आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘सिलाइ नै जीवन, मेसिन मेरो भगवान’

‘सिलाइ नै जीवन, मेसिन मेरो भगवान’

छोराहरु पढाएर घरखर्च पनि चलाएकै छु, मासिक ४०/५० हजार कमाएको छु । मिहिनेतले दुःखलाई जित्न सकिने रहेछ ।


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८२, सोमबार

बागलुङ/बिहान उठेर मन्दिर गएर पुजा गर्नेहरुको भीडमा लक्ष्मीले भने आफ्नै मेसिन पुज्छिन् । भन्छिन्–‘मेसिन नै मेरो भगवान हो ।’ जसले खान लाउन दियो, जसले जीवनलाई सफल बनायो, त्यही भगवान हो नि ।

बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित भित्री गल्लीमा बसेर वर्षौदेखि सिलाइको काम गर्दै आएकी ३७ वर्षीया लक्ष्मी आफ्नो पेशालाई पहिलो प्राथमिकता दिन्छिन् । प्राथमिकता मात्र हैन, उनले जीवनको सफलता नै सिलाइको काम भन्ने बनाएकी छन् । सँगैका धेरै साथी विदेश हानिए पनि उनी चाहिँ लागेको भिसा पनि रोकेर सिलाइमा व्यस्त छिन् । लक्ष्मीको सानो पसल छ । त्यहीं पसलमा ८ मेसिन छन् । एक्लै भए पनि ती सबै मेसिनमा उनले नियमित काम गर्छिन् । उनको पसलमा कामदार छैनन् । तर, उनको मिहिनेत र कमाइ निकै लोभलाग्दो छ ।

बरु हरेक दिन उनको पसलमा १०÷१५ जना महिला सिलाइ सिक्न पनि आउने गर्छन् । त्योभन्दा धेरै उनले बोलाएकी छैनन् । भाडाको सानो छाप्रोमा धेरैलाई काम सिकाउन पनि सकिँंदैन । त्यसैले दैनिक १२ देखि १४ घण्टा आफै काम गरेर उनले मिहिनेत र सफलताको उदाहरण दिएकी छिन् ।

काठेखोला गाउँपालिका वडा नं. ८ को लेखानीमा जन्मेर सदरमुकाममा बस्दै आएकी ३७ वर्षीया लक्ष्मी श्रेष्ठको अनौठो मिहिनेत र साहसको कथा छ । त्यही साहसले उनले शून्य अवस्थाबट राम्रो व्यवसायी बनेकी हुन् । पति बिरामी पर्दा उनको काखमा दुई सन्तान थिए । पतिकै उपचारमा ५ वर्षसम्म जुट्नुप¥यो । २०७० ताका उनले धेरै दुःख पाइन् । ऋण खोजेर उपचार गराइन् । खानेबस्ने र दुई छोरा पढाउने चुनौतीले श्रेष्ठलाई पिरोल्न थाल्यो । सीप सिकेर रोजगार बन्ने उपायको खोजीमा लागिन् ।

ऋण खोजेर उनले ६ महिनाको सिलाइ तालिम लिइन् । त्यसबाट उनले मेसिन किनेर सिलाउने निधो गरिन् । मेसिन किन्ने पैसा नभएपछि उनले केही समय सहकारीको बजार प्रतिनिधि भएर काम गरिन् । त्यो कामले पाएको तलबबाट उनले सिलाई मेसिन किनिन् । लक्ष्मीलाई सिलाइ कटाइ गरेर कमाइ गर्ने, पति बिरामी पर्दाको ऋण तिर्ने, छोराहरु पढाउने धोको थियो । ऋण र सहयोग माग्ने कोही नभएकोले उनले एक्लै धेरै मिहिनेत गरिन् । केही कमाइ हुन थाल्यो । तर, बजारमा महंगो सटर भाडामा लिएर काम गर्दा नाफा निकाल्न नसकेपछि उनले भित्री गल्लीमा डेरा सारिन् । दैनिक १२ देखि १४ घण्टासम्म काम गरेर केही पैसा जोडेपछि बल्ल हिम्मत आयो । बजारमा पुगेर अर्डर लिने र तोकेकै समयमा कपडा सिलाइ दिने गरेपछि लक्ष्मीलाई सबैले विश्वास गर्न थाले ।

एउटा मेसिनले पुग्न छाड्यो । समय अनुसार फेसनका कपडा सिलाउनु पर्ने भएपछि उनले थप मेसिनको जोहो गर्न खोजिन् । त्यतिबेला भने स्थानीय सामाजिक अगुवा केवी रानामगरले ऋण सहयोग गरे । रानाले संचालन गरेको धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी) मार्फत लक्ष्मीलाई व्यवसाय र मेहेनतकै लागि बिना धितो ५ लाख रुपैयाँ मेसिन किन्ने र व्यवसाय बढाउने बीउ पूँजी दिए । उनले त्यो ऋण किस्ताबन्दीमा इमान्दारपुर्वक तिरिसकिन् । रानामगरले उनलाई थप तालिममा बोलाए । त्यहीं लिएको तालिमपछि २०७५ सालमा लक्ष्मीले सिटिइभिटीको लेबल १ को परीक्षा उत्तीर्ण गरिन् ।

नगरपालिका र घरेलु उद्योगमा व्यवसाय दर्ता पनि गरिन् । त्यसपछि भने उनले चाहे अनुसारका फरक–फरक मेसिन र सामाग्री किनेर व्यवसाय बढाउन थालिन् । लक्ष्मीले अहिले ८ वटा मेसिन राखिसकेकी छिन् । एक इन्टरलक मेसिन, १ पिको मेसिन र बाँकी विभिन्न प्रकृतिका मेसिन राखेर उनले व्यवसायलाई बढाएकी छन् ।

अहिले उनलाई फोन गरेर अर्डर आउँछ । पसल खोज्दै धेरै ग्राहक पुग्छन् । आधुनिक मेसिन आयो भने उनलाई किनेर ल्याउन मन लाग्छ । ‘मलाई मेरो मेसिन नै भगवान हो भन्ने लाग्छ, त्यसैले १५ वर्ष अघिको पनि बेचेकी छैन, आधुनिक पनि चलाइरहेकी छु,’ उनले भनिन्, ‘मलाई जुन मेसिनले चिनायो, त्यसलाई बेच्ने हैन, सदुपयोग गरिरहन्छु ।’ अहिले त लक्ष्मीले धेरै दिदीबहिनीलाई सिलाई सिकाउँछिन् । डिआइआरडिसीले पनि लक्ष्मीलाई प्रशिक्षकको रुपमा बोलाउने गरेको छ ।

अहिले लक्ष्मीले घरखर्च कटाएर मासिक ५० हजारबढी कमाउन सक्ने भएकी छन् । सिलाईबाटै उनले समृद्धिको सपना देखेको बताइन् । ‘छोराहरु पढाएर घरखर्च पनि चलाएकै छु, मासिक ४०/५० हजार कमाउन पनि सकेकी छु,’ उनले भनिन्, ‘मेहेनत गर्न सकियो भने दुःखलाई जित्न सकिने रहेछ ।’ उनको उमेरका धेरै साथी विदेश उँड्दा उनी कहिले त निराश बन्थिन् । अहिले भने विदेशमा बस्नेकोभन्दा राम्रो कमाइ र प्रतिष्ठा पाएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->