आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संभव छ बागलुङमा व्यवसायिक सूर्यमुखी खेती ?

संभव छ बागलुङमा व्यवसायिक सूर्यमुखी खेती ?

‘अहिलेसम्म हामीले तेलहनबालीलाई व्यवसायिक बनाउनै सकेका छैनौं, यो त झनै नयाँ हो’ कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले भने, ‘किसानको उत्साहलाई सम्बोधन गर्ने र बजारीकरणमा साथ दिने प्रयास गर्नेछौं ।’


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०८२, बिहिबार

बागलुङ/सूर्यमुखी फूलको तेल धेरै ग्राहकले खोज्छन् । तर त्यसको व्यवसायिक उत्पादन भने अहिलेसम्म जिल्लामा गरिएको छैन । तराइमा धेरै लगाइएपछि पहाडमा सूर्यमुखी लगाएर तेल उत्पादनको काम भएको छैन ।

बागलुङको हावापानीमा के कति उत्पादन हुन्छ भन्ने अहिलेसम्म लेखाजोखा पनि भएको छैन । एकदुइ वटा बोट सौन्दर्यका लागि लगाइए पनि उत्पादन गर्ने लक्ष्यले कसैले नलाएपछि अहिलेसम्म कृषि ज्ञान केन्द्र वा स्थानीय तहले पनि यसको कुनै तथ्यांक समेत राखेका छैनन् । आवस्यक बीउ, तालिम र अन्य प्राविधिक पक्ष पनि खोजी नगरेको बेला बागलुङ नगरपालिका वडा नं. १३ का स्थानीय टिकाराम शर्माले पहिलो पटक सूर्यमुखीको व्यवसायिक उत्पादनको काम थालेका छन् ।

बागलुङ नगरपालिका वडा नं. १३ को दम्कफाँटको छेउछेउमा अहिले पहेलपुर देखिन्छ । हजारौं बोट सूर्यमुखी देखेर सबैजना दंगै पर्छन् । यसको व्यवसायिक उत्पादन कस्तो हुन्छ भन्ने उनलाई समेत थाहा छैन । तर बसाई सराईले धेरै खेत बाँझै बनेको स्थानमा सूर्यमुखी लगाएर पहिलो प्रयास र अनुभव उनले संगाल्दै छन् ।

झण्डै ३५ वर्ष अध्यापन गराएर निवृत्त भएका ७० वर्षिय टिकारामले एक वर्षदेखि सूर्यमूखी स्याहारेर बसेका हुन् । बाँदर आतंकले हैरान भएका, सिंचाइ सुविधा नपाएर बाँझै राख्न बाध्य स्थानीयले शर्मालाई जग्गा उपलब्ध गराएका हुन् । ‘वर्षातमा त आकासे पानीको भरमा पनि धान रोपिन्थ्यो, हिउँदमा भने सास्ती थियो’ उनले भने, ‘विदेश गएका छोराले पनि सल्लाह दिएपछि सूर्यमुखी लगाएको हु ।’ छाडिएको एक सय रोपनी जमिन भाडामा लिएर उनले खेती थालेको बताए ।

स्थानीयहरुको जमिन एकीकृत गरेर उनले खेती लगाएका हुन् । एक मुरी धान फल्ने खेतको ५ हजारको दरले भाडा दिने गरी टिकारामका छोरा केदारको यो पहिलो प्रयोग गरेका हुन् । केदार हाल वैदेशिक रोजगारीमा छन् । दैनिक उत्पादनको काम भने टिकारामले गर्दै आएका छन् । सूर्यमुखीबाट तेल निकाल्न सकिन्छ । यो तेल बजारमा निकै बिक्री पनि हुन्छ । उत्पादन गर्न सकेमा बजार राम्रो भएकोले उनी हौसिएका छन् । तर अहिलेसम्म त्यसको प्रशोधनको काम जिल्ला र आसपासमा भएको छैन । तसर्थ तेल निकाल्ने काम भने कहिलेदेखि शुरु गर्ने भन्नेमा उनी प्रष्ट भैसकेका छैनन् । ‘पहिलो पटक प्रयास गरेका छौं, जानेबुझेकाबाट सल्लाह लिएर काम गर्छु’ उनले भने, ‘छोराहरुले पनि योजना बनाएका होलान् ।’

उनको यो पहिलो प्रयास हो । आगामी दिनमा उत्पादन बढाउने लक्ष्यमा उनी छन् । त्यसका लागि यो वर्षको बीउलाई बचाएर समयमा लगाउने लक्ष्य राखेका छन् । छोराको चाहनामा गरिएकोले एकदुइ सिजनमा घाटा भएपनि निरन्तर उत्पादन गरिने उनले बताए । ‘यो खेती बाँदरबाट पनि सुरक्षित रहेछ, अहिलेसम्म बाँदरले खाएको देखिएको छैन’ शर्माले भने, ‘वातावरण र मौषम अनुसार उत्पादन बढाउन प्राविधिक ज्ञान पनि लिने क्रम चलिरहेको छ ।’

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले यो क्षेत्रमै नयाँ विधि भएकोले कसरी उत्पादन बढाउने, बजारीकरण तथा अन्य सेवाको बारेमा अध्ययन गर्ने बताए । ‘अहिलेसम्म हामीले तेलहनबालीलाई व्यवसायिक बनाउनै सकेका छैनौं, यो त झनै नयाँ हो’ सिलवालले भने, ‘किसानको उत्साहलाई सम्बोधन गर्ने र बजारीकरणमा साथ दिने प्रयास गर्नेछौं ।’ तर प्रशोधन र बजारीकरणका लागि प्रयास गरेका जिल्ला वा प्रदेशबाट अनुभवी प्राविधिक ल्याएर स्थलगत अनुगमन गराएपछि मात्र त्यसको यकिन गर्न सकिने सिलवालले बताए ।

अहिलेसम्म जिल्लामा छिटफुट आर्कषणका लागि लगाएपनि व्यवसायिक रुपमा सूयर््मुखी खेती भएको थिएन । शर्माको पहल नै पहिलो भएको उनले बताए । शर्माले पनि सर्लाहीबाट सूर्यमुखीको बीउ ल्याएर काम थालेकोले बजारीकरण तथा प्रशोधनका लागि तराइकै व्यवसायीसँग सहकार्य गर्ने शर्माले लक्ष्य बनाएको बताए । स्थानीय तह वा कृषि ज्ञान केन्द्रबाट साथ पाएमा झनै राम्रो हुने शर्मा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->