
बागलुङ/उमेरले बल्ल ३२ बर्ष पुगेका कृष्ण भुषाल अब बिदेश नजाने सोचमा छन् । ६ बर्ष सम्म उनी दुवइमा काम गरेर फर्केका थिए । त्यहा बस्दा उनले आफ्नै माटोमा काम गर्नुपर्ने शिक्षा पाए । गाउँ फर्केको पनि तीन बर्ष भयो । अहिले त उनी बैदेशिक रोजगारीमा जाने तीब्र इच्छा गर्ने अन्य साथीलाई समेत गाउँमै बस्न सुझाव दिन्छन् । उनकै अगुवाईमा गाउमा बाँझिएको जग्गामा व्यवसायिक कृषि पेशा थालेका छन् ।
पर्वतको बिहादी गाउँपालिका वडा नंं ४ को वहाकी स्थित भुषालचौर का ३२ बर्षिय कृष्ण भुषालले नजिकैको खेतमा खायन आलु लगाएर यो बर्ष राम्रो कमाइ गरे । त्यो पनि समूहमा । स्थानीय आत्मनिर्भर कृषक समूहका ५ जना युवा मिलेर ३५ रोपनी जमिनमा लगाएको आलु २ सय क्विन्टल फलाए ।
त्यस बाहेक व्यक्तिगत रुपमा पनि आलु खेतीनै गरिएको छ । समूहमा लगाइएको आलुकालागि उनीहरुले गाउँ छाडेर गएका स्थानीयको जग्गा उपयोग गरेको बताए । कृष्ण सहित उनकै छिमेकी ३५ बर्षिय केशव, बालकृष्ण, लगायतले मिलेर ‘जनकदेव’ जातको रातो आलु लगाएका हुन् । अन्य आलुको तुलनामा दोब्बर फल्ने, खानमा मिठो, रोगकिरा नलाग्ने गरेको उनले बताए ।
उनीहरले आलु खन्नु भन्दा १५ दिन अघिनै पात टिपेर घाँस बनाउने गरेका छन् । आलु खन्नुअघि पात निकालेपछि आलु भण्डारन क्षमता बढ्छ । यो विधिलाई ‘हाम पुलिङ’ भनिने कृषि ज्ञानकेन्द्र पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीले बताइन् । ‘हाम पुलिङ विधिले किसानले लामो समय भण्डारन गर्न सक्ने, तत्काल नबिग्रने गरी बोक्रा बाक्लो बन्ने गर्छ’ सुवेदीले भनिन्, ‘धेरै उत्पादन गर्दा बजारको खोजी गर्न ढीला भएपनि आलु नबिग्रियोस् भन्नकालागि यो विधि उपयोगी छ ।’
यो कामकालागि कृष्णलाई पत्नि सीताले पनि साथ दिएकी छिन् । कृष्णका साथी केशव र उनकी पत्नि गंगा, बालकृष्ण समेतले सामुहिक खेतीमा काम गर्छन् । व्यक्तिगत खेतीले खान पुग्ने भएकोले समूहबाट उत्पादन भएको आलु बजार पठाउने बताए ।
उनीहरुको मेहेनतबाट प्रभावित भएर कृषि ज्ञान केन्द्र पर्वतले आलुको बीउ, औषधी लगायतमा अनुदान दिएको छ । किसानले भने अनुदान भन्दा कोल्डस्टोरको आवस्यक परेको बताए । केन्द्रका प्रमुख परशुराम अधिकारीले किसानको उत्पादन बढ्दै गएमा केन्दले स्वभाविक रुपमा कोल्डस्टोर निर्माणमा पहल गर्ने बताए ।
भुषाल दाजुभाइले बाँझीएको जमिन सदुपयोग गरेर गत मंसिरमा १ सय मुरी धान समेत भित्राएका छन् । स्थानीय हरिनारायण भुषाल, टिकाराम भुषाल र चन्द्रकान्त भुषालको जमिन उपयोग गरेर १ सय मुरी धान फलाएको उनले बताए । ‘कोही तराइ झर्नु भयो, कोही कर्मचारी भएर गाउँ नआएपछि सिंगो फाँट बाँझीयो, त्यसैले सदुपयोग ग¥यौं’ कृष्णले भने, ‘खेत सदुपयोग गरेको देखेर हामीलाई धन्यवाद दिनुभएको छ ।’ झाडी बन्नु भन्दा सदुपयोग गरेकोमा राम्रो भएको सुझाव दिएपछि भुषाल दाजुभाइहरु हौसिएर खेतीमा लागेका छन् ।
प्लाष्टिक टनेलमा गोलभेडा, ताजा तरकारी, केराउ लगायतका हिउँदे तरकारी समेत उनीहरुले लगाएका छन् । खेतमा तोरी र गहुँ समेत लगाइएको छ । ‘बाँझीएको जमिनमा हामीले तीन खेतीको योजना बनायौ’ स्थानीय केशव भुषालले भने,‘अब हामीलाई प्राविधिक साथ र सहयोग चाहिएको छ ।’ बिदेश जाने युवालाइ गाउँमै रोकेर अन्न, तरकारी र नगदेबालीमा लगाउने उनीहरुको सोच छ । उनीहरुले उपयोग गरेको जमिनको भाडा पनि तिर्नु परेको छैन ।
‘बर्षौदेखि फाँट बाँझीएको थियो, त्यो देखेर योजना बनायौं, त्यसमा जग्गावाला दाजुहरुले साथ दिनुभयो’ भुषालले भने, ‘अब सिंचाइको प्रबन्ध गर्दैछौं ।’ स्थानीय चौरासीखोलाबाट ल्याएको सिंचाइले केही खण्डमा पानी नपुगेपछि योजना खोजी समेत गरेका छन् । आइपिएम कृषक पाठशाला संचालन गरेका प्राविधिक ऋषिराम भुषालले पनि केन्द्रमा सिंचाइको आवस्यकता बारे जानकारी दिइसकेको बताए । ‘अब गाउँबसेर काम गर्नेलाई नै लगानी बढाउनु पर्छ’ उनले भने, ‘युवाहरुको मेहेनत सम्मान गर्न लायक छ ।’





