बागलुङ/अस्पतालमा जडित अक्सिजन ग्यासको पाईप छुटाउने हो भने उनलाई सास फेर्नै गाह्रो हुन्छ । बोल्न आवाज पुग्दैन् । अस्पतालको बेडबाट तलमाथी गर्ने शक्तिको त कुरै छोडौं । कृतिम अक्सिजनको भरमा उनले सास फेर्न थालेको धेरै भैसकेको छ । धौलागिरी अस्पताल बागलुङको इमरजेन्सी वार्डमा छटपटाईरहेका उनका न त कुरुवा छन् । न अस्पतालले निशुल्क दिने औषधि उपचार बाहेकको उपचार गर्ने खर्च ।
जिल्लाको गलकोट नगरपालिका ११ का फरकबहादुर श्रीस तीन महिनादेखी धवलागिरी प्रादेशिक अस्पतालमा स्वासप्रस्वासको उपचार गराईरहेका छन् । उनको फोक्सोमा पानी जमेको छ । अस्पतालका चिकित्सक सन्दिप सापकोटाका अनुसार उनको फोक्सोमा भएको समस्याको उपचार हुन्छ । तर, उनी काठमाण्डौंमा रहेका ठुला अस्पतालमा जानुपर्छ ।
२०७३ सालदेखि स्वासप्रस्वासको समस्या झेलिरहेका श्रीसलाई अस्पतालले पटक पटक फोक्सोको उपचारका लागि जान सिफारिस गरेको छ । धौलागिरीमा नै उनको फोक्सोको उपचार सम्भव छैन् । न त आफन्त न खर्चको सहारा । फरक बहादुर धौलागिरी अस्पतालकै शैयामा छटपटाईरहेका छन् । थप उपचारको लागि काठमाडौं पु¥याउनु पर्ने भएपनि आर्थिक अभावका कारणले श्रीसको उपचार हुन सकेको छैन ।
रोगले थला पार्न थालेपछि श्रीस प्राण बचाइदिन अनुनय गर्न थालेका छन् । बाहिर कतै निस्कन नसक्ने श्रीस अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारीसँग अनुनय गर्छन् । बिरामी भएर अस्पताल पुगेकाहरुसँगै गुनासो बिसाउँछन् ।
तत्कालिन माओवादी युद्धका लागि प्रवासबाट राजनीति गर्दा उनले जीवनको उर्जावान समय सके । घर फर्केपछि उनी घर न घाटको भए । एक मात्रै सन्तानकी आमाले छोडेर हिँडेपछि फरकबहादुर बालखै छोरा लिएर बागलुङ बजार झरे । छोरा सानै छन्, केही गर्न सक्दैनन् । बजार झरेपछि निर्माण क्षेत्रमा काम गरिरहेका उनले सासै फेर्न कठिन हुन थालेपछि काम छोडे । फरकबहादुर गहभरी आशु लिदै भन्छन्, ‘जवानीमा संगै तत्कालिन माओवादी युद्धमा लागेका समकालिन साथीहरुको जीवनशैली देखेरे देशका लागि भन्दै त्याग गरेका दिनहरु सम्झदा अहिले पश््चातप लाग्छ, मेरो त सास फर्ने उपाय समेत छैन् ।’ आफ्नै साथाीभाइले आफ्नो जीवन बचाइदिन गरेको अनुरोध बेवास्ता गर्दा पीडा हुने गरेको उनले सुनाए ।
स्थानीय सरकारले दिने उपचार सुविधा लिनका लागि समेत वडा कार्यालयसम्म पुग्ने आफन्त नहुँदा उनी पीडामा छन् । परिवार र आफन्तका नाममा १२ वर्षिया एक छोरा मात्रै साथमा छन् । युद्ध शान्तिमा परिणत भएपछि देश फर्केका श्रीस एकल महिलासंग बैवाहिक सम्बन्धमा बाँधिए पनि उनको सम्बन्ध लामो समय टिकेन ।
जीवनको साहारा भन्ने एक्लो छोरालाई पनि पारिवारिक वातावरण दिन नसक्दा थप चिन्तामा छन् फरक बहादुर । श्रीसका सहयोगी भरत यादवका अनुसार श्रीस थलिएकोे तीन वर्ष जति भयो । धेरै थलिएको भने तीन महिना भएको छ । श्रीसले दाताको सहयोगले बाँचेका धेरै मान्छे देखेका छन् । समाचारमा विशेष चासो राख्ने श्रीस देशभरका परिघटनाको विषयमा जानकार छन् । ‘सुन्छु कहाँ कहाँ सहयोग उठाएर कति मान्छेको उपचार भएको छ’ उनले भने, ‘मलाई पनि स–सानो सहयोग गरिदिए मेरो फोक्सोको उपचार हुन्थ्यो ।’
कहिले अस्पतालले दिने निशुल्क खाना त कहिले अस्पातलकै कर्मचारीले ल्याईदिएको चिया र पाउरोटीको भरमा उनको प्राण धानिएको छ । छाक टार्न समेत कठिन भएकाले सहयोगको याचना गर्नुपरेको उनको गुनासो छ ।





