बख्खु नभइ हुँदैन ।

निसीखोला गाउँपालिका वडा नंं ६ कै कुमबहादुर घर्ती, लगायतले पनि उन कातेर बख्खु र काम्लो बनाउने काम गरिरहेका छन् । यहाँका किसानले ५० देखि ३ सय सम्म भेडा पाल्ने गरेका छन् । जाडो छल्न अहिले उनीहरु निसीखोलामा झरेका छन् । गर्मी बढेपछि उनीहरु निसेलढोर र बुकीमा लगेर चराउँछन् । महिनौं सम्म उतै गोठ बनाएर बस्छन् । भेडा, च्याङग्रा र गाइ गोठमा बसेर उनीहरुले आलु पनि लगाउँछन् । किसानले बुन्ने बख्खु मानिसको साइज अनुसारको हुन्छ भने काम्लो डेढ मीटर देखि ३ मीटर सम्मका हुन्छन् । बख्खु घरबाटै अर्डर भएर बिक्री हुन्छ भने काम्लोको व्यपार हुने मुख्य बजार रिडी हो । माघे सक्रान्ति सहितका मेला लाग्दा निसीका किसानले काम्लो बुनेर रिडीसम्म लैजान्छन् । ‘अर्डर गरेकाहरुले घरमै आएर सामान लैजान्छन्’ घर्तीमगरले भनिन्, ‘घरमा थुप्रेका सामान मेला लाग्दा बेच्छौं ।’ काम्लोलाई नेपाली संस्कृति अनुसारका पूजापाठमा बिच्छ्याउँदा चोखो मान्ने चलन छ ।

सहर बजारका घरमापनि सजाएर राख्नेले समेत हिजोआज काम्लोको माग गर्न थालेका छन् । ‘भेडा पाल्ने चलन घट्दै गयो, सजाएर राख्नेले माग गर्न थालेका छन्, अब त पु¥याउन गाह्र्रो छ’ ज्ञानमालाले भनिन्, ‘छोराछोरीले सीप जानेका छैनन्, अब कसले यो सीप बचाउन गाह्रो छ ।’ बिद्यालय उमेरका कसैले पनि यस्ता सामाग्री बुन्न जानेका छैनन् । निसीखोला गाउँपालिकाले परंपरागत सीपको संरक्षणकालागि काम गर्ने योजना बनाएपनि युवापुस्ताले सिक्ने नखोजेको अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->