पोखरा/ जेन जी आन्दोलनका क्रममा मुख्य प्रशासकीय भवन आगजनीका कारण पुरै ध्वस्त भएपछि पोखरा महानगरपालिकाले वैकल्पिक व्यवस्था गरी सेवा प्रवाह गर्ने जनाएको छ । छ । आगजनीमा परेर महत्त्वपूर्ण कागजातदेखि कार्यालयका सामग्री पुरै जलेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तोडफोड गरिएको छ । साथै कार्यालयका केही सामग्री चोरी भएक छन् ।
महानगरले आज सार्वजनिक सूचना जारी गर्दै अराजक र प्रतिशोधपूर्ण ढंगले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने यो कार्य निन्दनीय भएको जनाएको छ । विद्यमान संवैधानिक व्यवस्थाले असन्तुष्टि प्रकट गर्ने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक सम्पत्ति जलाउने र कर्मचारीलाई आतङ्कित गर्ने कार्य अपराध भएको भन्दै दोषीहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने बताइएको छ ।
आगो लाग्दा नगरवासीका लागि प्रमुख अड्डाका रूपमा रहेको भवन प्रयोग अयोग्य भएपछि महानगरले वैकल्पिक संरचनाबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सूचना अनुसार, अवरुद्ध रहेका सेवाहरूलाई आगामी आश्विन १ गतेदेखि सुचारु गर्ने निर्णय भएको छ । पहिलो चरणमा महानगर मातहतका अन्य संरचनाहरूको प्रयोग गरेर सेवा दिने र सबै महाशाखा र शाखाहरूलाई वैकल्पिक कार्यस्थलबाट सञ्चालन गरिने महानगरले जनाएको छ । यस्तै, आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका वडा कार्यालयहरूको सेवासमेत आश्विन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
महानगरले चोरी भएका सामग्रीहरूबारे पनि सार्वजनिक अपिल गर्दै, ‘महानगरपालिका, वडा कार्यालय लगायत मातहतका कार्यालयहरूबाट कोही कसैले सामग्री लगेको भए इमानदारपूर्वक फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ,’ भनेको छ ।
महानगरका अनुसार प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष हालको दमकलमा रहनेछ । यसैगरी उक्त स्थानमा सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाई शाखा, सूचना प्रविधि शाखा, दमकल सेवा पनि सोही स्थानबाट हुनेछ ।





