आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ढोरपाटनमा संरक्षण र विकासबीच रस्साकस्सी

ढोरपाटनमा संरक्षण र विकासबीच रस्साकस्सी

सिकार आरक्षभित्र संरचना बनाउन लागिएको भन्दै उद्योग तथा पर्यटन कार्यालय बागलुङ, पर्यटन मन्त्रालय पोखरा र ढोरपाटन सिकार आरक्षको ९ महिना लामो रस्काकस्सी पछि मात्र हतार हतार काम गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०८२, मंगलबार

बागलुङ/गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत ढोरपाटनदेखि बुकीपाटन जाने पदमार्ग निर्माण गर्न पिनियोजन गरेको २० लाख रकम खर्च गर्न आर्थिक वर्ष २०८१/०८२ हम्मेहम्मे भयो ।

गार्पा छेडा बुकीपाटन पर्यटकीय पदमार्ग बनाउँदा पर्यटक सजिलै यात्रा गर्न सक्ने भएपनि ढोरपाटन सिकार आरक्षले सहजै काम गर्न दिएन । जसका कारण पर्यटन कार्यालयले वन मन्त्रालय, विभाग तथा अन्य धेरै निकाय धाउन बाध्य भयो । सिकार आरक्षभित्र संरचना बनाउन लागिएको भन्दै उद्योग तथा पर्यटन कार्यालय बागलुङ, पर्यटन मन्त्रालय पोखरा र ढोरपाटन सिकार आरक्षको ९ महिना लामो रस्काकस्सी पछि मात्र हतार हतार काम गरिएको थियो । यो कामले गति लिन सकेन । आर्थिक वर्षको अन्त्यमा आरक्षको प्रत्यक्ष निगरानीमा डेढ मीटर चौडाको मात्र पदमार्ग बनाउन कार्यालयले अनुमति पाएपछि हतारमा काम गरिएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष कृष्ण भण्डारीलाई अनुमति बिना काम गरेको भन्दै आरक्षले थुनामा राख्यो । उद्योग तथा पर्यटन कार्यालयका कर्मचारी र प्राविधिकले २० लाखको काम गर्न ढोरपाटन सिकार आरक्ष, पर्यटन मन्त्रालय, वन मन्त्रालय, वन विभाग, मुख्यमन्त्री कार्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मन्त्रीपरिषदको कार्यालय समेत धाएपछि मात्र काम भएको थियो ।

चालु वर्ष पनि ढोरपाटन–बुकी– फागुने–सुर्तीवाङ चक्रिय पदमार्ग निर्माणका लागि १५ लाख बजेट विनियोजन छ । उक्त काम गर्न समेत उत्तिकै अप्ठ्यारो पर्ने भन्दै कार्यालयका कर्मचारी त्रसिद भएका छन् ।

वन मन्त्रालयको पहुँच नपुगे काम गर्न नसकिने उद्योग तथा पर्यटन कार्यालय बागलुङका प्रमुख पारसिंह थापामगरको गुनासो छ । सरकारी काममा सरकारी कार्यालयबाटै अबरोध भएको थापाको भनाइ छ । पर्यटन मन्त्रालयका तत्कालिन सचिव कुमानसिंह गुरुङले पर्यटन र संरक्षणलाई समान रुपमा लैजान सुझाव दिए । पर्यटकहरु सयौं भित्राउन सकियो भने ढोरपाटनबाट समृद्धि ल्याउन सकिने तर पदमार्गमै विवाद भयो भने विकास र पर्यटन दुवै ठप्प हुने उनको सुझाव छ । बाटो बन्द गरेर विकास नहुने भन्दै कानूनी झन्झट सहज बनाउन उनको सुझाव छ ।

गत वर्षको ५ सय मीटर लामो पदमार्गले यो वर्ष बुकी जाने पर्यटक ह्वात्तै बढेको तथ्यांक छ । गत वर्षको बजेटले ५ सय मीटर सिंढी मार्ग, ३ वटा काठेपुल र ३ वटा विश्रामस्थल निर्माण भएको पर्यटन कार्यालयका इन्जिनियर सुजन दरैले बताए । पदमार्ग पर्याप्त नभएकोले गार्पादेखि बुर्की र टिकाधारा क्षेत्रमा जाने बाटो अझै जोखिमको छ । वर्षातमा चिप्लो र भीरको बाटो हिंड्नुपर्दा कतिपय पर्यटक गार्पा छेडाबाटै फर्कने गरेका छन् । ढोरपाटन उक्लेपछि एक दिनको पैदलमा टिकाधारा र बुकी पाटन पुग्न सकिन्छ । पर्यटकले भेडीगोठमा बस्ने र खाने गरेर मनोरञ्जन लिन्छन् । यो वर्ष पर्यटक आगमन बढ्दा भेडी गोठालेहरुले समेत बुकीपाटनमा पाहुना राखेर मनग्ये कमाइ गरेको बताए ।

पोखरा, चितवन, काठमाण्डौंका धेरै पर्यटक ढोरपाटन पुग्दा होटल र होमस्टेको व्यवसाय पनि फस्टाएको छ । सामाजिक संजालमार्फत अधिकांसले ढोरपाटन र बुकीको प्रचार गरेका छन् । ढोरपाटन हुँदै बुकी जाने लेकाली गोरेटा मात्रै छन् । गार्पाछेडा, चेप्टा ढुंगा, साँघुरे गौंडा, अन्तरेथरी, ठाडो खोला, ढुंगे देउराली जस्ता स्थानमा पैदलै यात्रा गर्नुपर्ने बाध्यता छ । जलजला, सुर्तीवाङ, टिकाधारा र जाल्पा तालले पर्यटक आर्कषण बढाएको छ । ती स्थानमा पर्यटक सहजै लैजाने पदमार्गहरु निर्माण भएमा वर्षमा ५० हजारदेखि एक लाख पर्यटक भित्राउन सकिने ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमहादुर घर्तीले बताए ।

त्यसो त बेलबेला स्थानीय र आरक्षबीच पनि रस्काकस्ती चलिरहन्छ । स्थानीयले परम्परागत रुपमा घाँसदाउरा गरिरहेको क्षेत्रमा आरक्षले अबरोध गरेको आरोप लगाउने गर्छन् । आरक्षले भने संरक्षणको कुरा गर्छ । सेनाले सुरक्षा गरेकोले सहजै आउजाउमा पनि कठिन भएको भन्दै बेलाबेला उठ्ने मध्यवर्तीक्षेत्र घोषणाबारे पनि विवाद भैरहन्छ । स्थानीयले सहज वातावरण नपाएकोले मध्यवर्तीबारे निर्णय दिएका छैनन् भने आरक्षले स्थानीयलाई साधनश्रोतको पहुँच बढाउन मध्यवर्ती क्षेत्र बनाउन लागेको प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीको भनाइ छ ।

अघिल्ला वर्ष १८ देखि २० हजार मात्रै पर्यटक जाने ढोरपाटनमा यो वर्षातमा मात्रै ३० हजार बढीले ढोरपाटन घुमेको तथ्यांक छ । अधिकांस पर्यटकहरु बुकी पुगेका छन् । सिकार आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले वन्यजन्तु र पर्यावरणलाई असर पर्ने गरी पुर्वाधार निर्माण गर्न नसकिने बताए । सामान्य पदमार्ग बनाएर पर्यटक लैजाने अवस्था भएपनि वन्यजन्तुलाई असर पर्नेगरी पदमार्ग र संरचना बनाउन नमिल्ने अधिकारीको भनाइ छ । मानव पाइला बढेपछि बुकीको आर्कषणमा कम हुने, वन्यजन्तु भाग्ने भएकोले संरचनामा रोक लगाएको हो ।

पर्यावरण जोगाउन स्थानीय ढुंगाको पदमार्ग र काठको विश्रामस्थल बनाएकोले पर्यावरण संरक्षण र वन्यजन्तुबारे सचेत बनेको पर्यटन कार्यालयको भनाइ छ । ढोरपाटन र बुकी क्षेत्रमा गोरेटा र पदमार्ग अभावले स्थानीय भेडापालक किसान पनि समस्यामा परेकोले सामान्य पदमार्ग चाहिएको स्थानीय किसान गोबिन्द अदैले बताउँछन् । ढोरपाटनमा वर्षेनी नाउर र झारलको शिकार गरिन्छ । सिकारीले लाखौं रकम राजश्व तिर्ने गरेका छन् । उक्त रकमको आधाबढी रकम स्थानीयले खर्चन पाउने व्यवस्थाका लागि मध्यवर्ती चाहिएको आरक्षको भनाइ छ । स्थानीयले भने राजश्वको हिस्सा निशर्त स्थानीय विकासमा खर्चन माग समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->