बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मान्छेमाथि नै आक्रमण गरेर खानेकुरा लुट्छन् बाँदरहरु !

मान्छेमाथि नै आक्रमण गरेर खानेकुरा लुट्छन् बाँदरहरु !

मानिस र वन्यजन्तुबीच बढ्दै गइरहेको द्वन्द्वका कारण बसाइँसराइ बढ्दो


  • संजय रेग्मी
  • फाल्गुन १५ २०८१, बिहिबार

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीकी ८४ वर्षिया नन्दकला रखाललाई गत शुक्रवार बाँदरको एक हुलले आक्रमण ग¥यो। बाँदरको हुल नै करेसामा पसेर अन्नबाली ध्वस्त पार्न थालेपछि धपाउने क्रममा बाँदरको आक्रमणबाट उनी घाइते भइन्। टाउकोमा लागेको चोट निको पार्न पाँचवटा टाँका लगाएर उनी प्रदेश अस्पताल पर्वतबाट घर फर्किइन् ।
रखाल जस्तै केही दिन अगाडि नै जिल्लाको मोदी गाउँपालिका–७ राम्जाको गोतामे थरका शरणबहादुर थापा पनि बाँदरको आक्रमणमा परे। मोटरसाइकलमा सवारमा उनलाई लङ्गुरे बाँदरले झन्डै पाँच मिटर जति खेद्यो, अन्ततः फेला पारेपछि पिँडौलामा टोक्यो ।
सोही ठाउँमा रहेको स्वास्थ्य चौकीका इन्चार्ज अङ्कित गुरुङलाई पनि मोटरसाइकलमा करिब दुई किलोमिटर जति खेदेपछि त्यही बाँदरले आक्रमण गर्न खोज्यो। तर, गुरुङ मानिसहरूको भीडमा प्रवेश गरेपछि बाँदर फर्कियो, गुरुङ जोगिए ।
युवा पुस्ताले जसोतसो आक्रमणबाट जोगिन सके पनि विद्यालय जाने बालबालिकाहरू, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएकाहरूमाथि बाँदरले आक्रमण गरेमा प्रतिवाद गर्न मुस्किल छ। बाँदरको आतङ्कले गाउँ नै त्रासमा बस्नुपरेपछि स्थानीय नागरिकले सुरक्षाकर्मीलाई खबर गरे तर बाँदर नियन्त्रणमा लिन भने सकेनन् । आक्रमणकारी नै भए पनि वन्यजन्तुलाई मार्ने वा नियन्त्रणमा लिने कतिपय कानूनी प्रावधानका कारण नागरिकले सोचेकै जस्तो गरी समस्या समाधान गर्न पनि मुस्किल छ ।
खाने भोकले सताइएको बाँदरको समूहलाई रखालालाई झम्टेजस्तै, गाउँमा पसेर मान्छेलाई खेदेजस्तै यस्तै घट्नाहरू पछिल्ला दिनहरूमा झन्–झन् बढ्दै गइरहेका छन्। मानिस र वन्यजन्तुबीच बढ्दै गइरहेको द्वन्द्वका कारण गाउँबाट बसाइ सर्ने क्रमलाई झनै बल मिलेको छ । सुविधाको खोजीमा सहर पस्नेहरूका कारण गाउँ रित्ता बन्दा गाउँका बस्तीमा नै वन्यजन्तुहरूको उपस्थिति बढ्दै गएको छ । जसले पातलो गाउँमा रहेका बालबालिकादेखि ज्येष्ठ नागरिकहरूलाई सुरक्षा चुनौती बढाएको छ ।
रातीको समयमा चितुवाको त्रासका कारण हैरानी खेपिरहेका गाउँवासीहरूले अब दिउसोको बेलामा बाँदरको आतङ्क झेल्नुपरेको छ । ‘गाउँ रित्तिँदै गएका छन्। बस्ती पातलिँदै गएका छन् । घरको छेउसम्मै झाडी र जङ्गल बन्दै गएको छ। वन्यजन्तुका लागि वनमा आहारा पनि अभाव छ । आहाराको खोजीमा गाउँ बस्दा मानिस र वन्यजन्तुको द्वन्द्व बढ्दै गएको छ,’ शिक्षक समेत रहेका स्थानीय सुरेन्द्र शर्मा गौतमले भने, ‘गाउँमा केटाकेटी र बुढाबुढी छन् । चल्ने उमेरका मान्छेहरू बाहिरै छन् । रातभर चितुवाको त्रास दिउसोमा बाँदरले समेत मान्छेलाई आक्रमण नै गर्दा घर बाहिर निस्कनै नसक्ने जस्तो भइसक्यो ।’
घाइते रखालको घर रहेको पिपलटारीमा पछिल्लो समयमा बाँदरको आतङ्क झनै बढिरहेको छ । बाँदरको हुलले फलफूल, तरकारी, हिउँदे वाली नष्ट गर्ने मात्र नभएर पशु चौपायालाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेल बताउँछन् । बाँदर नियन्त्रणमा स्थानीय सरकारले तत्कालै पहल कदमी नलिने हो भने घरबारी नै बाँदरलाई सुम्पिएर विस्थापित बन्नुपर्ने दिन अब धेरै टाढा नभएको पौडेलले बताए ।
वन क्षेत्रमा आहार नहुने, खेतबारी बाँझा रहँदा खेतबारीमा भुल्ने मौका नपाउने लगायतका कारण बाँदरहरूको आहाराको खोजीमा घरसम्मै पुग्न थालेका छन्। भोक मेटाउने अन्न खोज्न घरभित्र छिर्ने बाँदरलाई अवरोध गर्न खोज्दा उनीहरूले मानिसलाई नै आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->