पोखरा/पोखरा महानगरपालिकाले जेनजी आन्दोलनमा क्षति नपुगेका वडाहरुबाट तत्कालै सेवा दिने निर्णय गरेको छ । शनिबार भर्चुअलमार्फत् बसेको कार्यपालिकाको बैठकले नागरिकलाई तत्काल अस्थाई रुपमा भएपनि सेवा दिने निर्णय गरेको हो । बैठकले तत्काल हस्तलिखित रुपमा भएपनि सेवा सुचारु गर्ने निर्णय गरेपनि आन्दोलनको क्रममा जलेका र तोडफोड भएको वडाहरुबाट सेवा दिन भने केही दिन लाग्ने देखिएको छ ।
महानगरका प्रवक्ता मोति तिम्सिनाका अनुसार आइतबारदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू गरिनेछ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष पनि तत्काल निर्माण गरी सेवा दिने निर्णय भएको उनले बताए । जलेका वडाहरुबाट पनि अस्थाई रुपमै भएपनि असोज १ गतेदेखि सेवा दिने तयारीमा पोखरा महानगरपालिका रहेको छ ।
‘आन्दोलनको क्रममा क्षति नभएका कार्यालय र भवनहरूबाट भोलि देखि नै सेवा सुरू गर्ने सहमति भएको छ । महानगरवासीको सेवा कुनै पनि हालतमा रोकिनु हुँदैन भनेर तत्काल के कसरी सेवा दिन सकिन्छ त्यसरी नै दिने भन्ने पक्षमा हामी छौँ,’ उनले भने, ‘अहिले क्षति पुगेका वडाहरुको मुचुल्का गर्ने कार्यपनि भइरहेको छ त्यो सकिएपछि ति वडाबाट के कसरी सेवा दिन सकिन्छ त्यसरी नै सेवा दिने गरि छलफल भएको छ ।’ महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित संकलन गर्ने निर्णयसमेत भएको छ ।
यस्तै महानगरपालिका भित्रका विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । शनिबार भर्चुअल बैठकमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, अधिकांश कार्यपालिका सदस्य र महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनअघि कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई पुगेका मेयर आचार्य हाल दिल्लीमा रहेका र त्यहीँबाट बैठक सञ्चालन गरेको प्रवक्ता तिम्सिनाले बताए ।
बैठकमा सहभागी पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बानियाँले नागरिकलाई जति सक्दो सेवा दिने गरी छलफल भएको सुनाए । उनले महानगरपालिकाभित्र ठूलो भौतिक क्षति भएको कारणले अस्थाई रुपमै भएपनि नागरिकलाई सेवा दिन महानगर कटिबद्ध रहेको सुनाए ।
‘हामी सबै जनप्रतिनिधिको एउटै कुरा थियो छिटोभन्दा छिटो नागरिकलाई सेवा दिने । तर, धेरै वडा र महानगरको संरचनामा क्षति पुगेकाले सेवा दिन कठिन छ । आजको बैठकमा १ गतेबाट अत्यावश्यक सेवा दिने कि भन्ने छ,’ उनले भने, ‘नागरिकलाई सेवा दिनका लागि जलेर नष्ट भएका वडाहरुमा सम्भव छैन तथापि एउटा टेबलै किन नहोस् हामी सेवा दिन तयार छौँ । यसका लागि पहिला के कति क्षति भयो त्यसको मुचुल्का हुनु जरुरी छ ।’
महानगर मातहत रहेका स्वास्थ्य संस्थाहरू आइतबारदेखि नै सुरू गर्ने, ध्वस्त नभएका वडा कार्यालयहरूबाट सेवा सुरू गर्ने र महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष तत्काल निर्माण गर्ने पनि निर्णय भएको पोखरा– ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बताए । पोखरा महानगरपालिकासँगै वडा नम्बर १, २, ३, ४, ५, १०, ८, १२, १३, १४, १५, १६, १७, १९, २०, २५, २६, ३१, ३२, २९, ३३ लगायतका वडामा क्षति पुगेको छ । पोखरा महानगरपालिकाको प्रशासन शाखा र आइटी शाखामा भने कुनै क्षति पुगेको छैन् ।
असोज १ देखि स्कूल खुल्ने
जेनजी आन्दोलनका कारण बन्द रहेका पोखराका विद्यालयहरु असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । शनिबार पोखरा महानगरपालिकाले सूचनामार्फत् सबै शैक्षिक संस्थाहरु असोज १ गतेदेखि नियमित सञ्चालन गर्ने निर्णय भएको जानकारी गराएका हो । पोखरा महानगरपालिका, नगर कार्यपालिकाको भदौ २८ गते बसेको बैठकले सो निर्णय गरेको शिक्षा महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलनपछिको असुरक्षा र स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण विद्यालयहरू पूर्ण रुपमा बन्द छन् । नियमित पढाइ भएको भए अहिले विद्यार्थीहरु परीक्षा दिइरहेका हुन्थे । महानगरले असोज १ गतेबाट स्कूल चलाउन भने पनि निजी विद्यालयहरु भने एक कदम अगाडि बढेर ३० गतेबाटै कक्षा सुरु गर्ने तयारीमा छन् । मन्टेश्वरी एसोसिएसन कास्की, हिसान कास्की, नेसनल प्याब्सन र प्याब्सन कास्कीले जारी गरेको संयुक्त सूचनाअनुसार भदौ ३० गते सोमबारदेखि नियमित कक्षा संचालन हुने जानकारी दिइएको छ । दशैं भिड्किएकाले निजी स्कूलहरुले छिटो विद्यालय खोल्ने निर्णय गरेका हुन् ।





