पोखरा/पोखरा ७ रत्नचोस्थित सबलाइम अङ्ग्रेजी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव, पुरस्कार वितरण समारोह तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले आफ्ना सन्तानलाई सकरात्मक कुरा र जीवनोपयोगी सीप घरमै सिकाएर हौसला बढाउन अभिभावकले समय छुट्याउन अपरीहार्य रहेको बताए ।
हिसान कास्कीका अध्यक्ष दिवाकार जैशी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, प्याब्सन गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, प्याब्सनका केन्द्रीय सल्लाहकार गणेशमासिंह भण्डारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, अभिभावक सुरेश रानाभाट, विद्यार्थी अनुष्का लिगललगायतका वक्ताले विद्यालयको प्रगति र उन्नतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यार्थीले सामूहिक नृत्य, लोकनृत्य, सचेतनामूलक नाटक, विभिन्न जनजातिका नृत्य, कराँते प्रदर्शन, अबाकस सीप प्रदर्शन एवम् बालगीत लगायतका प्रस्तुति राखेको थिए । शैक्षिक कार्यक्रमतर्फ कक्षा नर्सरीदेखि १२ कक्षासम्मका उत्कष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल नर्सरीदेखि १२ सम्म १२ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आफ्नै भवनमा सञ्चालित विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ । उच्चशिक्षाका लागि सम्बन्धन पर्खिरहेको विद्यालयले विविए र विआइएम कार्यक्रम सञ्चालन गर्ने योजना रहको प्राचार्य पुष्प पराजुलीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाली विभाग प्रमुख कमलापति शर्माले कार्यक्रम सञ्चालन गरेको थिए ।





