पोखरा/जेनजी प्रदर्शनको नाममा भएको घुसपैठमा पोखराका सरकारी, निजी नेताका घर, व्यवसाय, व्यापारिक भवनदेखि तरकारी मण्डी सहित ८० संरचना ध्वस्त बनाइयो । एउटा उमेर समूहले सामाजिक सञ्जाल बन्दकाविरुद्ध गर्न लागेको प्रदर्शन विध्वंसकारीले भाँड्दा अर्बौँको क्षति भयो । त्यसको विवरण अझै आइसेकको छैन ।
शान्त तवरले भइरहेको प्रदर्शन अचानक भड्किँदा जेनजीका युवाहरु घुसपैठ भएको भनेर बाहिरिए । तर, विध्वंस रोकिएन ।
सरकारी कार्यालय जलाउने निशानामा वडा नं. १३ को कार्यालय पनि अछुतो रहेन ।
त्यही जलेको भवनबाट अहिले पनि खाक भएका सामानको राग आइरहेको छ । र, पनि जनतालाई सेवा नदिइसुखै छैन ।
वडाध्यक्ष किरण बराल भन्छन्, ‘कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ । आज सबैभन्दा बढी हाम्रो आस्था जलेको छ । जहाँ वडाबासीको अभिलेख, मेहनत तथा सपना थियो । दिनरातको परिश्रमले उभिएको त्यो एउटा भवन मात्र थिएन । एउटा हाम्रो लागि मन्दिर बनिसकेको थियौ । हामी सबैको नित्यकर्म त्यहीँबाट सुरु हुन्थ्यो । जहाँबाट वडाबासी सबैले नागरिक हुन पाएका थियौँ ।’
उनले मर्मस्पर्शी स्टाटस लेख्दै भवन पुनर्निमाणको लागि सार्वजनिक आह्वान गरेका छन ।
जेनजीको प्रदर्शनमा आफ्नो एक्येबद्धता रहँदारहँदै पनि नियोजित घुसपैठक र अराजक समूहका कारण वडा कार्यालय निशानामा परेको उनको आशंका छ । ‘यी घटना स्वतस्फूर्त आन्दोलनभन्दा बाहिरको नियोजित काम जस्तो लाग्दछ, जुन मेरो व्यक्तिगत बुझाइ हो। आन्दोलनको मूल भावना र उद्देश्य सशक्त थियो, तर त्यस क्रममा भएको हिंसा र तोडफोडले आन्दोलनको गरिमा र सारमा आघात पु¥याएको छ,’ उनले लेखेका छन् ।
तर, अब वडालाई फेरि उठाउन आफू तयार रहेको सन्देश उनले दिएका छन् ।
‘अब, हाम्रो साझा कर्तव्य — हाम्रो वडालाई फेरि उठाउनु हो । हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन,’ उनले लेखेका छन् ।
दोषीलाई कारवाहीको मागसहित उनले वडाबासीलाई आगो निभाउनमा सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।





