बागलुङ/ठूला उद्योग खोलेर मात्र उद्यमी बनिन्छ भन्ने मान्यता छाडेर ताराखोलाका स्थानीयले घरघरमा साना उद्योग संचालन गरेर रोजगार बनेका छन् । गाउँपालिकामा टोलटोलमा स्थानीय उत्पादनको साना उद्योग देख्न सकिन्छ ।
सदरमुकामदेखि ६० किमी पश्चिमको ताराखोलामा दर्जनौं स्थानीय उत्पादनमा युवाहरु जोडिएका छन् । गाउँमै पाइने कच्चा पदार्थबाट सामाग्री बनाउने काम गरेर धेरै जना उद्यमी बनेको वडा नं. ४ की स्थानीय गंगा रोकाले बताइन् । उनले २५ वर्षदेखि जंगलमा पाइने (चाल्ने सिस्नो) बाट कपडा बुनिरहेकी छिन् । अल्लो प्रशोधन गरेर धागो निकाल्ने र कपडा बुन्ने काममा ताराखोलाका ५० बढी उद्यमी सक्रिय छन् ।
वडा नं. ५ करिमेलाकी बिष्णु रोकाले पनि वर्षेनी अल्लो बुनेरै मनग्ये कमाइ गरेकी छिन् । उनीहरुले वर्षेनी अल्लोका सामाग्री बनाएर लाखौंको कारोवार गरिरहेका छन् । धसमर भन्ने स्थानमा उनीहरुको संकलन केन्द्र छ । त्यहाँ संकलन गरेको अल्लोलाई धागो कात्ने, कपडा बुन्ने काममा धेरै महिला सहभागि छन् । कसैले केन्द्रमा आएर काम गर्छन् भने कतिपयले घरघरमै कपडा बुनि रहेको भेटिन्छन् । विभिन्न स्थानमा तालिमका लागि प्रशिक्षकको रुपमा पनि उनीहरुलाई निम्तो आउँछ । जैमिनी नगरपालिका, बडिगाड गाउँपालिका लगायतका स्थानमा पुगेर अल्लो उद्यमी तयार गरेको गंगाले बताइन् ।
वडा नं. २ को अर्गलमा ढाकाको सामान बनाउनेहरु छन् । चार वर्षअघि बागलुङ नगरपालिका नं. १० की यामकुमारी थापाले ताराखोला पुगेर समूहलाई तालिम दिएपछि यहाँका २० महिलाले नियमित ढाकाको सामाग्री बनाइरहेका हुन् । ढाकाको कपडा सहरी क्षेत्रमा पनि निर्क चलनचल्तीको बन्दै गएको छ । आमा समूह, सहकारी संस्था र विभिन्न संघसंस्थाका प्रतिनिधिले ढाकाको साडी र सललाई ड्रेस बनाएर लगाउने गरेका छन् । भ्रमणमा निस्कनु पर्ने महिलाहरुले एकरुपताका लागि ढाकाको कपडा अर्डर गर्छन् ।
वडा नं. ५ का १० जना युवा नेपाली हातेकागज बनाउनमा व्यस्त छन् । उनीहरुको सामाग्री गाउँघर मात्र नभइ सहरमा पनि बिक्री हुन्छ । सरकारी कार्यालयहरुले अर्डर गरेर लैजान्छन् । यहाँ उत्पादन भएको कागजलाई रंगिन समेत बनाइन्छ । सिंगो कागजसहित डायरी बनाएर पनि बिक्री भएपछि उद्यमीले नियमित उत्पादन गरिरहेका छन् ।
वडा नं. १ को जनप्रेम माविमा त विद्यार्थीलाई पनि धागो कात्ने, धागोबाट सामाग्री बनाउने, हलोजुवा र बाँसका सामाग्री बनाउन पनि सिकाइन्छ । विद्यालय पढेर सकिंदा उनीहरुले सीप सिकेर निस्केकोले बेरोजगार बस्न नपर्ने प्रधानाध्यापक नइन्द्र गुरुङले बताए ।
गाउँपालिका आलु र अलैची जोनमा सूचिकृत छ । त्यसैले अधिकांस किसान आलु उत्पादनमा जोडिएका छन् । ‘यहाँका हरेक घरघरमा १ सयदेखि २ सय क्विन्टलसम्म आलु फलाउने किसान छन्’ स्थानीय अमृत घर्तीमगरले भने, ‘घरमा खानका लागि मात्र लगाउनेहरु पनि व्यवसायिक बन्दैछन् ।’ ताराखोलाको आलु बागलुङसहित पोखरा, बुटवल र गुल्मीसम्म प्रख्यात छ । ताराखोलाको आलु भनेपछि होटलदेखि कोठा लिएर बस्नेहरु पनि उत्तिकै चासो राख्ने गरेका छन् । ‘ताराखोलाको आलु पाएसम्म अन्यत्रको राख्ने गरेका छैनौं’ सदरमुकामस्थित शितल होटलका संचालक तालबहादुर कुँवरले भने, ‘खानमा मिठो र अर्गानिक भएकोले सबैले मन पराउँछन् ।’
ताराखोला गाउँपालिकाको ५ वटै वडाका किसानले व्वयसायिक आलु खेती गर्छन् । उनीहरुले असार साउनमा खनेर बजार पठाउन गरेका छन् । गाउँपालिकाको कृषि शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र ३ हजार २ सय ९७ मेट्रिकटन आलु फलेको थियो । २०८१÷०८२ को भने अहिले आलु खनिरहेकोले यकिन तथ्यांक आइसकेको छैन । यहाँको ३ सय हेक्टरमा व्यवसायिक अलैची उत्पादन भैरहेको छ । ५० बढी उद्यमीहरु अलैची उत्पादनमा पूर्ण रोजगार बनेका छन् ।
वडा नं. ५ का किसानले कोदो र गहुँको पिठोबाट झिलिंगा बनाएर बेच्छन् । मगर समुदायको चाडपर्वमा चाहिने भांग्रो बुन्ने काममा पनि स्थानीय सक्रिय छन् । ताराखोला गाउँपालिकाभित्र दर्जनबढी ढुंगा उद्योग छन् । आफ्नै बारीमा ढुंगा काटेर टायलको रुपमा उपयोग गर्ने गरी सहर पठाउने गरिन्छ । ती उद्योगमा झण्डै ५ सय जना रोजगार भएका छन् । गाउँपालिकाले कम्तिमा ५ हजार युवा रोजगार बनाउने लक्ष्यले समूहमा गरिने सबै काममा स्थानीय उद्यमीलाई लगाएको पालिका अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ले बताए । अहिलेसम्म पालिकाभित्रै ३ हजारबढी युवा रोजगार भैसकेको उनले बताए । गतवर्ष गाउँपालिकाले विश्व श्रम रोजगार बैंक नै स्थापना गराएको छ । सबै श्रमिकको सूचिकरण गरेर रोजगार पछिको सुरक्षामा पनि जोडिएको छ ।





