पोखरा/ जेन जी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घरलगगायतमा तोडफोड र आगजनी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका २ वडा सभापतिलाई निलम्बन गरेको छ ।
तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र कास्कीको मादी गाउँपालिका–६ का सभापति भोजराज पोडेल निलम्बनमा परेका हुन् । थापाले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड र आगजनी गरेको भिडिओ सार्वजनिक भएको छ । साथै अन्य भिडियोमा थापाले कास्कीका केही सरकारी संरचना पनि तोडफोड गरेको देखिन्छ ।
पौढेल पनि विभिन्न तोडफोड र आगजानीमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएको थियो । उनले पोखरास्थित सिंचाई कार्यालय र गण्डकी प्रदेशमा पूर्वमन्त्री बेदबहादुर गुरुङको घरमा तोडफोड गरेका थिए । उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।





