पोखरा/गण्डकीका कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा नबस्न भनिएको छ । आइतबार बसेको सचिवस्तरीय बैठकले मन्त्रालय, निकाय र मातहतका सबै कर्मचारीलाई अत्यावश्यकबाहेक काज नखटाउने र बिदा स्विकृत नगर्ने निर्णय गरेको हो ।
सचिवहरुको बैठकले जेनजीको भदौ २३ र २४ को आन्दोलनका कारण मन्त्रालय, निकाय र मातहतका कार्यालयमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको बारेमासमेत छलफल गरेको छ । क्षतिग्रस्त मन्त्रालय सहितका कार्यालयको विवरण संकलन गर्ने र प्रहरीको उपस्थितीमा मुचुल्का बनाई सरसफाइ गर्ने निर्णय भएको छ ।
बैठकले सेवा प्रवाह अवरुद्ध हुन नदिन सरसफाइपछि आधारभूत व्यवस्थापन गरेर कार्यालय सञ्चालनमा ल्याउने तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । साथै, क्षतिग्रस्त सवारीसाधनको बीमा मूल्यांकन गरी दाबी प्रक्रिया अगाडि बढाउन पनि भनिएको छ ।
साथै, कार्यालय तथा सार्वजनिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई पनि अनुरोध गरिएको छ ।
त्यसैगरी, क्षतिको प्राविधिक लागत इष्टिमेट गरी तत्काल मर्मतको तयारी गर्ने र क्षति नभएका कार्यालयहरूबाट आकस्मिक तथा नियमित सेवा प्रवाह निरन्तर गर्ने व्यवस्था मिलाइने बैठकले स्पष्ट गरेको छ ।
बैठकले सबै कर्मचारीलाई सेवाप्रवाहलाई सुचारु राख्न तत्पर रहन आह्वान गर्दै प्रदेशवासीलाई आवश्यक सेवा नरोकिने आश्वासन दिएको छ ।





