बागलुङ/कार्यालयकै कामले राजधानी पुगेर फर्कदा उनी दुर्घटनामा परिन् । स्पाइनलको समस्याले उनी ह्विल चियरमा हिंड्न बाध्य छिन् । धौलागिरि प्रादेशिक अस्पतालमा कार्यरत कविता शाक्य आफ्नो कार्यालयमा नियमित काममा खटिन्छिन् । तर अस्पतालकै अन्य शाखामा जानु परे उनलाई समस्या पर्छ । भुईंतलामा रहेको फार्मेसीमा काम गर्ने भएकोले उनलाई अहिले सहज छ तर अन्य शाखामा बसेर काम गर्न जान सक्ने अवस्था छैन ।
बाहिर कतै जानुपरेमा सवारी साधनको टिकट काट्न आँफै नगए भाडा छुट दिंदैनन् । आँफू जान कति समस्या पर्छ भन्ने कुरा काउन्टरमा बस्नेले बुझीदिंदैनन् । जिल्ला प्रशासन कार्यालयमा उनले बायोमेटिक गर्न जाँदा कार्यालयभित्र जान पनि मुस्किल भयो । सानो ढोकाबाट ब्हिल चियर लिएर जान सकिनन् । उल्टै कर्मचारीबाट उनकै आलोचना भयो ।
‘कार्यालयले संरचना उचित नबनाउने, मलाई गाली गर्ने अवस्था भयो’ शाक्यले भनिन्, ‘जिल्लाको मुख्य प्रशासकीय कार्यालयमा त जान सकिंदैन भने अन्यत्र कसरी अपांगमैत्री संरचनाको आस गर्ने ?’ प्रशासन कार्यालयमा कार्यक्रम हल नै तेस्रो तलामा रहेकोले अपांगहरु जानै नसक्ने उनले बताइन् ।
त्यसो त जिल्लाका अधिकांस सरकारी कार्यालयमा ब्हिल चियर जाने संरचना छैनन् । त्यसमा पनि इस्पाइनल समस्या भएका अपांगले प्रयोग गर्ने ब्हिल चियरको अवस्था थप संवेदनशिल हुन्छ । त्यस्ता प्रकारका अपांगहरु आउँछन् भनेर कसैले चासो नगरेको शाक्यले गुनासो गरिन् ।
जिल्ला भित्रका सरकारी कार्यालयहरुमा सभाहल दोश्रो वा तेस्रो तलामा छन् । त्यस्तै कार्यालय प्रमुखको कक्ष पनि माथिल्लो तलामा छ । जसका कारण सेवाग्राहीको रुपमा अपांगहरु जान सक्दैनन् । जिल्लाका अधिकांस होटलहरुमा पनि सभाहल माथिल्लो तलामा छन् । भुईंतलामा भएकोमा पनि शौचालयमा ¥याम छैन । शौचालयको ढोकामा माथिल्लो भागमा मात्र चुकुल राखिएको समेत अपांगता भएका नागरिकले गुनासो गरे । बसपार्कदेखि सार्वजनिक स्थलहरुमा पनि देखाउनका लागि मात्र एउटा ¥याम बनाइएको छ । तर ब्हिल चियर जाने शौचालय समेत बनेको छैन ।
अपांगता भएकाहरुका लागि यो त एउटा सूचक मात्र हो । कान नसुन्ने बहिराका लागि कार्यालयमा दोभाषे आवस्यक पर्छ । आँखा नदेख्नेका लागि साथी चाहिन्छ । कार्यालयको कम्प्युटर र मोबाइलमा सोही प्रकृतिको सफ्टवेयर चाहिन्छ । ती विषयमा राज्यका निकाय गम्भिर नभएको उनीहरुको भनाइ छ । शिक्षक भएर काम गर्दा विद्यालयमा समेत अपांगलाई धेरै सास्ती परेको अपांगले बताए । ‘विद्यालयहरुमा दृष्टीविहिनले चलाउने सफ्टवेयर छैनन्’ दृष्टीविहिन चिजा थापाले भनिन्, ‘किताब पढ्न हामीलाई सहयोगी चाहिन्छ, त्यो खोज्ने व्यवस्था छैन ।’ विद्यालय आउजाउ गर्न सहयोगी राख्दा खर्च लाग्ने उनको अनुभव छ ।
अपांगता भएका शिक्षकहरुलाई पायक पर्ने स्थानमा सरुवा मिलाई दिए राम्रो हुनेमा अपायकमा पठाउने गरिएको अर्का दृष्टीविहिन बिकल थापाले बताए । ‘ठाउँ ठाउँमा सिंढी चढ्ने र शौचालय अपांगमैत्री नहुँदा विद्यालयभित्रै पनि समस्या पर्ने गरेको छ’ उनले भने, ‘अपांग भएकै कारण मागेको कक्षा नपाउने, समयको ख्याल नगरिदिने समस्या भोगेका छौं ।’
अपांगता भएका नगारिकको अधिकारबारे संयुक्त राष्ट्रसंघले विभिन्न समयमा महासन्धीहरु बनाएको छ । ती सन्धीलाई समेत राज्यका निकायले पालना नगरेको उनीहरुको गुनासो छ । बौद्दिक अपांग भएकाहरुको अभिभावकलाई त झनै राज्यका निकायले चिन्दै नचिनेझै गर्ने गुनासो छ । ‘दुवै छोरा बौद्दिक अपांग छन्, उनीहरुलाई पालनपोषण गरेर जागिरमा जानुपर्छ, एकछिन ढीला भएपनि विभिन्न आरोप लाग्छ’ बडिगाड वडा नं. ३ की अमृता घर्तीले भनिन्, ‘बौद्दिक अपांगलाई पालनपोषण गराउन समेत समस्या छ ।’ उनले आफ्नौ छोराछोरी कसको जिम्मा लगाएर काम गर्ने भन्ने अन्यौल भएको बताइन् ।





