बागलुङ/उमेरले उनी ६५ वर्ष पुगिन् । उनको दैनिकी झण्डै ४० वर्षदेखि चिया बेच्ने हो । अहिले पनि उनले आफ्नो काम गर्न छाडेकी छैन । पुख्र्यौली घर जैमिनी नगरपालिका वडा नं. ८ को छिस्ती भएपनि सानैमा उनीहरु सदरमुकाम आए । बागलुङमै विवाह भयो । बागलुङ नगरपालिका वडा नं. १ को रुद्रे पिपलदेखि कालीका मन्दिर जाने सडक छेउमा सानो छाप्रोमा उनको बसोबास छ ।
पति बलबहादुरको २०६१ सालमा निधन भयो । त्यतिबेला कान्छो छोरा डिलबहादुर ९ वर्षको मात्रै थिए । त्यसअघि पनि चिया पसल गरेरै उनले परिवार धानेकी थिइन् । ठूलो छोरा ओमबहादुर र छोरी मिना सानै थिए । कहिले गिटी कुट्ने, कहिले बालुवा बेच्ने, बिहान र बेलुकी चिया बेच्ने गरेर छोराछोरीलाई हुकाईन् । तर चिया बेच्ने काम छाडिनन् ।
दुइ छोरा र एक छोरीलाई चिया बेचेरै कमाएको पैसाले बिवाहदान गराइन् । घरजग्गा नभएकोले एउटा न एउटा काम नगरेसम्म हातमुख जोडिन्थेन । छोराछोरी भोकै पर्लान् भनेर आधा पेट खाने, आधा रात सुत्ने गरेर घर व्यवहार चलाएको उनी सम्झन्छीन् । घरखर्चकै लागि अधिकांस समय कालीका मन्दिरको गेट नजिकैको पिपलको बोटमुनी चिया बेचेर जीवन चलाएकी मनकली थापा अहिले घुम्ती पसलमा चिया बेच्दैछिन् ।
‘पतिले पनि ज्यामी काम गर्थे । धेरै मदिरा सेवन गरेको कारण निधन भयो । त्यसपछि त सबै जिम्मा मेरो टाउकोमा आयो’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा विवाह गरेर आएपछि घर धान्नका लागि हरेक दिन चिया पकाउनुपर्छ ।’ उनले सुका कप चिया धेरै समय बेचेको अनुभव सुनाइन् । पुराना कुरा सुनाएर उनी भावुक पनि बनिन् । सुका कपको चिया बढेर एक रुपैयाँ, दुइ रुपैयाँ हुँदै अहिले ३० रुपैयाँ पुगेको छ ।
अहिले पनि कालिका मन्दिर नजिकै चिया र पानी बेचेर जीवन चलाएकी मनकली पहिला झै खुसी भने छैनन् । पहिला जस्तो जे कमायो त्यहीं खाने अवस्था छैन । उनको मुटु रोग उपचारमा धेरै खर्च भयो । उपचार गर्दा लागेको ऋण तिर्न पनि उनले बाध्यताले काम गर्नुपरेको छ । बिहान राखेको दूधले चिया पकाएर बेच्ने, नपुगे थप्ने गर्छिन् । पहिला चिया बेचेको छाप्रोको भाडा लाग्थेन । अहिले त रामरेखा सामुदायिक वन उपभोक्ता समितिले एक मीटरको घुम्तीको मासिक ७ सय भाडा लिन्छ । भाडा लाग्ने भएपछि चिया, पानी, चाउचाउ र उसिनेको अण्डा राखेर घुम्ती चलाएको उनले बताइन् । भाडा तिरेर पनि दैनिक २ हजारसम्मको कारोवार गर्न सकेको उनले बताइन् । शनिबार, चैतेदशै र वडा दशैका दशबाह्र दिन राम्रै कमाइ हुन्छ । मन्दिर नजिकै भएकोले नरिवल, फूल प्रसाद राखेपनि बिक्री हुन्छ । त्यतिबेला दैनिक १ हजार ५ सयसम्म पनि कमाइ हुन्छ ।
उपचार गर्दा लागेको ९ लाख ऋण तिर्न उनले धेरै मेहेनत गरिन् । अब स्थानीय सहकारी संस्थामा ३ लाख ऋण बाँँकी छ । मासिक ३ हजार व्याज लाग्छ । साबाँ व्याज गरेर तिर्दा २४ हजार किस्ता छ । त्यसैले निरन्तर घोटिएर काम गर्न बाध्य भएको उनले बताइन् । मासिक किस्ता तिरेर बचेको ६÷७ हजारले घर खर्च चलाएको उनको अनुभव छ ।
दुवै छोरा अलगअलग बस्छन् । उनीहरु दुवै जना गाडी लाइनमा छन् । एक जनाले विद्यालयको गाडी चलाउँछन् भने अर्काले आफ्नै जिप किनेका छन् । तर धेरै ऋण भएकोले तिर्न सकेका छैनन् । ‘कान्छो छोराको ऋण धेरै छ, आफ्नो ऋण तिरेंभने छोरालाई सहयोग गर्ने मन छ’ उनले भनिन्, ‘नसकेको दिन त छोराकै भरमा बाँच्नुपर्छ ।’
चिसो मौषममा बिहानै उठेर घुम्तीमा सामान बेच्न आउन गाह्रो पर्छ । मुटुको बिरामी भएकोले चिसोमा अप्ठ्यारो परेको उनले गुनासो गरिन् । एक मीटरको घुम्ती पसलको भाडा तिरेर मात्र पुग्दैन । बेलाबेला कालीका गुठी र नगरपालिकाले पनि कर उठाउने गरेको उनले गुनासो गरिन् । बाँचुन्जेल चिया पकाउन नछाड्ने उनले बताइन् ।





