पोखरा/ गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी) संगको सहलगानीमा चालु शैक्षिक सत्रदेखि नै नर्सिङ (पिसिएल) र स्वास्थ्य सहायक (एचए) को पढाई संञ्चालन गर्ने भएको छ । बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा नर्सिङ र गोरखाको आँपपिपल अस्पतालमा एचएको पढाई सञ्चालन गर्ने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि चालु शैक्षिक सत्रबाटै पढाई थाल्ने तयारीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भर्खरै एसईई परीक्षाको नतीजा पनि प्रकाशित भएकाले केही दिनमै विद्यार्थी भर्नाका लागि सूचना प्रकाशनको तयारीमा मन्त्रालय छ । दुवै विषयको पढाईका लागि स्वास्थ्य मन्त्रालयले १ करोड २० लाख रुपैयाँ र सिटिइभिटीले १ करोड रुपैयाँ विनियोजन गरेका छन् । दुवै विषयमा केकती विद्यार्थीको कोटा छुट्टाउने भन्ने यकिन भने भइसकेको छैन् ।
सिटिइभिटीले ल्याव, होस्टेल, पुस्तकालयलगायत भौतिक पूर्वाधार र शैक्षिक पाटो सबै व्यवस्थापन गर्नेछ । आधारभूत विज्ञान सिटीइभिटीकै प्रशिक्षकले पढाउने र पहिलो वर्षको पढाईमा प्रदेश सरकारको कुनै पनि लगानी नहुने जनाइएको छ । प्रदेश सरकारको भूमीका भने दोस्रो वर्षदेखि रहने छ । मन्त्रालयका अनुसार दुवै विषयको पढाई निजीमा भन्दा निकै सस्तो हुनेछ । विद्यार्थीले होस्टेलमा खानाको मात्र पैसा तिरे हुन्छ । ‘स्थानीय तहहरुले छात्रबृत्तिमा विद्यार्थीलाई पढाउने र पढाई पछि पालिकामै सेवा गराउन सक्छन् । प्रदेशले पनि पालिकाले जस्तो गर्न सक्छन’, गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले भने, ‘प्रदेशको स्वास्थ्य क्षेत्रमा यो महत्वपूर्ण फड्को हो ।’ यसले नर्स र एच आफ्नै प्रदेशमा उत्पादन हुने उनले बताए । नवलपुरको मध्यबिन्दु अस्पताल, स्याङजन अस्पताल, लमजुङ लगायत अस्पतालहरुमा पनि यस्तै प्रकारका अन्य शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै लैजाने योजना रहेको मन्त्री पाठकको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव एवं चिकित्सा महाशाखा प्रमुख डा.रमेशकुमार केसीले बागमति प्रदेशले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी स्नातक र स्नात्तकोत्तर तहको पढाई सञ्चालन गर्दै आएको बताए । नर्सिङ र एचएको पढाई गर्ने गण्डकी भने पहिलो रहेको उनको भनाई छ ।





