पोखरा/जेनजी आन्दोलनमा आगजनीबाट क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा लायन्स क्लबले सिसिटिभी मर्मत तथा जडान गरिदिएको छ ।
हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले २४ गते आगलागीबाट क्षती पुगेको कार्यालय सिसिटीभी क्यामेरा जडान गरेको हो ।
आगलागीले जिप्रका कास्कीको सिसिटीभी क्यामेराहरू आगलागीका कारण पूर्ण रुपमा जलेर नष्ट भएपछि लायन्स क्लबले प्रहरीको काममा सहयोग पुगोस् भन्ने उद्देश्यले शनिवार सिसिटीभी क्यामेरा मर्मतसंगै नयाँ सिसिटीभी जडान गरेको अध्यक्ष रावत गोम्जा तामाङले बताए ।
गोम्जाका अनुसार जिल्ला प्रहरी कार्यालय हामी सबैको लागि सुरक्षा प्रदान गर्ने स्थान भएकाले आन्दोलनको क्रममा आगलागीबाट क्षती भएको सिसिटीभी क्यामेराहरूले काम नगर्ने भएकाले आफुहरुले मर्मत र नयाँ सिसिटीभी क्यामेरा जडान गरेको बताए ।
सिसिटीभी जडान कार्यक्रमका संयोजक स्वयम्भु कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा १६ थान सिसिटीभी क्यामेरा जडान गरिएको छ । जस मध्ये ९ वटा सिसिटीभी क्यामेरा नयाँ जडान गरिएको हो । शनिवार जडान सम्पन्न गरी हस्तान्तरण गरिएको उक्त क्यामेराहरूको मर्मत सम्भार समेत लायन्स क्लब अफ इन्फरमेसन टेक्नोलोजी ले नै गरिदिने र आगामी दिनमा पनि थप सहयोगलाई निरन्तरता दिने समेत कुँवरले जानकारी दिए ।
यस अघि पार्दी माविमा समेत लायन्स क्लव अफ इन्फरमेसन टेक्नोलोजी ले सिसिटीभी क्यामेरा जडान गरेको बताउदै आफुहरुले पोखरा ८ का केही सामुदायिक विद्यालयहरुमा सिसिटीभी क्यामेरा जडान गर्ने योजनाका साथ अगाडी बढिरहँदा जेन्जीको आन्दोलनका कारण आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यामेरा जडान गरिएको अध्यक्ष गोम्जाले जानकारी दिए ।





