‘मानिस महिला भएर जन्मिदैन तर विस्तारै महिला बन्छिन् ।’
द बोउभारको यो भनाइमा गहिरो मर्म लुकेको छ । यस वर्षको महिनावारी स्वास्थ्यता दिवसको नारा ‘सँगै मिलौं, महिनावारीमैत्री संसारका लागि’ भन्ने रहेको छ । यहाँ ‘सँगै’ले पुरुषतिर चोरीऔंला तेस्र्याएको हुनुपर्छ । ‘पीडामा ऊ एक्ली नहोस्, साथ देऊ । बोल्नु पर्दैन, महिनावारी उसका लागि हो तर उत्तरदायित्व त हाम्रो हो हैन ?’
यहि ‘हो’ को भावले गर्दा मलाई यो लेख लेख्न अग्रसर बनायो । यो अन्तर्राष्ट्रिय दिवस हो । यो दिवसको औपचारिक सुरुवात सन् २०१४ जर्मनस्थित मुख्य कार्यालय रहेको संस्था वास युनाइटेडबाट गरिएको हो । नेपालले यो दिवसको घोषणा लगतै छाउपडी प्रथाविरुद्धको कानूनी पहल, महिलामैत्री शौचालयको विकास र पाठ्यक्रममा महिनावारी शिक्षा समावेश गरेको थियो ।
अब यो लेखको शीर्षकतिर हेरौं । महिला जन्मजात होइन, समाज र अनुभवबाट निर्माण हुने पहिचान हो । बच्ची जन्मिन्छिन्, तर ‘महिला’ बन्ने क्रम उसको जीवनका भोगाइ, संस्कार, अपेक्षा र भूमिकाबाट आकार लिन्छ । यो रूपान्तरण केवल शरीरको होइन, चेतनाको यात्रा हो । महिनावारी केवल जैविक प्रक्रिया होइन, नारी जीवनको गहिरो अनुभूति हो । यो नारी शरीरको पुनर्जनन चक्र हो । तर, समाजले त्यसलाई लाज, पाप वा कमजोरीसँग गाँसेर अपमान गरिरहेको छ । शौचालय केवल सफाइको स्थान होइन, सभ्यता र सम्मानको सूचक हो । यो शरीरको आवश्यकता पूरा गर्ने संरचना भए पनि आत्मसम्मान, स्वास्थ्य र मानवीय गरिमासँग गहिरो रूपमा गाँसिएको हुन्छ । जहाँ शौचालय छैन, त्यहाँ मौन अपमान बसिरहेको हुन्छ ।
मे २८ लाई महिला महिनावारी स्वास्थ्यता दिवसका रूपमा मनाउनुको अर्थ प्रतिकात्मक छ, महिनामा औसत महिनावारी चक्र २८ दिनको हुन्छ र यो चक्र प्रायः ५ दिनसम्म रहन्छ, जुन कुरा २८÷५ ले जनाउँछ । पाचौं महिनाको २८ तरिकाले नारी शरीरको लयलाई सम्मानपूर्वक सम्झने भाव बोकेको छ । यस दिनले शरीरको विज्ञान र समाजको संवेदनशीलता एउटै बिन्दुमा मिसाएको छ ।
‘जीवन दिने रगतलाई लाजले छोपिन्छ तर युद्धमा बग्ने रगतलाई गीत गाएर गौरव गरिन्छ ।’ महिनावारीको रगत, जुन सृजनाको प्रतीक हो, लाजको पर्दाभित्र थुनिन्छ तर युद्धको रगत, जुन विनाशको संकेत हो, त्यसलाई वीरता मानेर गौरव गरिन्छ । के हामी सही रगतको सम्मान गरिरहेका छौं ? मासिक धर्म कुनै लाजको विषय होइन । तर, आज पनि यो वा त्यो नाममा महिला अस्तित्व र सम्मानमाथि मौन हमला भइरहेकै छ ।
यस्ता भेदभावपूर्ण व्यवहारहरू गैरकानुनी र अमानवीय हुन् । संयुक्त राष्ट्रसंघ र त्यसका निकायहरूले यसलाई अपराध ठहर गरेका छन् । नेपालको संविधान र कानुनले पनि यस्ता व्यवहारलाई दण्डनीय मानेको छ । तर अझै पनि संसारमा छाउपडीभन्दा पनि बढी अमानवीय अभ्यासहरू धर्मको नाममा कतै न कतै भइरहेका छन् । यो प्रकृतिको नियमलाई कलङ्क बनाइएको हो । यो संस्कार होइन । यो संकीर्णता हो ।
साहित्यकार पाउलो कोएल्हो भन्छन्, ‘जब तपाईं अरूका लागि हो भन्नुहुन्छ, तब हेर्नुहोस् कतै आफैंलाई होइन त भनिरहनु भएको छैन ?’ महिलाले आत्मसम्मान र स्वतन्त्रताको पक्षमा ‘हो’ भन्नै पर्छ, चाहे धर्मले त्यसको प्रतिवाद नै किन गरोस् । पहिलोपल्ट महिनावारी चलेकै कारण यदि कुनै किशोरीलाई अपराधीझैँ व्यवहार गरिन्छ भने उनको आत्मविश्वास चकनाचुर हुन्छ । मनोविश्लेषक कार्ल गुस्ताव युङ भन्छन्,‘जिन्दगीको सबैभन्दा ठूलो विशेषाधिकार भनेको आफू वास्तवमै जो हो, त्यही बन्नु हो ।’ लक्ष्मीप्रसाद देवकोटाले नारीलाई सिर्जना र कोमल फूलसँग तुलना गर्दै लेखेका छन, ‘कहिलेकाहीँ समाजले बनाउँछ काँडाको बगैचा, जहाँ फूलहरू बाँच्न त सक्छन्, तर फूल्न सक्दैनन् ।’ साहित्यले चेतना बोल्छ । नाइजेरियन लेखिका चिमामान्डा अडिची भन्छिन,‘जुन समाजले महिलाको सरसफाइबारे खुलेर बोल्न सक्दैन, त्यो महिला सम्मानको दाबी गर्नै सक्दैन ।’ कवयित्री पारिजातले लेखेकी छन,‘शरीर त मेरो, तर निर्णय अरूको शौचालयमा पनि म स्वतन्त्र छैन ।’ यस्तो अभिव्यक्ति केवल व्यक्तिगत असहजता होइन, समाजको ढाँचागत बेवास्ताको चित्र हो ।
आजभोलि जताततै समतामूलक समाजको नारा घन्काइन्छ । भाषण गरिन्छ । तर समानता त्यत्तिकै साकार हुँदैन । समता बिना समानता अधूरो हुन्छ । जबसम्म एउटी किशोरी विद्यालयमा सहज महसुस गर्न सक्दिनन्, जबसम्म एउटी श्रमिक महिला कार्यस्थलमा महिनावारीका दिनहरू निशंकतापूर्वक बिताउन सक्दिनन्, तबसम्म समानताको नारामा आत्म हुँदैन । समानता भनेको सबैलाई एउटै दृष्टिले हेर्न सक्ने चेतना हो भने समता भनेको सहानुभूति, सन्दर्भ र आवश्यकताको समायोजन हो ।
दार्शनिक अमत्र्य सेन भन्छन, ‘न्याय केबल संस्थाहरूको विषय होइन, यो क्षमताको विषय पनि हो ।’ यदि मासिक धर्मले महिलाको शैक्षिक, सामाजिक र भावनात्मक क्षमता अवरुद्ध गर्छ भने त्यो स्वास्थ्यको मात्र होइन, न्यायको पनि प्रश्न हो । महिलाको जैविक सत्यलाई स्वीकार्ने साहसविना हाम्रो विकास अधुरो रहन्छ । जबसम्म महिलाहरू आफ्ना अधिकार, शरीर र गरिमाका सवालमा सचेत हुँदैनन्, सशक्तीकरण केवल भाषणमै सीमित रहन्छ ।
इतिहासकार अर्नोल्ड टोयनबी भन्छन्,‘सभ्यताहरू हत्या भएर होइन, आत्महत्या गरेर मर्छन् ।’ आजको सन्दर्भमा मासिक धर्म स्वास्थ्यता केबल प्याडको पहुँच र शौचालयको अवस्थासँग मात्र होइन, समग्र मानवीय चेतना, सहानुभूति र नारी गरिमाको पुनःस्थापनासँग जोडिएको विषय हो ।
नेपालमा सन् २०१४ मा स्थापित राघा पौडेल फाउन्डेसन एक नवीन चेतनाको हकदारी संस्था हो, जसले ‘गरिमामय महिनावारी’ भन्ने अपधारणा बोकेर नारी अस्तित्वको मौलिक सम्मानको वकालत गर्दै आएको छ। यस संस्थाले डिसेम्बर ८ लाई ‘अन्तर्राष्ट्रिय गरिमामय महिनावारी दिवस’ को रूपमा घोषणासहित मनाउँदै आएको छ । यसमा विभिन्न मुलुकहरूको संवेदनशील सहभागिता पनि रहदै आएको छ। । महिनावारी केवल स्वास्थ्य र सरसफाइको विषय होइन, यो त नारीको मानव अधिकार, गरिमा र लैङ्गिक समानताको संवेदनशील प्रतिविम्ब हो भन्ने विश्वास संस्थाले लिएको पाइन्छ ।
शिक्षा, नीति र संवादको सशक्त संयोजनमार्फत् संस्था जागरणको दियो बाल्दैछ । अन्तर्राष्ट्रिय कार्यशाला, शैक्षिक सामग्री प्रकाशन, अनलाइन संवादहरू र नीतिगत पैरवी यसको कार्यगत विधि रहेको देखिन्छन् । विशेष गरी किशोरीका लागि तयार पारिएको शैक्षिक सामग्री कक्षा ९ र १० का पाठ्यपुस्तकमै समेटिनु यस अभियानको गहिरो प्रभावको प्रमाण हो । यस संस्थाले ‘महिनावारी स्वस्थ्यता दिवस’ मा नारी अनुभव, पीडा र परिष्कारको कथा बोली रहेको छ ।
अब महिनावारी स्वस्थ्यतासँग जोडिएको विषय शौचालय संस्कृतितर्फ फर्केर हेरौं । मानव सभ्यताको इतिहासमा केही पक्षहरूले सभ्यता र असभ्यताको सीमारेखा कोरेका छन् । शौचालय संस्कृति त्यस्तै एक आधार हो । शौचालय एउटा शारीरिक प्रक्रिया मात्र होइन, चेतना, स्वाभिमान, स्वास्थ्य र सामाजिक समानताको प्रतिविम्ब पनि हो । आज घर परिवारको सभ्यता स्तर मापनको दरिलो सूचक शौचालयलाई लिने गरिन्छ ।
नेपालका केही दुर्गम गाउँहरूमा खुलेआम दिसापिसाब नगर्ने कसम, तामझामसहित देवीदेवताका अगाडि खुवाइन्छ । ‘खुला दिसामुक्त गाउँ’ लेखेर ठूलो बोर्ड टाँगिन्छ घोषणा गरिन्छ। तर ती कसमहरू काँचो माटोझैँ फुट्छन् । कसममा चेतनाले काम गरिरहेको हुदैन। कतिपय स्थानमा कुनै गैर सरकारी सस्थाले बनाइ दिएका शौचालय बाख्राका खोर बनेका पनि छन् । यी दृश्यहरू केवल गरिबीको होइन, चेतनाको हो । आजभोलि कतै बाटो छेउ, कुना, खोल्सा आदि ठाउँमा कसैले फोहर नगरोस् भन्नखातिर राता धजा बाँध्ने गरेको पनि पाइन्छ। कतिपय दुर्गम गाँउका मानिसहरूले जटिल राजनैनिक शिद्धान्तको व्याख्या त गर्छन् तर सामान्य सरसफाइ बारे ज्ञान राखेको देखिँदैन । दार्शनिक माया एन्जेलो भन्छिन्,‘जबसम्म तपाईं राम्रो जान्नुहुन्न, सक्दो राम्रो गर्नुहोस् । तर जब राम्रो जान्नुहुन्छ, तब झन् राम्रो गर्नुहोस् ।’ यहाँ त न ‘जान्ने’ प्रयास छ, न ‘सुधार्ने’ आँट । कसमभन्दा चेतनाको दियो बल्न र बाल्न सके मात्र साँच्चिकै परिवर्तन सम्भव हुन्छ ।
‘महिलामैत्री शौच व्यवस्था’ को कुरा उठेको लामै समय भैसकेको छ । विश्वका धेरै देशहरूमा अझै पनि सार्वजनिक महिला शौचालयहरू सुरक्षित, स्वच्छ र सुविधासम्पन्न छैनन्। अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका अनुसार महिलाले फोहोर शौचालयमा टुक्रुक्क बसेर पिसाब गर्दा युरिनरी ट्रयाक इन्फेक्सन कोजोखिम दोब्बर हुन्छ । नेपालका शहरी क्षेत्रका सार्वजनिक शौचालयहरू अपुग मात्र होइन भएकाको अवस्था पनि दयनीय छ । अस्पताल र विद्यालयका शौचालयहरू अधिकांश गैरमहिलामैत्री र फोहरयुक्त छन् ।
हाल नेदरल्यान्ड्स, जर्मनी, जापान र क्यानडामा महिलाहरूका लागि शौचालयमा ‘स्ट्याण्ड एण्ड पी’उपकरणहरू प्रयोग गरिएका छन् । यसले महिलालाई पनि उठिउठि पिसाब फेर्न सम्भव तुल्याएको छ । अहिले स्मार्ट शौचालय प्रबिधिले समेत बिस्तार लिइरहेको छ । विश्व स्वास्थ्य संगठनले महिलाको स्वास्थ्य अधिकारको केन्द्रमा सुरक्षित शौचालय, गोपनीयता र स्वच्छ पानीलाई राखेको छ । भारतका केही सहरमा रहेका महिला शौचालयमा सेनेटरी प्याड, डिस्पोजल मेसिन, वाशिङ स्टेशन जस्ता सुविधाहरू उपलब्ध छन् । नेपालमा यस्तो प्रयोग अति सीमित मात्रामा देखिएको छ ।
शौच संस्कृतिको अर्को पक्ष हो, बालिकाहरूलाई दिसा पुछ्ने तरिकाबारे शिक्षा । दिसा गरेपछि अघिल्तिरबाट पछाडितिर पुछ्नु वा धुनु उपयुक्त हुन्छ, ताकि संक्रमण गुद क्षेत्रबाट मूत्रमार्गमा नपसोस् । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यस्तो व्यवहार बाल्यकालदेखि सिकाउन आग्रह गरेको छ । दुर्भाग्यवश, हाम्रो पाठ्यक्रममा यो कुरा समावेश छैन । धेरैजसो आमाहरूको यसप्रति ध्यान गएको देखिदैन । विद्यालय र परिवारमा किशोरी शिक्षाको आवश्यकता महसुुस गर्न थालिएको छ ।
नेपाल भारत जस्ता देशहरूमा पानीले दिसा धुने परम्परा रहेको छ । लुज पाइप, बाल्टिन, देब्रे हात—यी केवल सरसफाइका उपाय मात्र होइनन्, संस्कार पनि हुन् । तर, विकसित देशहरूमा टिश्यु पेपरमा आधारित संस्कृति रहेको छ, जहाँ पूर्ण सरसफाइ सम्भव छैन । डा. नीना रेड्डी भन्छिन, ‘पानी प्रयोग गर्दा गुद क्षेत्र राम्रोसँग सफा हुन्छ, जसले संक्रमणको सम्भावना घटाउँछ ।’
हिन्दु, बौद्ध, इस्लाम धर्महरूमा पनि सफाइलाई आध्यात्मिक आवश्यकताको रूपमा हेरिएको छ । धर्मसूत्र अनुसार दिशापछि पानी प्रयोग नगरी धार्मिक कार्य गर्न मिल्दैन। सुश्रुतसंहितामा उल्लेख छ,‘योनि र गुद क्षेत्र सफा राख्नु स्त्रीत्वको रक्षाको मूल हो ।’ योगाचार्य अयंगार भन्छन, ‘शुद्ध शरीर नारीको शक्ति हो—यसलाई लाज होइन, गौरवको रूपमा लिनुपर्छ ।’
महिनावारी र शौचालय यी दुवै विषय मानव शरीरका प्राकृतिक आवश्यकता र प्रक्रियासँग गाँसिएका छन् । तर समाजले अझै पनि यी दुबै कुरालाई लाज, पाप र अपवित्रताको खोलभित्र थुनेर राखेको छ । महिनावारी जीवनदायिनी शक्ति हो । शौचालय त्यो गरिमा जोगाउने स्थल हो। तर यिनै माध्यमबाट महिलाको गरिमा कुल्चिइ राखिएको छ । यो केवल स्वास्थ्यको संकट होइन,चेतनाको असफलता हो ।
महिनावारीमैत्री संसार निर्माण तबमात्र सम्भव हुन्छ, जब हामी भौतिक पूर्वाधार जस्तै सुरक्षित र स्वच्छ शौचालय, गुणस्तरीय सामाग्री र सहज स्वास्थ्य सेवाका साथै चेतनाको गहिरो तहसम्म पुग्न सक्छौं । चेतनाको त्यो तह जुन केवल शैक्षिक प्रमाण(पत्रको अङ्कमा होइन, जीवनमै अनुभूत गरिने यथार्थले विकसित हुन्छ । महिलाको शरीर र आवश्यकतालाई बुझ्ने क्षमता पुरुषमा पनि विकास हुनुपर्छ । भारतमा २०१८ मा रिलिज भएको चलचित्र एबमःबल मा समाजले पागल भनेपनि सस्तो स्यानिटरी प्याड घरघरमा पुर्याउने पुरुष लक्ष्मीकान्त जस्तै हुनु पर्ने देखिन्छ । किनभने घरको निर्णयको चाबी अझै पनि धेरैजसो पुरुषकै हातमा छ । के अहिले महिलाले चाहेर शौचालयको रूप परिवर्तन गर्न सक्छिन ? लोग्ने शिक्षित र जागरुक भए मात्र श्रीमतीको महिनावारी र शौचालयको उचित व्यवस्थापन हुन समय लाग्ने छैन ।
अन्तर्चेतनाको तेस्रो आँखा (प्रच्छन्न इन्द्रिय) ले समस्यालाई मात्र देख्दैन, समाधानको बाटो पनि देख्छ । मनोवैज्ञानिक कार्ल युङले भनेका छन्, ‘जो बाहिर हेर्छ, ऊ सपना देख्छ । जो भित्र हेर्छ, ऊ जागृत हुन्छ ।’ भोलि कहिल्यै आउँदैन । क्षणहरूको हरणमा नै जीवनको सार हराउँछ । महिनावारी र शौचालय जस्तो संवेदनशील पक्षको सुधारको सोचलाई मुर्तता दिन ढीला नगरौँ । घरैबाट सुरु गरौं । आज नगरे कहिले ? यदि हामीले होइन भने, अरू कसले ? यहि हो कर्मको पुकार ! अन्तर्राष्ट्रिय महिनावारी स्वस्थ्यता दिवस २०२५को शुभकामना ।
(बागलुङ गलकोटका पाण्डे व्यवहार कुशल सीप तथा योग विज्ञानका विद्यार्थी हुन्, हाल उनी युएसए क्यालिफोर्नियामा छन् । सं.)





