बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिउँ देखिने मुस्ताङमा लामखुट्टे र किराको प्रकोप

हिउँ देखिने मुस्ताङमा लामखुट्टे र किराको प्रकोप

गण्डकी प्रदेश सभाका सदस्य विकल शेरचन त जलवायु परिवर्तनको असरले मुस्ताङमा पानीको श्रोत घटेको, पानी नपर्ने जिल्लामा घनघोर वर्षाले बाढी निम्तेको, उत्पादनमा समेत ह्रास आएको बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

बागलुङ/जोमसोमको नमूना आधारभूत विद्यालयमा अध्यापन गराइरहेकी शिक्षक पुनम पौडेलले आफ्नो कोठमामा पहिलो पटक लामखुट्टे देखेर दंग परिन्् । पुनम मुस्ताङकै स्थायी बासिन्दा हुन् । चिसो जोमसोममा झुल टाँगेर सुत्नुपरेको उनले गुनासो गरिन् । उनले पछिल्लो दुइ वर्षदेखि लामखुट्टेको सामना गरेको बताइन् ।

चार फिटसम्म हिउँ जमेर विद्यालय बन्द गरेको सम्झना उनलाई ताजै छ । तर पछिल्लो चारपाँच वर्षदेखि बजारमा मात्र हैन, जोमसोम विमानस्थल र कालीगण्डकी पारीको डाँडामा पनि हिउँ नपरेको उनले बताइन् । ‘हामीले हिउँ जम्मा गरेर स्नोमेन बनाउन नपाएको दश वर्ष भैसक्यो’ उनले भनिन्, ‘मध्य हिउँदमा पनि हिउँ खसेको देख्न पाइएन ।’

जोमसोमका शेरबहादुर गुरुङले पनि लामो समयदेखि हिउँ नपरेपछि मुस्ताङमा गर्मी बढेको, खेतीपातीमा सिंचाइ नभएको र स्याउमा किरा लाग्न थालेको बताए । उनले पनि छिटफुट लामखुट्टेको समस्या भोगेको बताए । त्योभन्दा बढी उनलाई स्याउ उत्पादनमा असर परेकोमा चिन्ता छ । ‘अहिले स्याउमा किरा लाग्न थालेको छ, देख्दै नदेखेका किराले स्याउको रंग खाइदिएको छ’ गुरुङले भने, ‘औषधी प्रयोग गरौं की नगरौं, गरौं भने उत्पादनमा झन् समस्या होला भन्ने चिन्ता छ ।’ जलवायु परिवर्तनले हिउँपर्ने मुस्ताङमा आरीघोप्टे पानी पर्न थालेको उनी गुनासो गर्छन् । त्यसले बाढी पहिरो निम्तेको उनले बताए ।

हिउँ पग्लेर स्याउ, तरकारी लगायतको बारीमा सिंचाइ बन्थ्यो । अहिले पानी नभएर खेतीको उत्पादन पनि घटेको छ । मार्फाका कृष्णबहादुर लालचनले जमिन तातेको गुनासो गरे । ‘खानेपानी हिउँ पग्लेर बगेको स्थानमा धारा बनाएर खान्थ्यौं, अहिले हिउँ भेटाउनै मुस्किल छ’ लालचनले भने, ‘हिउँ नपरेपछि स्याउमा छिर्कामिर्का र किरा देखिन थालेको छ ।’

रातो स्याउभन्दा चाउरी परेका, घाउ र छिर्का भएकोले बिक्रीमा समेत समस्या पर्न थालेको उनले बताए । मुस्ताङको प्रमुख बाली स्याउ हो । त्यस बाहेक आलु, उवा, जौं लगायतको खेती भएपनि सिंचाइ अभावले पर्याप्त उत्पादन हुन नसकेको उनको भनाई छ ।

गण्डकी प्रदेश सभाका सदस्य विकल शेरचन त जलवायु परिवर्तनको असरले मुस्ताङमा पानीको श्रोत घटेको, पानी नपर्ने जिल्लामा घनघोर वर्षाले बाढी निम्तेको, उत्पादनमा ह्रास आएको बताउँछन् । ‘जलवायु परिवर्तनले मुस्ताङबासीले प्रभाव खेपेका छन्, त्यसको क्षतिपुर्ति शक्ती राष्ट्रहरुले तिर्नुपर्छ’ उनले भने, ‘नेपाल सरकारले पनि जववायु परिवर्तन अनुकुलन योजना बनाउनुपर्छ ।’

दुइ वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले जोमसोम पुगेर ठूला देशको गल्तीको सजाय मुस्ताङले भोग्नुपरेको भन्दै अनुकुलन योजना निर्माणमा ५० करोड दिने घोषणा गरेको तर नदिएको शेरचनले टिप्पणी गरे । अझैपनि मुस्ताङबासी राज्यको अनुकुलन योजना र क्षतिपुर्तिको प्रतिक्षामा बसेको शेरचनले बताए ।

सबैभन्दा कम पानी पर्ने, हिउँमात्रै पर्ने मुस्ताङमा अघिल्लो वर्ष अत्याधिक वर्षातले कागवेनी बगाउँदा करोडौंको क्षति भयो । अझैपनि पुननिर्माण भैसकेको छैन । जोखिम उस्तै छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनले पानी नपर्ने जिल्लामा आरीघोप्टे बर्षाको सामना गर्नुपरेको गुनासो गरे ।

अत्याधिक वर्षात् हुन थालेपछि मुस्ताङमा माटोले बनेका घर जस्ताले छाउन थालिएको छ । बाढीले खोलाका बहाव फेरिएका छन् । पहिला साना पुल पुलेसाले चलेको स्थानमा अहिले खोला तर्न मुस्किल छ । बगरले कालीगण्डकी र सहायक नदी तथा खोलाको सतह भरिएको छ । यही क्रमले बगर थुप्रिंदै गयो भने जोमसोम बजार नै जोखिममा पर्ने लालचन गुनासो गर्छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको लोमान्थाङ मिडिया समिटमा स्थानीयले पनि हावापानीमा आएको परिवर्तनको असरबारे पत्रकारमाझ खुलेर बहस गरेका थिए ।

मुस्ताङको लेतेदेखि मार्फा, जोमसोम, कागवेनी र मुक्तिनाथ सम्मका पहाडमा पहिरो नै पहिरोले उजाड बनेको छ । कालीगण्डकी आसपासका किनारमा पनि पहिरो खसेर नदीको बहाव समेत परिवर्तन भएको देखिन्छ । जववायु परिवर्तन र त्यसको असरबारे मुस्ताङबासी चिन्तित छन् । उनीहरुले तत्काल जववायु परिवर्तन अनुकुलन योजना बनाएर मुस्ताङको वातावरण जोगाउनुपर्ने माग गरेका छन् ।

कृषि अधिकृत रोशन थकालीले तापक्रम बढेकै कारण स्याउमा समस्या देखिएको बताए । पत्ले किरा लगायत स्याउनमा लागेको, झुसिल किराले पातमा प्वाल पार्ने काम गरेकोले कृषि ज्ञान केन्द्र र पालिकाले ५० प्रतिशत अनुदानमा औषधी बितरण गरेका छन् । हिउँदमा ‘डरम्यान वेल’ र वर्षातमा ‘एचएमओ’ नामको औषधी बितरण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->