आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अबैध बालुवा उत्खन्नमा पालिका बेखबर, बडिगाड गाउँपालिकामा युवाले लगाए ताला

अबैध बालुवा उत्खन्नमा पालिका बेखबर, बडिगाड गाउँपालिकामा युवाले लगाए ताला


  • अनिष पाठक
  • भाद्र २९ २०८२, आइतबार

बागलुङ (खर्बाङ)/बडिगाड गाँउपालिकामा चर्चाको विषय बनेको बालुवा काण्डबारे छलफलका लागि पुगेको युवा समुहले पालिका कार्यालयमा ताला लगाएका छन् । बडिगाड गाँउपालिका वडा नं. ५ का स्थानीय प्रदिप खरेलले बडिगाड खोलाबाट मध्यरातमा अवैध बालुवा उत्खनन् गर्दै गरेको भिडियो सार्वजनिक भएपछि विषय सतहमा आएको हो ।

जेन्जी अन्दोलन चलिरहँदा स्थानीयले पुनः रंगेहात बालुवा उत्खनन् गर्दै गर्दा भेटाएपछि विषय झनै तातेको थियो । आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मृतिमा पालिकाले पनि एक दिन शोक बिदा भदौ २७ गते सम्मलाई थप गरेको थियो ।

पालिका बिदा र बागलुङमा प्रशासनले निशेधाज्ञा र कफ्र्यु हटाएपछि आइतबार छलफलका लागि युवाको टाली पालिका पुगेको थियो । ‘सामाजिक संजालमा विषय उठेपछि हामी भदौ २४ गते छलफलका लागि पालिका जाने तयारीमा थियौ’ बडिगाड गाउँपालिका वडा नं. २ का युवा सुनिल कार्कीले भने, ‘जिल्लामा प्रशासनले निशेधाज्ञा लगाएको र देश नै सेनाको सुरक्षामा रहेको बेला सुरक्षाकर्मीकै सल्लाहले हामी फर्किएका थियौं ।’

जेनजीका बडिगाड गाउँपालिका वडा नं. ५ का संशुलक अलीले शान्त रहेको बडिगाडमा जेन्जी आन्दोलनकै नामबाट पालिका भदौ २४ देखि २७ गतेसम्म बिदा भएपनि आइतबार पालिका खुल्दा समेत अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकिय अधिकृत कार्यालयमा नभेटिएको र मिलेमतो रहेको भन्दै आरोप लगाए । ‘आरोपित व्यक्तिले बालुवा निकाल्दै गरेको भिडियो सार्वजनिक भइसकेको पनि एक हप्ता हुन लाग्यो । पालिकाबाट न कुनै विज्ञप्ती आयो न कुनै कार्वाही भयो । छलफलका लागि युवा पालिका पुग्दा समेत नेतृत्व गर्ने कोहि छैन’ उनले भने, ‘यो सब मिलेमतो नभई सम्भव छैन ।’

गाँउपालिकाका निमित्त प्रशासकिय अधिकृत चण्डीराज पौडेलले बालुवा उत्खन्न गर्नेलाई कानुनी कार्वाही हुने बताए । ‘अहिले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृत मौखिक जानकारी गराएर बिदामा हुनुहुन्छ । सबैको रोहोबरमा पालिकाले छलफल गर्ने तयारी छ’ उनले भने ।

छलफलका लागि पुगेका युवालाई असोज ३ गते पालिका अध्यक्षको निर्देशनले निमित्ति प्रशासकिय अधिकृतले छलफलको लागि डाकेपनि विषय साम्य पार्न खोजिएको र सार्वजनिक बिदाको दिन छलफलमा डाकिएकोले सो विषय मान्य नहुने भन्दै युवाहरुले पालिकामा ताला लगाएका छन् । उनीहरुले तत्काल सर्वदलिय, सर्वपक्षिय भेलाबाट समाधान खोज्न पनि आग्रह गरेका छन् ।

सार्वजनिक रुपमै विरोध भईरहदा पनि गाँउपालिकाले बालुका उत्खनन् गरिएको क्षेत्र र संकलन गरिएका क्षेत्रको अनुगमन गरेको छैन । प्रदिप खरेलको समुहले विगतमा पनि यसैगरी अवैध बालुवा उत्खनन् गरि बेच्ने गरेको युवाले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->