स्याङ्जा/ अर्जुनचौपारी गाउँपालिका–१ गड्यौली खोलामा म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरिएको छ । विद्यार्थीलाई अध्ययन गर्ने पाठशालाको रुपमा विकास गर्नेगरी पार्क बनाइएको हो ।
धेरै पालिकाले ठुला ठुला टावर तथा सामान्य खालका पार्क बनाएर बजेट खर्च गरिरहँदा अर्जुनचौपारीले देशैभर प्रचार हुने गरेर नयाँ खालको म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरेको हो । मूख्यमन्त्री नवप्रवर्तन साझेँदारी कार्यक्रम अन्तर्गत मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेँदारीमा पार्क निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विद्यालयमा प्रयोगात्मक पढाई कम हुने भएकोले देशभरका विद्यार्थी अवलोकन गराउने उद्देश्यले फरक शैलीको पार्कको निमार्ण गरिएको बताए । यहाँ दुई वटा गजेबो (हावा घर), गड्यौली संरचना निर्माण, एक्सरसाईज पार्क, सुरक्षा उपकरण सीसीटीभी, बत्ति जडान गरेर व्यवस्थित गराइएको छ ।
यस्तै गड्यौली खोलामा स्थानीय जातका माछाहरु राखिएका छ भने विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने, गड्यौली खोला छेउमा फुटफाथ, गार्डेन ब्रिज, पाई गेट निर्माण गरिएको छ । यस्तै पार्कमा दुबो लगाउने तथा विद्यार्थीका पढाईसँग सहयोग पुग्ने ६० चित्र बनाइएको हो । यहाँ दुई वटा गड्यौली खोला वार पार गर्न दुई वटा छोटा पुल बनाइएको छ भने राती पार्क नै बिजुली बत्तीले झिलीमिली पारिएको छ । अहिले पार्कमा पालिका भित्रका विद्यार्थी अवलोकनको लागि आउन थालेको छन् भने अभिभावक समेत हेर्नका लागि आउने गरेका छन् । १७० रोपनी क्षेत्रफलमा पार्क निमार्ण गरिएको हो भने एक करोड ५१ लाख ४० हजार ७०३ रुपियाँ ८० पैसा खर्च भएको छ ।
देशभर फरक ढंगले चिनाउन र पालिकालाई नयाँ ब्राण्ड बनाउने लक्ष्य सहित पहिलो पटक म्याथम्याटिकल तथा बोटानिकल पार्क निर्माण गरेको वडाध्यक्ष रणवहादुर थापाले बताए । यहाँ अब अर्जुनचौपारी गाउँपालिकालाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न गड्यौली खोला र पन्चकन्यालाई प्याकेजका रुपमा चिनाउने काम गर्ने थापाले जनाए ।





