बागलुङ/ घीय वनमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकारको विकल्प नभएको बताएका छन् । उनले देशको अस्थिर राजनीतिक व्यवस्थाको अन्त्यका लागि बनेकोले तल्काल यो सरकारको विकल्प खोज्न नहुने बताए ।
बागलुङको जैमिनीस्थित जनकल्याण माविको स्वर्ण महोत्सवमा आएका मन्त्री शाहीले कार्यकर्ता भेटको अवसरमा सो कुरा बताएका हुन् ।
वर्षको तीन पटकसम्म विश्वासको मत लिएर सरकार फेरिनुपर्ने बाध्यता हटेर कामलाई एकरुपता दिन पनि यो सरकार सक्षम बन्ने उनको धारणा थियो । ‘यो सरकार गठन हुँदा अर्कै सरकारले ल्याएको बजेटमा काम गर्न थालेको हो, आफ्नै बजेटबाट उचित सम्बोधनसहितका कार्यक्रम आउँछन्,’ शाहीले भने, ‘लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार काम गर्न तत्पर छौँ ।’ कांग्रेसले ल्याएको कदमजम अर्थात् कर्णाली, दलित, मधेसी, जनजाति र महिला लक्षित कार्यक्रम गर्ने गरी सरकारले काम गर्ने उनले प्रतिवद्दता पनि जनाए ।
आगामी अधिवेशनमा पार्टी एकताबद्द बनाउने नेतृत्व चाहिने पनि उनले बताए । कांग्रेसमा आधा बढी युवा शक्ति र केही कम पुराना नेता मिलेरै अगाडि बढेकोले सबैको अपनत्व बढेको भन्दै आगामी निर्वाचनमा एकल सरकार गठन गर्ने गरी आन्तरिक मिलेमतो बढाउन पनि उनले आग्रह गरे । ‘अब एकल सरकार बनाउने गरी संगठन निर्माण गरौँ, गुटहरु भत्काऔँ र जो आएपनि हातेमालो गरेर अगाडि बढ्दा पार्टी एक बन्छ,’ उनले भने, ‘क्रियाशिल सदस्य बितरणबाटै एकताको सन्देश दिन सकेमा कांग्रेसप्रति जनताले विश्वास गर्नेछन् ।’ उनले वन मन्त्रालयअन्तर्गत परेका सबैखाले समस्या समाधानमा पनि सरकार तयार रहेको बताए । कानूनी बाध्यताले रोकिएका कामदेखि सहकार्यमा गर्नुपर्ने सबैखाले काममा पनि मन्त्रालय बाधक नबन्ने उनको प्रतिवद्दता थियो । कार्यक्रम कांग्रेस पार्टी सचिव गण्डकी थापा अधिकारीको अध्यक्षता र अर्का सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो ।





