आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाँदरले नखाने खेती रोज्दै किसान

बाँदरले नखाने खेती रोज्दै किसान

काठेखोला गाउँपालिकाका दर्जनौं किसानले बारीमा मकै छाडेर अदुवा खेती थालेका छन् । मूल्यमा पटक–पटक गिरावट आउने, बजारीकरणमा समस्या भएपनि उनीहरुले बाँदरबाट जोगाउन यो काम गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार
Aduwa khandai

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ६ का थानेश्वर कँडेलले बाँदर आतंक छल्न अन्नबाली लगाउनै छाडेका छन् । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैंची लगाउन थालेको बताए ।

अन्नबाली र तरकारी खेती गर्न बाँदर नै बाधक भएको उनले गुनासो गरे । ‘घरमा बुढाबुढी मात्रै बस्ने, बाँदर आएर बारीको केही नराख्ने भएको छ,’ कँडेलले भने, ‘बाँदरबाट बचाउन सकिने बाली मात्र लगाउन थालेका छौं ।’ अत्यावस्यक भएपनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उनले बताए ।

बाँदरले नखाएकोले कँडेल जस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताए । कतिपय किसानले भैंसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भएपनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टंक कंडेलले बताए । ‘भैंसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाईदैन’ उनले भने, ‘बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर खानासमेत खाइदिए ।’

काठेखोला गाउँपालिकाका दर्जनौं किसानले बारीमा मकै छाडेर अदुवा खेती थालेका छन् । मूल्यमा पटक–पटक गिरावट आउने, बजारीकरणमा समस्या भएपनि उनीहरुले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैंची लगाएर पनि उनीहरुले फाइदा लिन भने सकेका छैनन् । तर, बाँदरबाट बच्न खेतीपातीमा परिवर्तन गरेको बताए ।

किसानले सुन्तला भने लगाएका छन् । दशै तिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकोले सुन्तला खेती गरेको किसानले बताए । सुन्तलाबाट वर्षमा लाखौं कमाइ गर्ने किसान बिहुँमा छन् । ‘यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौं तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ,’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने, ‘बजारीकरणमा सक्दो सहयोग गर्नेछौं ।’ बाँदर आतंककै कारण बाली नलगाउने भन्दा संरक्षणमा ध्यान दिने गरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ ।

गाईभैसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले प्रतिलिटर दूधमा ५ रुपैयाँ अनुदान दिएको केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । ‘नश्ल सुधार गरिएका भैंसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निराश हुनबाट बचाउने प्रयास गरेका छौं,’ सापकोटाले भने, ‘बाँदरको स्थायी समाधान नभएपनि पशुपालनमा भने किसानको आर्कषण छ ।’

बागलुङ नगरपालिका वडा नं. ८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्राउन बाँदर आतंकले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाए । खड्काले त सुन्तला समेत जोगाउन नसकेको गुनासो गरे । ‘हेरालो राखेर पनि नसकिने रहेछ’ उनले भने, ‘बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भैसक्यो ।’ बाँदरबाट बाली जोगाउन राज्यले पहल गर्नुपर्ने बताए ।

बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिंड्न थालेका छन् । जैमिनी नगरपालिका १ टुनीबोट, १० को राङखानीका अधिकांस बस्ती त रित्तो भैसकेका छन् । काठेखोला गाउँपालिका ५ कै करलिम बस्ती पनि रित्तो जस्तै भैसकेको हो । ‘खेती लगाए बचाउनै सकिंदैन, अरु रोजगार छैन,’ सिगानाका झकेन्द्र बहादुर क्षेत्रीले भने, ‘बाली जोगाउन बाँदरलाई हानिकारक पशुमा सूचिकृत गर्नुपर्छ ।’

पेशा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकोले नाफा कमाउन नसकिने कँडेलले बताए । ‘एउटै भैसीलाई २ लाख रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘दु्ई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन ।’ गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उनको गुनासो छ । किसानले दूधमा उचित बजार समेत नपाएको गुनासो गरे ।

वैकल्पिक बाटो रोजेका किसानलाई पनि उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकरणमा साथ दिने सापकोटाले बताए । अवस्था अनुसारको उत्पादन गरेर पनि आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उनले बताए । दूधको मूल्य बढाउने बारेमा भने अहिले निर्णय नभएको उनको भनाइ छ । मकैको साटो साईलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ ।

जैमिनी ८ का रघुनाथ पौडेलले पनि परम्परागत खेती छाडेर मौरी र भैसी पाल्न थालेका छन् । बजार टाढा भएकोले दूध समयमा पठाउन उनले सास्ती खेपेका छन् । तर पनि खेती जोगाउन नसकेपछि पौडेलले बारीमा घाँस लगाएका छन् । ८ वटा भैसी र २ गाई पालेका छन् । बारीको डिलमा मौरी पालेका छन् ।

‘बाँदरबाट जोगाउन सकिने पेशा छानेको छु,’ पौडेलले भने, ‘बाँदर नियन्त्रण गर्न कसैले सक्दैन ।’ जैमिनी नगरपालिकाले वडा नंं ८ कै पुरानो गाउँमा बाँदर पार्क बनाउने योजना अघि सारेको छ । उक्त स्थानमा सबै बाँदर राखेर किसानको बाली जोगाउने लक्ष्य छ । कानूनी समस्याले योजना अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->