पोखरा/ गत माघ २६ गते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई खेलकुदमा सदस्य नियुक्तिमा राजनीति नगर्न भने । जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको आय व्यय सार्वजानिक तथा अन्तरक्र्रिया कार्यक्रममा खेलकुदमा राजनीति नगर्न उनले कडा भाषामै आग्रह गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति खाली छ । सबैको समयावधि सकिएपछि त्यहाँ पनि अहिलेसम्म नियुक्त हुन सकिरहेको छैन् । मेयर आचार्यले भने झै गण्डकी प्रदेशका खेलकुद मन्त्रीले यतिबेला खेलकुदमा नियुक्तिको विषयमा आन्तरिक भागभन्डा मिलाउन सकिरहेका छैनन् । उनले जिल्ला खेलकुद विकास समितिदेखी प्रदेश खेलकुद परिषदसम्म नियुक्ति गर्दा कांग्रेसभित्र आन्तरिक भागबन्डा मिलाउनै धौ–धौ भयो । उसो त उनी आफैले पनि ११ वटा जिल्लाकै जिल्ला खेलकुद विकास समितिका पदाधिकारी नियुक्तिसंगै सपथ ग्रहणको क्रममा राजनैतिक भागबन्डा अनुसार कांग्रेस र एमालेले भागबन्डा गरेको बताएका थिए । प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य खाली हुँदा उनले टुंग्याउन सकिरहेका छैनन् । कुल १३ जना सदस्य चाहिने परिषद्मा एक जना सदस्यको समय सकिएको छैन् । विनय थापा २०८० भदौमा मनोनित भएकाले उनको म्याद बाकीँ छ । उनी बाहेक अन्य सदस्यको समय सकिएको छ । अर्थात अब १२ जना सदस्य नियुक्ति गर्न बाँकी रहेको छ । यसको नियुक्ति मन्त्रीपरिषद्बाट हुनेछ । स्रोतका अनुसार एमालेले आफ्नो भागमा परेकाको नाम टुंग्याएको छ ।
‘कांग्रेसबाट भने दुई दर्जन जतिको चाहना भएपछि आन्तरिक रुपमा भागबन्डा मिलाउनै सकेका छैनन्’ स्रोतले भन्यो । कांग्रेसबाट चर्चामा आएकाहरु ओम बस्नेत, मदन केसी, इन्द्रा मल्ल, विजय आले, विक्रम थकाली, लक्ष्मी पाण्डे, दिपेन्द्र श्रेष्ठ, सुजन बरुवाल म्याग्दी, खेम गुरुङ, रेखामाया गुरुङ, भेनिस थापा, सुमन श्रेष्ठ कास्की, सीता गुरुङ लगायत रहेका छन् । यस्तै एमालेबाट दिलबहादुर गुरुङ, खगेन्द्र क्षेत्री, केशव पाठक, कञ्चन थापा, हरि वरुवाल, ऋषि गौतमको चर्चा रहे पनि एमालेतर्फ भने करिब टुंगिएको छ । परिषद्को सदस्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गरेका एक जना महिलासहित तीन जना, प्रदेश, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुदमा विशेष योगदान पु¥याएका पाँच जना महिलासहित १० जना नियुक्ति हुनेछन् । जसअनुसार ६ जना महिला र ६ जना पुरुष नियुक्ति गर्ने प्रावधान छ । परिषद्को उपाध्यक्षको कार्यकाल भने भदौसम्म रहेको छ ।
महानगरपालिकाको हालत पनि उस्तै
उता महानगरपालिका खेलकुद विकास समिति पनि रिक्त भएको लामो समय वितिसक्दा समेत नियुक्ति हुन सकेको छैन् । २०७८ जेठ ५ गते दिपक गोदारलाई अध्यक्षमा नियुक्ति गरिएको थियो । अहिले उनको कार्यकाल सकिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलकुदमा राजनिति गर्न नहुने तर्क राखेका छन् । उनले महानगरपालिकाको खेलकुद विकास समिति र पोखरा प्रज्ञा प्रतिष्ठानको छिट्टै टुंगो लाग्ने सुनाए । लामो समय भइसक्दा समेत अध्यक्ष कस्लाई बनाउने भन्ने महानगरमा अन्योलता रहेको छ । महानगरमा दिपक गोदार पुनः दोहोरिने चर्चा चलिरहँदा निर्वाचनको समयमा मेयरलाई सघाउने पोखरा रंगशालाभित्र जिम हल सञ्चालन गर्दै आइरहेका नुना गुरुङको पनि नाम चर्चामा आउने गरेको छ । महानगरभित्र समेत राजनैतिक कारणले नै अहिलेसम्म समितिले पूर्णता पाउन सकेको छैन् ।





