बागलुङ (खर्वाङ)/बडिगाड गाँउपालिका ३ सिसाखानीका स्थानीय समिर पुन र भीषण घर्ती बाल्यकालदेखि नै सतिघाँटु ओखरको बोटमुनि हेर्दै आएको स्मरण गर्छन् । सतिघाटु नाँच देखाउने होस वा हेर्ने समिर र भीषण जस्तै सिसाखानीका स्थानीय ओखरको बोटलाई सम्झिन्छन् । सिसाखानीमा ठूलो ओखरको रुख छ । त्यसको फेदमा घाँटु नाँच्छन् भन्ने सबैलाई थाहा छ । बैशाख पूर्णिमामा म पनि घाटु हेर्न त्यहाँ गएको छु भन्नेहरु धेरै भेटिन्छन् ।
सतिघाँटु पौराणिक धर्म ग्रन्थहरुमा आधारित रहेर गाइने गीत र त्यसैमा प्रस्तुत गर्ने नृत्य र हाउभाउ हो । अर्को शब्दमा भन्दा एक शताब्दी अगाडी नेपालमा चल्दै आएको सति प्रथाको अभिनय सहितको नृत्य सतिघाँटु करिब लोप हुने चरणमा पुगिसकेको छ ।
बागलुङ सिसाखानीको परिचय अहिले पनि सतिघाँटुले दिन्छ । सतिघाँटु करिब तीन सय वर्षदेखि त्यहाँ चलेको विश्वास गरिन्छ । यो नाचको सुरुवात चैत्राष्टमीदेखि हुन्छ र दशरा तिथिमा गएर समाप्त हुन्छ । यद्यपि, यो तिथि असार महिनामा पर्ने र त्यतीबेला गाउँघरमा कामको माचो सुरु भैसक्ने भएकाले आजकाल जेठको २० मा घाँटु नाचको विधिवत समापन गरिन्छ । घाँटु नाचको सुरु र समापन गर्दा विधिवत रुपमा पूजा गर्नुपर्छ । चैत्राष्टमीमा सुरु भएको घाटु नाँच विशेषगरी वैशाखे पूर्णिमामा धेरै नाचन्छ । चैतदेखि जेठसम्म तीन महिना मात्रै घाँटु नाच्ने प्रचलन रहेको घाँटु गुरुहरु बताउँछन् ।
‘चैतेदेशैंमा सुरु गर्छौँ र जेठको २० मा पुगेर सक्छौँ,’ घाँटु गुरु कुलबहादुर भुजेल भने, ‘यसको बीचमा पर्ने सबै चाडवाडका तिथिहरुमा नाचिन्छ । त्यति गर्दा पनि गीत नसकिए अन्य समयमा पनि नाचेर जेठमा सक्छौँ ।’ यस पटकको नाच पनि जेठ २० मै सकिएको छ । घाँटुका लागि स्थानीयले चासो देखाए पनि पालिकाबाट केही सहयोग नभएको भुजेलको गुनासो छ । ‘पहिला झनै कष्ट थियो । हामीलाई संस्कृतिप्रति माया छ । कसैले सहयोग नगरे पनि जसोतसो देखाइरहेका छाँै । सरकारले खासै सहयोग गरेको छैन,’उनले भने ।
८३ वर्ष पुगेका पतिराम भुजेलले २५ वर्षबढि समय भयो घाँटु नाच देखाउन थालेको । कुलबहादुर र पतिरामले आफूपछिका पुस्तालाई पनि सतिघाँटु सिकाइरहेका छन् । तर पछिल्लो जेन्जी पुस्तालाई सिकाउने उनीहरुको धोको अझैसम्म अधुरै छ । मोबाइललाई नै आफ्नो संसार ठान्नेहरुलाई घाँटु बुझाउनै नसकिएको उनीहरु बताउँछन् । ‘अहिलेका केटाकेटी र तन्नेरीहरुको सबथोक मोबाइल हो । पुरानो संस्कृतिमा उनीहरुको चासो छैन । उनीहरुलाई घाँटु सिकाउन मन छ, हामी पछि पनि यो संस्कृतिले निरन्तरता पाओस् भन्ने लाग्छ । तर। उनीहरुलाई त मोबाईल र विदेश प्यारो छ हाम्रो संस्कृतिभन्दा,’ उनीहरुले भने ।
अहिलेको घाँटु नाच देखाउने सबैभन्दा कान्छा गुरु हुन् –५० वर्षीय हेमलाल भुजेल । उनले घाटु नाँच नचाउन सिक्दै छन् । भजन गायकका रुपमा आफ्नो छवि बनाएका उनी दुई वर्षदेखि घाँटु गुरुका रुपमा परिचय पनि बनाउन थालेका छन् । हेमलाल भन्छन्,‘हाम्रो संस्कृति बँचाउने हामीले हो । मलाई संस्कृतिको माया छ । भजन गाउँदै हिंडियो । घाँटु पनि त हाम्रो संस्कृति पहिचान हो । यसलाई पनि बचाउन पर्छ । गुरुहरुबाट घाटु सिकेर मैले पनि अरुलाई सिकाउनु पर्छ भनेर यसमा लागेको छु ।’
साथीसंगीको संगतले घाँटु गुरुमा बनेकी ६९ वर्षीया पवित्रा थापाले ब्राह वर्ष भयो घाटु गाउन थालेको । अचेल उनलाई एउटा कुराले मन पोलिरहन्छ । थापालाई पछिल्लो पिंढीले घाँटु नाचलाई चासो नदिंदा दुख लागेको छ । ‘अब गुरुहरु हुन्जेल मात्रै होला घाँटु देखाउने, हामीलाई त साथीसंगीको संगतले सिकियो । अचेल सबै विदेश र सहर बजारतिरको ध्यान गर्छन् । सबै मोबाइले सक्यो । गुरुहरुलाई केही भइहाल्यो भने घाटु कस्ले नँचाउला ?,उनले भनिन् ।
यता वडाध्यक्ष खड्क बहादुर पुन भने सतिघाँटुको गीत लेखन, पुस्तान्तरण तथा विधिको बारेमा लिखित दस्तावेज निर्माण गर्न तयारी थालिएको बताउँछन् । घाँटुको संरक्षण, प्रवद्र्धन तथा प्रचारमा निरन्तर काम भइरहेको भन्दै उनले गुरुहरु वृद्ध हुदै जाँदा घाँटु नै लोप हुने खतरा बढेपछि लिखित दस्तावेज निमार्णका लागि तयारी थालिएको उनले बताए ।
‘घाँटु देखाउन सजिलो छैन, १६÷१७ जनाको टिम हुन्छ । टाढाटाढा लैजान संभव हुँदैन । तर पनि बेला बेलामा विभिन्न मेला महोत्सवमा हामीले घाँटु देखाउन लैजाने गरेका छौँ । अब यसकोे लिखित इतिहास बनाउने काम सुरु गर्दैछौँ,’उनले भने ।
घाँटु नाँचमा ती सबै कुराहरु हुन्छन् । जुन धर्म ग्रन्थहरुमा उल्लेख गरिएका छन् । या त अहिले पनि दैनिक जीवनमा भैरहन्छन् । घाँटु गुरु कुलबहादुर भुजेलका अनुसार, अहिले सिसाखानीमा नाच्दै आएको घाँटु जलजलाको झुलेडाँडाबाट आएको हो ।
घाँटु गीतका मुख्य पात्र राजा पर्शुराम हुन् । उनले दैनिक जीवनमा गरेका र उनका रानीहरुको क्रियाकलापलाई पनि गीतमा उतारिन्छ । पर्शुरामको शिकार खेल्ने बानीको प्रस्तुति पूरै दिनभरी हुन्छ, जसलाई ऐरा खेल्ने पनि भनिन्छ । रानीहरुले बिहान उठेर पँधेरामा नुहाउन गएकोदेखि राजाको मृत्युपश्चात रानीहरु सती गएको कुरालाई पनि गीतैबाट प्रस्तुत गरिने भएकाले यसलाई सतिघाँटु भनिएको कथन छ । रानीहरु सती गएको गीत गाउँदा घाँटु मुर्छित पर्छिन, पछि गीतबाटै उनलाई ब्यूँताइन्छ ।





